नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । संक्रमितको संख्या धेरै भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण भएका वा गम्भीर अवस्थाका संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने भनेको छ ।
मङ्गलबारसम्ममा ६६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर हाल ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितमध्ये २० हजार ८६७ जना होम आइसोलेशनमा र १५ हजार ४८ जना संस्थागत आइसोलेशनमा छन् ।
कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आइसियु र भेन्टिलेटरमा पनि चाप बढ्दै गएको छ । देशभर आइतबार २९३ जना संक्रमित आइसियुमा र ५५ जना भेन्टिलेटरमा उपचारत छन् । काठमाडौँ उपत्यकाका अस्पतालहरूमा आइसियु र भेन्टिलेटरको अभाव हुन थालेको छ ।
यही अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग खबरहबका लागि रिता लम्सालले कुराकानी गरेकी छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या दैनिक २ हजारदेखि ५ हजारसम्म हुन थालेको छ । अहिलेको संक्रमणको अवस्था कस्तो हो, सामान्य, मध्यम वा खराब ?
हामीले प्राविधिक हिसाबले कुरा गर्दा संक्रमण एकदमै खराब अवस्थामा र उच्चतम बिन्दुमा आइसकेको छैन । तर, संक्रमण जुन गतिमा वृद्धि भइराखेको छ, यसले अस्पतालहरूमा व्यवस्थापन गर्न गाह्रो हुँदै गएको छ ।
लक्षणसहितका संक्रमितको संख्या बढ्दैछ । दीर्घ रोग भएका व्यक्ति र ज्येष्ठ नागरिकमा जसरी संक्रमण बढ्दो अवस्था छ, यसले हाम्रो स्वास्थ्य प्रणालीको क्षमतामा चुनौतीहरू थपेको छ ।
संक्रमण रोक्न सबैतिरबाट भूमिका निर्वाह गर्न सकेनौँ र सबैले आआफ्नो ठाउँबाट गर्नुपर्ने काम गर्न सकेनौँ भने संक्रमणले नराम्रो अवस्था लिन सक्छ । यो बीचमा सबै व्यक्ति, निकाय र संघसंस्थाहरूबाट जुन प्रयासहरू भए त्यसरूपमा नभएको भए नेपालमा अहिलेको भन्दा धेरै खराब अवस्था आउन सक्थ्यो । आजको अवस्था केही महिना पहिले नै आइसकेको हुन्थ्यो ।
योभन्दा खराब अवस्था आउन नदिन हामी सबैको भूमिका अपरिहार्य हुन्छ । हामीले विगतमा गरेका प्रयासहरूले जे जति सफलता पाएका छौँ, त्यो सफलता कायम राख्न हामी कठिन मोडमा आइपुगेका छौँ ।
संक्रमण रोक्न हाम्रा काम र क्रियाकलापहरू अझै बढाउनुपर्ने र अझै सशक्त बनाउनुपर्ने आवश्यकता छ । होइन भने संक्रमणको अवस्था एकदमै खराब हुनसक्छ ।
कोरोना नियन्त्रण लागि स्वास्थ्य मन्त्रालयका नीति, निर्देशिका, मापदण्डहरू छन् । कोरोना प्रतिकार्यका लागि मन्त्रालयले काम गरिरहेको छ तर पनि संक्रमण किन बढेको होला ?
