सुरक्षा चुनौती बढाउने गरी त्रिभुवन विमानस्थलको जमिनमा विवादास्पद व्यापारीको रजाइँ | Khabarhub Khabarhub

सुरक्षा चुनौती बढाउने गरी त्रिभुवन विमानस्थलको जमिनमा विवादास्पद व्यापारीको रजाइँ



काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वार कट्ने बित्तिकै दायाँतिर एउटा भव्य सपिङ कम्प्लेक्स छ । सुरक्षाको दृष्टिले अति नै संवेदनशील मानिने स्थान विमानस्थल परिसरको त्यो भवनको स्वामित्व विवादास्पद व्यापारी दीपक मल्होत्रा र उनका साझेदार सुन तस्करीका एक अभियुक्त विमल पोद्दार समूहमा छ ।

मल्होत्राका व्यापारिक साझेदार पोद्दार करिब २ वर्षअघि विमानस्थलबाट बाहिरिएसँगै हराएको बहुचर्चित साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका व्यक्ति हुन् । सुन तस्करीबारे छानबिन गर्न सरकारले गठन गरेको गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको ‘विशेष अनुसन्धान टोली’ ले मल्होत्राका साझेदार पोद्दारलाई २०७५ असार ५ गते पक्राउ गरेको थियो ।

विवादास्पद मल्होत्रा र पोद्दार समूहले विमानस्थलको ५० रोपनी जग्गा ३० वर्षका लागि भवन, पार्किङस्थल तथा अन्य संरचनाहरू बनाएर कब्जा जमाएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको शक्तिको दुरुपयोग गर्दै मल्होत्राले विमानस्थल अधिकारीहरूलाई नै दबाबमा पारेर ५० रोपनी जग्गा २०६९ कात्तिक २ गते विमानस्थलले रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीसँग ठेक्का सम्झौता गराएका थिए ।

मल्होत्रा सर्वोच्च अदालतले बर्खास्त गरेका तत्कालीन अख्तियार प्रमुख कार्कीका साझेदार थिए । काठमाडौंको वानेश्वरस्थित कार्कीकै घर गोदाम बनाउन भाडामा लिएका थिए । कार्की बर्खास्तीमा परे पनि मल्होत्रा समूहले हात पारेको ठेक्का भने यथावत छ तर सम्झौताबमोजिम काम भएको छैन ।

मल्होत्रा समूहले काठमाडौं महानगरपालिकाबाट समेत भवन तथा संरचना निर्माणको स्वीकृत नलिई गुणस्तरहीन संरचना खडा गरिरहेको विमानस्थल स्रोतको भनाइ छ । उनीहरूले कमसल सामग्री प्रयोग गरी आफूलाई मात्र नाफा हुने गरी संरचना खडा गर्ने, शंकास्पद संरचनाहरू निर्माण गर्ने तथा सम्झौता उल्लंघन गर्ने काम गरेपछि नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा मल्होत्रा समूहकै विषयमा छलफल भइरहेको छ । मल्होत्रा भने सेटिङ र दबाबमार्फत निर्णय आफ्नो पक्षमा पार्ने प्रयासमा छन् ।

सम्झौताका शर्त पालना नगरी संरचना निर्माण तथा आफ्नो व्यापारिक नाफामा मात्र केन्द्रित भएर मल्होत्रा समूहले काम गरेपछि विमानस्थल सञ्चालक समितिले सम्झौताको पुनरावलोकन गरिरहेको छ ।

बढ्यो सुरक्षा चुनौती

संगठितरूपमा वर्षौंदेखि विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहकै हातमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुम्पिएपछि विमानस्थलको सुरक्षा खतरा बढेको छ । नेपालको विमास्थलबाट हुने तस्करी र सुरक्षामा खतरा पटकपटक अन्तर्राष्ट्रिय चासो रहे पनि विवादास्पद व्यक्ति नै विमानस्थल जस्तो संवेदनशील संरचना हात पारेर भाडामा लगाउन सक्रिय छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारी भन्छन्, ‘विमानस्थल सुरक्षाका दृष्टिकोणबाट एकदमै संवेदनशील क्षेत्रमा पर्छ । त्यस्तो स्थानमा कुनै भवन या व्यापारिक कम्प्लेक्स निर्माण गर्दा त्यहाँ पूर्णरूपमा सुरक्षा रणनीतिलाई आधार मानेरमात्र गर्नुपर्छ ।’

