काठमाडौं–‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ मूल नाराको साथ सरकारले पाँचौँ राष्ट्रिय योग दिवस साताव्यापी रूपमा मनाउने भएको छ ।
माघ १ देखि एक सातासम्म ‘राष्ट्रिय योग दिवस २०७६’ मनाउन लागिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जानकारी दिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहित ७७ वटै जिल्ला तथा आयुर्वेद सम्बद्ध सबै संस्थाहरूमा विभिन्न कार्यक्रम गरी योग दिवस मनाइदै छ ।
स्वस्थ तथा तन्दुरुस्त रहनका लागि योग अत्यन्त उपयोगी मानिन्छ । पछिल्लो समय अस्वस्थकर जीवनशैलीका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव चुलिँदो छ । पूर्वीय दर्शनद्वारा व्यवस्थित तथा ऋषि–महर्षिहरूद्वारा सिद्ध योगको बहुआयामिक महत्वबोध गर्दै पछिल्लो समय विश्वभरि नै योग दिवस मनाउने गरिएको छ ।
अव्यवस्थित खानपान, बिलासी जीवनशैलीका कारण धेरै जसो मानिसहरु नसर्ने रोगको शिकार भएका छन् । नसर्ने किसिमका रोगमा पनि मानसिक समस्या, मोटोपनसम्बन्धी समस्याले आधा हिस्सा ओगट् गरेको छ ।
यस्ता समस्यादेखि रोकथाम गर्ने मानिसकले शारीरिक व्यायाम अपरिहार्य रहेको योगा प्रशिक्षकहरु बताउँछन् । योगाका माध्यमबाट नसर्ने रोगबाट बच्न सकिन्छ । दैनिक पसिना आउने गरी शारीरिक अभ्यास गरेमा नसर्ने रोगबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायका अनुसार ‘योगाभ्यासले शरीरका सम्पूर्ण मांसपेशीमा निकै फाइदा पुर्याउँछ, योग शरीर, मन र आत्मालाई एक गर्ने आध्यात्मिक प्रक्रिया भएकाले मानवका लागि योग अति नै महत्त्वपूर्ण हुन्छ । उनले भने, ‘शरीरमा भएको विकार फाल्नका लागि योगको आवश्यकता पर्छ ।’
विश्व स्वास्थ्य संगठनको पूर्ण रूपमा स्वस्थ हुन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँछ ।
‘योग, प्राणयाम, आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ राष्ट्रिय योग दिवस मनाउन लागिएको छ,’ डा. उपाध्यायले भने ।
कहिलेदेखि मनाउन थालियो योग दिवस
वि.सं. २०३६ देखि नै सूर्यको उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गर्नेे संस्थाहरूको सहभागितामा योग दिवस मनाउन थालिएको थियो ।
मन्त्रिपरिषद्ले ०७२ साउनमा प्रतिवर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
योग सप्ताहका लागि ३ लाख बजेट
१ देखि ७ माघसम्म मनाइने योग सप्ताहका लागि विभागले ३ लाख बजेट विनियोजन गरेको छ । योग सप्ताहमा योग बारे जनचेतना देखि विभागका कर्मचारीलाई योगाभ्यासमा समावेश गराउने कार्यक्रम रहेको विभागले जनाकारि दिएको छ ।
योगा किन ?
१) योगा हरेक उमेर समुहका मानिसले गर्न सक्छन् । जसले माध्यमले निरोगी बनाउनुका साथै मानिसलाई स्वस्थ राख्छ ।
२) योगाले सकारात्मक सोचको विकास गराँउछ । मनमा नकारात्मकता नआउने भएकाले जीवन पदतिमा नै परिवर्तन आउँछ ।
३) बिहान ४ देखि ५ बजेको बीचमा पृथ्वीमा अक्सिजनको मात्रा तुलनात्मक रुपमा बढि हुने गर्छ । त्यसैले शरीरमा अक्सिजनको मात्रा पुर्ति गराउन बिहानको समय योगा गर्ने उपयुक्त हुन्छ ।
४) योगा एक किसिमको व्यायाम पनि हो । योगा गर्दा शरीरका सबै जोर्नी चलायमान हुन्छन । शरीरमा रक्तसञ्चार बढछ । साथै शरीरका सबै अंगमा अक्सिजन पुग्ने हुँदा रोग पतिरोधी क्षमता समेत बढाउँछ ।
५) स्वस्थ रहन, आत्मविश्वास बढाउन, धन कमाउन, सफल बन्न र प्रतिभा प्रष्फुटन गर्न योगा उपयुक्त माध्यम हो ।
६) तनाव व्यवस्थापनका लागिसमेत योगा एकदमै उपयोगी मानिन्छ । योगा ध्यानसँग केन्द्रित हुने हँदा एकाग हुन सकिन्छ । जसवाट तनाव सनिलै व्यवस्थापन हुन्छ ।
७) उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि समेत योगा आवश्यक हुन्छ ।
शरीरिक अवस्थालाई ध्यानमा राखेर दैनिक नियमपूर्वक योगा गरेमा स्वास्थ्य र तन्दुरुस्ती प्राप्त हुने कुरालाई परापूर्वकालदेखि नै सिद्ध मानिन्छ ।
योग गर्दा ध्यान दिनुपर्ने कुरा
योग गर्दा आफ्नो शारीरिक अवस्थामा ध्यान दिनु जरुरी छ । जोकसैले योग गर्दा शुरुमा आयुर्वेद चिकित्सक तथा योग प्रशिक्षकसँग सल्लाह लिनु आवश्यक हुन्छ । शारीरिक रूपमा अशक्त, गर्भवती, उच्च रक्तचाप, मधुमेह, जोर्नीको दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
यस्ता मानिसले धेरै परिश्रम पर्ने तथा शरीर तात्नेखालका योगाभ्यास गर्नुहँदैन । यसले मुटुमा प्रेसर पर्न जान्छ । तनाव लिएर योग गर्नुहुँदैन, किनभने तनावपूर्ण अवस्थामा योगाभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेजस्ता समस्या देखापर्न सक्छन् ।
नियमित योगका फाइदा
– नियमपूर्वक गरिने योगले–विभिन्न प्रकारका स्वास्थ्य समस्याको दीर्घकालीन निराकरण र शरीरमा सन्तुलन हुने गर्छ ।
– शरीरमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढाउँछ । शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– योगासन र ध्यानले जोर्नीको समस्या कम गर्छ, तनाव हटाउँछ, राम्रो निद्रा लाग्छ र पाचन प्रक्रिया ठीक हुन्छ ।
– स–साना बालबालिकालाई योग गराउँदा उनीहरूको दिमाग तीक्ष्ण हुन्छ भने शारीरिक रूपमा पनि स्वस्थ रहन्छन् ।
– नियमित योगाभ्यासबाट कार्यक्षमतामा वृद्धि तथा शान्ति प्राप्त हुन्छ । प्राणायाम गर्दा श्वासप्रश्वासको गति नियन्त्रण हुन्छ ।
– ध्यानले एकाग्रता बढाउँछ, तनाव कम गराउँछ, सकारात्मक सोचको विकास हुन्छ र अनावश्यक विचारबाट मुक्ति दिलाउँछ ।
– शरीर, मन र आत्माबीचको समन्वय, ऊर्जा प्राप्ति, आत्मज्ञानलगायत सकारात्मक गुणको विकास हुन्छ ।
प्रतिक्रिया