यो संक्रामक रोगको महामारी हो । महामारी विदेशबाटै सुरु भएको हो । बाहिरबाट आउने व्यक्तिहरूबाट नेपालमा संक्रमण प्रवेश गर्यो ।
त्यसपछि उहाँहरूको सम्पर्कमा आएका व्यक्तिहरू संक्रमित भए, उहाँहरू बसोबास भएको ठाउँ विशेषमा संक्रमण देखियो । त्यही क्रममा अलि ठूला ठाउँमा रहेका मानिसहरूलाई संक्रमित बनाउँदै गयो ।
नेपालमा सुरुमा विदेशबाट आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने काम गर्यौँ । यसो गर्दा संक्रमण धेरै हदसम्म नियन्त्रणमा आएको थियो । सरकारले सुरक्षाका उपायहरू भनिराखेको छ । मापदण्डहरू छन् । शंकास्पद व्यक्तिहरू आइसोलेट भएर बसौँ, क्वारेन्टिनमा बसौँ । लक्षण नदेखिए पनि हामीले संक्रमण फैलाइरहेको हुनसक्छ ।
घरबाट बाहिर निस्किने व्यक्तिहरू सजग बनौँ । सकेसम्म ननिस्कौँ, निस्किनै परेमा भिडभाड नगरौँ । भिडभाडबाट टाढा बसौँ । दूरी कायम गरौँ । मास्क लगाऔँ । साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गरौँ । सबै कुरामा हामी सबै सचेत छौँ, बुझेका छौँ तर व्यवहारमा चाहिँ हेलचेक्र्याइँ गरिराखेका छौँ ।
मास्क उचित तरिकाले लगाएको देखिँदैन । हातले जहाँसुकै छुने र त्यही हातले नाकमुख छोएर संक्रमण आफूमा सार्ने काम भइरहेको छ । आफूबाट घरमा, साथीभाइमा र सहकर्मीमा सार्ने काम भइरहेको छ । यसरी संक्रमण बढेको हो ।
यसलाई न्युनीकरण गर्न हामी शंकास्पद व्यक्तिबाट अलग बस्ने, शंकास्पद व्यक्तिमा संक्रमण भए/नभएको चाँडो पहिचान गर्ने, सक्रमित भए उनको सम्पर्कका व्यक्तिहरू खोजी गरेर परीक्षण गर्ने काम गर्नुपर्छ । श्वासप्रश्वासमा समस्या आएको छ भने अस्पताल लैजानुपर्छ । हामीसँग भएको एकमात्र उपाय महामारी रोकथाम नै हो ।
रोकथामका लागि सरकारबाट, जिम्मेवार निकायबाट र सञ्चार माध्ययबाट आएका आधिकारिक जानकारीहरू पालना गर्नुपर्छ । हाम्रो आवतजावत बढेको छ, लापरबाही पनि बढेको छ र यसले कोरोना संक्रमण बढाएको छ । जोखिममा रहेका व्यक्तिहरू संक्रमित भएर सघन उपचार चाहिने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या बढ्छ ।
सरकारले बनाएको मापदण्ड पालना भएन भन्नुभयो । स्वास्थ्य सुरक्षाका मापदण्डबारे बुझाउन वा पालना गराउन सरकार आफैँ चाहिँ कति चुकेको हो ?