उनका अनुसार कस्ता व्यक्तिले व्यवसाय सञ्चालन गरेका छन् त्यो पनि अर्को महत्वपूर्ण कुरा हो । आफ्नो स्वार्थमा मात्र खेल्ने व्यक्तिको हातमा पुग्यो भने दुरुपयोग हुने सम्भावना हुन्छ ।

नेपाल प्रहरीका एक अधिकारी भन्छन्, ‘पाँच वर्षसम्म एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्नेले विमानस्थलभित्रै भवन बनाएका छन्, त्यो समूहले जे पनि गर्न सक्छ । सरकारले यस विषयमा समयमै निर्णय गर्नुपर्छ ।’

पूर्वडीआईजी हेमन्त मल्लका अनुसार पनि सुरक्षाको दृष्टिकोणबाट संवेदनशील मानिने विमानस्थलमा कुनै संरचना निर्माण गर्दा या प्रयोग गर्दा सुरक्षाका हिसाबमा सचेत बन्नै पर्छ । उनी भन्छन्, ‘यसअघि विमानस्थलमा रहेका केही पसलहरूबाट सुन तस्करी तथा अवैध मुद्राको कारोबार समेत हुने गरेको खुलेको थियो । त्यस्ता स्थानमा दुरुपयोग हुन नदिने सुरक्षा रणनीति त छँदैछ नीतिगतरूपमै संयमित बन्नुपर्छ ।’

नाम उल्लेख नगर्ने शर्तमा विमानस्थल कार्यालयका एक अधिकारी भन्छन्, ‘विवादित व्यक्तिलाई विमास्थलभित्र स्थान दिनु सुरक्षा चुनौती नै हो, सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न व्यक्तिहरूले विमानस्थलभित्रै भवन बनाएर व्यवसाय गरेपछि यहाँको अवस्था के होला ?’

विवादास्पद व्यापारी दीपक मल्होत्रा दायाँ र साढे ३३ किलो सुन तस्करी तथा सनम हत्या प्रकरणमा पक्राउ परेका मल्होत्राका ब्यापारिक साझेदार विमल पोद्दार बायाँ

दबाबमा सम्झौता

विवादास्पद व्यापारी मल्होत्रा र पोद्दार समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख कार्कीकै दबाबमा कौडीको भाउमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जमिन कब्जा गर्न सफल भएको हो ।

वार्षिक ७८ लाख रुपैयाँ भाडा तिर्ने गरी तत्कालीन महाप्रबन्धक रतीशलालचन्द्र सुमनले मल्होत्रलाई साक्षी राखेर ५२ रोपनी जग्गा २०६९ कात्तिक २ गते उनकै समूहको रसुवा केडी ज्वाइन्ट भेन्चरको नामम लिएका थिए । सो जग्गामा पार्किङ र व्यापारिक कम्प्लेक्स बनाइएको छ । सम्झौतामा बगैँचा, चमेना गृह, पर्यटन पार्कको समेत उल्लेख छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिइएको स्वीकार्छन् । उनी भन्छन्, ‘रसुवा केडी ज्वाइन्ट भेन्चर कम्पनीलाई ठेक्का दिइएको साँचो हो तर त्यस समयमा विमानस्थमा अन्य व्यक्तिहरू भएकाले कम्पनीका व्यक्तिहरूबारेमा भने थाहा छैन ।’

