काठमाडौं– कोरोना संक्रमणको समयमा बालबालिकामा मनोवैज्ञानिक समस्या आउन नदिन अभिभावकले विशेष ध्यान दिनुपर्ने मनोचिकित्सक डाक्टर मिना राईले बताएकी छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा राईले बालबालिकामा हुने मनोवैज्ञानिक समस्याको विषयमा कुरा गर्दै अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने बताएकी हुन् ।
नेपाल मनोचिकित्सक संघकी सहसचिव समेत रहेकी डा राईले कुनै पनि महामारीको सयमा बालकालिका आत्तिनु, डराउनु सामान्य प्रतिक्रिया भएको बताएकी छन् ।
महामारीको समयमा बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ?
कोभिड–१९ को महामारीले बालबालिकाहरुको मानसिक स्वास्थ्यमा असर पारिरहेको अवस्था छ ।
अभिभावकहरु चिन्तित हुनुहुन्छ । हामीले मानसिक स्वास्थ्य समस्या के कारणले भयो भनेर बुझ्नुपर्ने हुन्छ । बालबालिकामा मानसिक स्वास्थ्य समास्याको कारणहरुमा कोभिड १९ सँग जोडिएका त्रास, तनाव र चिन्ता हो । दोस्रो कुरा पारिवारिक र सामुदायिक वातावरण हो ।
किनकी अहिले विद्यालयहरु बन्द भएको अवस्था छ । त्यसैले बालबालिकाहरु अघिकांश समय घर परिवार तथा समुदायमै बिताइरहेका छन् । घर परिवार र समुदायमा भएका गतिविधिहरुले बालबालिकाको मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ ।
बालबालिकाहरुले प्रत्यक्ष रुपमा आफ्ना अभिभावकलाई नै पीर परिरहेको, आत्तिएको देखिएरहेका छन् ।
समुदायमा घटिरहेका घटनाहरु हिंसा, लाञ्छनाहरु, घरभित्र तथा समुदायमा सुनेका कोरोना संक्रमित र मृत्युको समाचारले पनि असर परीरहेको हुन्छ ।
अभिभावकमा हुने चिन्ताहरु, कोरोना सम्बन्धी चिन्ता र लकडाउने निम्त्याएका समस्याहरु जस्तै जागिर गुमाउनु, व्यापार व्यवसायमा कमी आउनु, घरेलु हिंसा बढ्नु, लागुपदार्थ दुव्यसनीको सिकार हुनुले बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिन्छ ।
साधरणतया मानसिक स्वास्थ्यका तीनवटा लक्षण हुन्छन् । भावनात्मक लक्षण, शारीरिक लक्षण र आनीबानीमा हुने परिवर्तन ।
भावनात्मक लक्षणहरुमा बालबालिकाहरु धेरै तर्सिने, आत्तिने, डराउने, उदास हुने, चिन्तित हुने समस्या देखिन्छ ।
यस्तै शारीरिक लक्षणहरुमा टाउँको दुख्ने, पेट दुख्ने, शरीरको कुनै अंगहरु दुखेको कुरा गर्ने, मुर्छा पर्ने, सास फेर्न गाह्रो हुने, शरीर कमजोर हुने लक्षण देखा पर्छ ।
बालबालिकाहरुमा तनाव भएमा उनीहरुले भावनात्मक भन्दा बढी शारीरिक लक्षणका समस्या देखाइरहेका हुन्छन् ।
कुनै पनि बालबालिकाले यस्ता समस्याहरु सुनाए भने शारीरिकसँगै मानसिक स्वास्थ्यको विषयमा पनि ध्यान दिनुपर्छ ।
यस्तै अर्को आनीबानीमा देखिने परिर्वतन हुन्छ । जस्तै एकदमै रिसाउने, रिसाएर लडिबडि गर्ने, ओछ्यानमा पिसाब फेर्ने, अटेरी हुने, जिद्दी हुने, भनेका कुराहरु नमान्ने, लागुपदार्थको दुव्यसनमा पर्ने, आफूलाई हानी नोक्सानी पुर्याउने कार्य गर्ने गर्छन् ।
अहिले इन्टरनेटको सहजीकरणका कारण, ल्यावटप, मोवाइल सहज रुपमा चलाउन पाउँदा इन्टरनेट एडिक्सनको जोखिम पनि बढेको छ । यस्तै आफूलाई हानी नोक्सानी गर्ने, लागुपदार्थ सेवन गर्ने जस्ता जोखिम पनि बढेको छ ।
यस्ता लक्षण भएमा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।
बालबालिकाको मानसिक स्वास्थ्यमा कसरी ध्यान दिने ?
पहिलो कुरा अहिले कोरोनाको कारण सबै बालकालिका विद्यालय जान पाएका छैनन् । घरमै छन् । जसले गर्दा बालबालिकाको दैनिकी परिवर्तन भएको छ ।
पहिला पहिला स्कुल जाने, स्कुलबाट आएर होमवर्क गर्ने त्यसपछि सुत्ने दैनिकी थियो । तर अहिले त्यो दैनिकी परिवर्तन भएको छ । त्यसैले अभिभावकहरुले बालबालिकाको उमेर र बुझ्ने क्षमता अनुसार दैनिक बनाउनु पर्छ र त्यसलाई बालबालिकाले ‘फलो’ गर्नुपर्छ ।
बालबालिकाहरुलाई घरभित्रको खेलकुदमा प्रोत्साहन गर्न सकिन्छ । जस्तै घरभित्रै लुडो, चेस लगायतका खेल खेल्न सकिन्छ । बालबालिकाको इच्छा अनुसार नाच्ने, गाउँने, चित्र बनाउने कार्यमा लगाउन सकिन्छ ।
यस्तै बालबालिकाहरुलाई बालबालिकाको उमेर अनुसार घरको कामहरु लगाउन पनि सकिन्छ । जस्तै सरसफाइ, भान्सामा अभिभावकलाई सघाउने काम लगाउन सकिन्छ ।
अहिले धेरै जस्तो बच्चाहरु मोबाइल वा ट्याबमा बढी व्यस्त हुन्छन् । दैनिक पढाइ-लेखाइ बाहेक धेरैमा एकदिनमा एक वा दुईघण्टा मात्र मोवाइल चलाउन दिन सकिन्छ ।
तर त्योभन्दा धेरै समयमा भने दिनु हुँदैन । यसमा अभिभावकले पनि सोही किसिमको बानी गर्नुपर्छ । बालबालिकालाई २ घण्टा मात्र मोवाइल चलाउन दिने तर आफूले भने धेरै चलाएर बस्ने गर्नु हुँदैन । किनकी बच्चाहरुले सिक्ने भनेकै अभिभावकबाटै हो ।
बालबाबालिकासँग अभिभावकले गुणस्तरीय समय बिताउनुपर्छ । यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ । यस्तै अहिले आउने समाचारहरुमा पनि आधिकारिक र लिमिटेड मात्र दिनुपर्छ । जस्तै कोरोना भाइरस भनेको के हो ? यसबाट कसरी बच्ने भन्ने विषयमा जानकारी दिनुपर्छ ।
यसैगरी बालबालिकाको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । तर यति गर्दागर्दै पनि समस्या देखिएमा अथवा मानसिक समस्याका लक्षणहरु दुई देखि ३ सातासम्म देखियो र बालबालिकाहरुको खानपान, निद्रामा गडबढी भयो भने स्वास्थ्यकर्मी वा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।
लागुपदार्थको दुर्व्यसनी भयो भने पनि मनोचिकित्सकसँग परामर्श लिनुपर्छ । यस्तै आफूलाई हानी नोक्सानी पुर्याउने व्यवहार र कुरा गरेमा पनि मनोचिकित्सक सँग परामर्श लिनुपर्छ ।
यसका लागि कान्ति बाल अस्पतालमा फ्रि हटलाइन, फ्रि भिडियो कन्सलटेसन सेवा २४ घण्टा नै संचालन भइरहेको समेत उनले बताइन । अथवा नजिकको स्वास्थ्यकर्मी वा मनोचिकित्सकसँग परामर्श लिनुपर्ने समेत उनको सुझाव छ ।
प्रतिक्रिया