हामी जुन शासन व्यवस्था र जुन ठाउँमा छौँ, त्यसैअनुसार सबै कार्यान्वयन गर्ने, गराउने र कडाइ गर्ने हो । हामीले कतिपय देशमा संक्रमण धेरै बढ्दा मानिसहरूलाई केही दिन घरबाहिर निस्किनै नदिएर संक्रमण नियन्त्रण गरेको पनि देख्यौँ ।
हामीले व्यवहार परिवर्तनका लागि अनुरोध गर्न सक्छौँ । व्यक्तिलाई घरमै थुनेर राख्ने कुरा आउँदैन । बन्दाबन्दीको कुरा गर्दा अलोकप्रिय भइने अवस्था छ । बन्दाबन्दी राम्रो कुरा पनि होइन । यसले संक्रमण शतप्रतिशत रोक्छ भन्ने पनि होइन ।
बन्दाबन्दी हुँदा स्वास्थ्यको क्षमताले धान्ने हुन सक्छ । हामीले बन्दाबन्दी भन्दा पनि व्यक्तिको व्यवहार परिवर्तनका लागि सुसूचित गर्ने हो, अनुरोध गर्ने हो । अहिले सबै नेपालीहरूले आफूलाई स्वास्थ्यकर्मीको ठाउँबाट हेरेर स्वास्थ्यकर्मीको झैँ भूमिका निर्वाह गर्ने समय हो ।
यसका लागि हामीले अनुरोध गरेका छौँ । समन्वय गरेका छौँ र सहकार्य गरेका छौँ ।
प्रत्येक व्यक्ति आफू जोगिनु पर्छ र आफ्नो परिवारलाई जोगाउनु पर्छ भन्ने हामी सबैले बुझेका छौँ । सबैलाई घरमै थुनेर संक्रमण रोक्नुपर्छ भनेर हुँदैन । बन्दाबन्दी नगर्न हाम्रा व्यवहारहरू परिर्वतन हुन आवश्यक छ । संक्रमणबाट जोगिन घरभित्र बस्ने निर्णय पनि व्यक्ति आफैँले गर्ने हो ।
ठूला चाडपर्वहरू नजिकिँदै छन् । चाडपर्वमा हुने आवतजावतले कोरोना संक्रमण बढ्न सक्ने देखिन्छ । अब चाडपर्व कसरी मनाउने ?
यसपालिको दशैँतिहार पनि गत वर्षहरूमा झैँ भिडभाड गरेर यात्रा गर्ने, शहरबाट गाउँ र गाउँबाट शहर ओहोरदोहोर गर्ने हो भने संक्रमण धेरै फैलिने सम्भावना हुन्छ । हामीले गाउँघरमा सुरक्षित रहेका ज्येष्ठ नागरिकहरू र मान्यजनहरूलाई कोरोना सार्ने डर हुन्छ । हामीलाई चिन्ता लाग्न थालेको छ ।
अहिले काठमाडौँ उपत्यकामा संक्रमण धेरै बढेको छ । अस्पतालहरूमा संक्रमितको व्यवस्थापन गर्न चुनौती भएको छ । यही समयमा काठमाडौँमा भएका व्यक्तिहरू बाहिर जाने हो भने संक्रमण पनि जान्छ । जोखिममा रहेका व्यक्तिहरूलाई सरेर सघन उपचार चाहिने अवस्था आउन सक्छ ।
यस्ता संक्रमति व्यक्तिहरूलाई समयमा अस्पताल पुर्याउन नसक्दा र अस्पतालमा पनि आवश्यक स्वास्थ्य उपकरण नपाउँदा दुर्घटना हुने अवस्था आउनसक्छ ।
यस्तो सम्भावना विचार गरेर अहिले आफू बसेकै ठाउँमा चाडपर्व मनाऔँ । चाडपर्व त अर्को वर्ष पनि आउँछ । अहिलले अनावश्यक यात्रा गरेर संक्रमण नबढाऔँ । भोलि पछुताउनुभन्दा आजै सावधानी अपनाऔँ ।
यसपालि दशैँमा पनि टाढै बसेर प्रविधिको प्रयोग गरौँ । हामीले बारम्बार अनुरोध पनि गरेका छौँ ।
अहिले नै अस्पतालमा संक्रमतिले आइसोलेशन बेड, आइसियु र भेन्टिलेटर नपाएको भनेर हारगुहार गर्न थालिसके । अझै बढ्दै गए के होला ?
जोखिममा रहेका व्यक्तिहरूमा संक्रमण बढ्दै गएको छ । सघन उपचार चाहिने अवस्था सिर्जना हुँदैछ । हाम्रो स्वास्थ्य क्षमताले धान्न नसक्ने अवस्था आउन थालिसकेको छ ।
हामीले भनेका थियौँ, सक्रिय संक्रमितहरू २५ हजार हुँदासम्म हाम्रो स्वास्थ्य क्षमताले अरू स्वास्थ्य सेवाको प्रणालीलाई प्रभावित नगर्ने गरी संक्रमितहरूको पनि व्यवस्थापन गर्न सकिन्छ । त्यो भन्दा बढी हुँदा हाम्रो स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँछ । संक्रमण रोक्न निक्कै कडा कदम चाल्नुपर्ने हुन्छ । हाम्रा स्वास्थ्य सेवाहरूको क्षमता निकै गुणात्मकरूपमा वृद्धि गर्नुपर्ने हुन्छ ।
हामी अहिले यी दुवै पाटोमा कमजोर छौँ । क्षमतमा गुणात्मक वृद्धि गर्ने अवस्थामा पनि छैनौँ । संसारमै सामग्रीहरूको उपलब्धता र जनशक्तिको अभाव छ । हामी यो पाटो विश्लेषण गरिराखेका छौँ ।
कोरोना केही होइन भने भ्रम सिर्जना गरिएको छ । यस्तो गलत प्रचारले गर्दा कोरोनाको संक्रमण रोक्न व्यवहार परिवर्तन गर्न चुनौती थपिँदै गएको छ । व्यक्तिहरूलाई बुझाउन समस्या पर्दै गएको छ ।
अस्पतालको क्षमता नहुने र औषधि पनि नहुने अवस्थामा धेरै जना संक्रमितलाई निकै ठूलो समस्या हुनेछ । हामीले यो कुरा भन्दै आएका छौँ । संक्रमणबाट बच्ने उपाय यसको रोकथाम मात्र हो ।
सरकारले भनेको कुरा पालना गरेर रोकथाम गर्न सकियो र परिवारलाई जोगाउन सकियो भने उपचार गर्न नसक्ने जोखिमको पाटोमा हामी जादैनौँ । हामीसँग अर्को उपाय पनि छैन ।
कोरोनाको खास उपचार छैन । उपाय भनेकै संक्रमण रोकथाम हो । रोकथामको उपाय तपाईं हाम्रो हातमा छ ।
सक्रिय संक्रमितको संख्या ३० हजार नाघिसकेको छ । अब कोरोना संक्रमितको उपचार गर्न सकिएन भनेर हात उठाउने अवस्था आइसकेको हो ?
सरकारले हामी सक्दैनौँ भनेर हात उठाउने अवस्था हुँदैन । स्रोत साधनले पुगेसम्म गर्नै पर्छ । अस्पतालहरूमा भएका स्वास्थ्यकर्मीलाई अझै खटाएर, रिटायर्ड स्वास्थ्यकर्मीलाई खटाएर, बाहिर रहेका विज्ञहरू बोलाएर, जे जसरी हुन्छ, व्यवस्थापन गर्ने पाटोमा हामी लागेका छौँ ।
संक्रमितहरूलाई, अस्पतालमा, विस्तारित ठाउँमा र घरमै राखेर पनि अक्सिजनको व्यवस्थापन गर्न हामीले काम गर्नुपर्छ । वैकल्पिक प्रविधिबाट काम गर्दै जानुपर्ने हुन्छ तर अहिलेको अवस्था सहज छैन । केही महिनाअघि कोभिड केही होइन, संक्रमण केही होइन भनेर हल्ला भइरहेको थियो ।
अहिले कोभिड साँच्चै समस्या हो, यसले गाह्रो बनाउँछ भन्ने आवाज सुन्न थालेका छौँ । आजको अवस्था आउन सक्छ भनेर हामीले धेरै पहिलेदेखि भनेका थियौँ । हामीले तयारी पनि गरेका र सर्वसाधारणलाई सुसूचित पनि गरेका हौँ । भ्रमका पछि नलाग्नुस् भनेका हौँ ।
कोभिडको यथार्थ त भोगाइ त जसलाई संक्रमण भयो, जसको परिवारमा संक्रमण भएर समस्या पर्यो, उहाँहरूलाई थाहा हुन्छ । संक्रमण अझै बढ्दै गयो भने हाम्रो क्षमताले नभ्याउने अवस्था आउँछ । त्यति वेला पनि कुनकुन रूपमा, कस्तो विधिबाट व्यवस्थापन गर्न सकिन्छ भनेर सरकारले प्रयास गर्ने नै छ । अहिले नै गाह्रो हुन थालिसकेको छ ।
कोभिड अस्पतालहरू भरिएर अन्य अस्पतालमा पनि संक्रमितहरूलाई राख्नुपरेको छ । अस्पतालहरूको विकल्प खोज्ने काममा हामी लागिसकेका छौँ ।
केही समयअघि संक्रमितको संख्या अनुसार आइसोलेशन, आइसियु र भेन्टिलेटरको अवाश्यकताबारे स्वास्थ्य मन्त्रालयले आकलन गरेको थियो । त्यो आकलनभन्दा बाहिर गयो ?
स्वास्थ्य मन्त्रालयले विश्लेषण गरेरै सक्रिय संक्रमित २५ हजार हुँदासम्म हाम्रो स्वास्थ्य प्रणालीले नियमित र कोभिडको सेवा पनि दिन सक्छ भनेका हौँ । त्यसैअनुसार काम गरिराखेका छौँ । क्षमता पनि बढाउँदै लगेका छौँ तर अहिले सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा माथि भइसकेको छ ।
संक्रमण काठमाडौँ उपत्यकामा केन्द्रित छ । स्रोतसाधन पनि काठमाडौँ उपत्यकामै धेरै छ । त्यति हुँदा हुँदै पनि व्यवस्थापन गर्न गाह्रो हुँदै गएको छ ।
अहिले हाम्रो क्षमताको अधिकतम उपयोग गरेर सेवाहरू प्रवाह भइरहेको छ । संक्रमण यही गतिमा बढ्यो र रोक्न सकेनौँ भने हाम्रो स्वास्थ्य प्रणालीमा कोभिड र ननकोभिड बिरामीलाई नियमित सेवा दिन नसक्ने हुन सक्छ ।
२५ हजारभन्दा बढी संक्रमित भए लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ भन्ने सुनिन्छ नि !
लकडाउनबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय लिने कुरा भएन । नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको छैन । हामी लकडाउनको लामो अवस्थाबाट गुज्रेर आएका छौँ । लकडाउन सजिलो छैन ।
तर, संक्रमण हाम्रो काबुभन्दा बाहिर जान थाल्यो र जटिल अवस्था भयो भने मानिसहरूको आवतजावत नियन्त्रण त गर्नै पर्छ । यो नेपाल सरकारले निर्णय गर्ने विषय हो । अहिलेसम्म जेजस्तो कठिनाइ भए पनि स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्य मन्त्रालयबाट समन्वय भइरहेको छ । हामीले भोलि लकडाउन हुन्छ कि हुँदैन भन्नेतिर भन्दा पनि संक्रमण रोक्न भूमिका निर्वाह गर्नुपर्छ ।
संक्रमितको पहिचान, कन्ट्याक्ट ट्रेसिङ, केस अनुसन्धान, संक्रमितहरूको सघन उपचार, उपचार सामग्रीहरूको जोहोजस्ता काम गरिरहेका छौँ । हाम्रो स्वास्थ्य प्रणालीको अधिकतम क्षमतामा काम गरेका छौँ ।
हाम्रो आग्रह छ, यस वर्ष आफू बसेकै ठाउँमा प्रविधिको प्रयोग गरेर फोनबाटै आशीर्वाद लिऔँ । बजारमा भिडभाड नगरौँ । लामो यात्रा गरेर संक्रमण गाउँमा नपुर्याऔँ । गाउँको संक्रमण शहरमा नपुर्याऔँ । सबैले आफ्नो व्यवहार परिवर्तन गरौँ । सबैलाई चाडपर्वको शुभकामना ।
प्रतिक्रिया