लोकमानकै दबाबपछि नेपाल सरकार, मन्त्रिपरिषदको २०६७ भदौ १७ गतेको सैद्धान्तिक सहमतिअनुसार २०६९ कात्तिक २ गते २१ महिनाभित्र निर्माण कार्यसम्पन्न गर्ने र भवनलागायतका संरचना ३० वर्षपछि प्राधिकरणलाई फिर्ता गर्ने सम्झौता भएको थियो । तर, न त मल्होत्रा समूहले भवन निर्माणको काम सम्झौताअनुरूप गर्‍यो नत अन्य संरचना नै बने । अझै पनि सम्झौतामा उल्लेख गरेका कतिपय काम अधुरै छन् ।

निर्माण भएकै संरचना पनि सम्झौताविपरीत रहेको महालेखा परीक्षककको ५६औँ प्रतिवेदनले नै उल्लेख गरेको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसार निर्माण व्यवसायीले सम्झौतामा नभएको भूमिगत पार्किङ निर्माण गरेको, स्वीकृत डिजाइनअनुसार भवनको उचाइ ३७ फिट रहेकोमा ५२ फिट उचाइ हुनेगरी संरचना बनाएकोले पर्याप्त मात्रामा सुरक्षाको प्रत्याभूति नरहेको देखिन्छ । तोकिएको समयमा निर्माण कार्य पूरा नगरी मल्होत्रा राज्यलाई नै चुनौती दिइरहेका छन् ।

प्रतिवेदन अनुसार, भवनको उचाइ अनधिकृत छ । भवनको उचाइले विमानस्थल असुरक्षित बनाउने भन्दै महालेखाले किटानीसाथ कमजोरी औँल्याएको छ तर पैसा र पहुँचका आडमा मल्होत्राको समूह कारबाहीबाट जोगिएको छ ।

वर्षौंदेखिको भाडा बाँकी

२०६९ सालमा भएको सम्झौतामा हरेक वर्ष भाडा तिर्नुपर्ने भनिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भवन र पार्किङ बनाउन ५० रोपनी जग्गा वार्षिक ७८ लाख रुपैयाँमा ३० वर्षका लागि लिजमा दिने सम्झौता भए पनि पार्किङ लगायतमा रकम उठाइरहेको मल्होत्रा समूहले पटकपटक ताकेता गर्दा पनि भाडा तिरेको छैन ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री भन्छन्, ‘बीचमा केही रकम उठेको छ तर पूरै भाडा उठेको छैन । भाडा नउठेपछि विवाद मिलाउन एउटा समिति नै बनेको छ । समितिले प्रतिवेदन दिइसकेको छैन । समितिको सुझाब आएपछि भाडा उठाउने काम हुन्छ ।’

यता मल्होत्रा समूह भने बहानाबाजी गर्दै भाडा नतिर्न र सम्झौता अनुसार काम नगर्न शक्ति केन्द्रहरूमार्फत दबाब बढाइरहेको छ । २०३७ सालमा घडी आयातबाट नेपालमा व्यवसाय सुरु गरेका मल्होत्रा विवादास्पद व्यापारी मानिन्छन् ।

जुनसुकै पार्टीको सरकार आए पनि राज्यसत्तासँग नजिकिने र पहुँच दुरुपयोग गरी सेटिङ मिलाउने लगायतमा उनी बदनाम छन् । केही विदेशी घडीको सोल डिष्ट्रिब्यूटर, ज्वेलरी पसल, सामसुङ मोबाइलको बिक्रेता, ठेक्कापट्टा सिल्भर सिटी अपार्टमेन्टदेखि घरजग्गासम्म व्यापारिक साम्राज्य फैलाएका मल्होत्रा अहिले विमानस्थलमा जग्गा भाडामा लिएर आगमन पार्किङ, सपिङ कम्प्लेक्सलगायत चलाइरहेका छन् ।

सम्झौताबमोजिम काम भने गरेका छैनन् । राजनीतिक, प्रशासनिक, सुरक्षा अङ्ग लगायतसँग राम्रो सम्बन्ध रहेका मल्होत्रा राजस्व छली लगायतमा मुछिए पनि पहुँचका भरमा उनले उन्मुक्ति पाउने गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७७, शुक्रबार  ४ : ०७ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन