नागरिकलाई शीतलहर र हिमपातबाट जोगाउन गृहको पूर्वतयारी | Khabarhub Khabarhub

नागरिकलाई शीतलहर र हिमपातबाट जोगाउन गृहको पूर्वतयारी


३० मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– गृह मन्त्रालयले जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ स्वीकृत गरी लागू गरेको छ ।

जाडो मौसम शुरु भएसँगै शीतलहर र हिमपातबाट जनधनको क्षति रोक्न मार्गदर्शन जारी भएसँगै ७७ वटै जिल्लामा चरणबद्ध रुपमा पूर्व तयारीका कार्यक्रम शुरु भएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिसकिएको जानकारी दिए ।

स्थानीय र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अबस्था अध्ययन गरी विवरण सङकलन गर्ने, साधनस्रोतको कमी रहे÷नरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने मार्गदर्शनमा उल्लेख छ ।

तल्लो तहबाट आएको प्रतिवेदनका आधारमा सङ्घीय सरकारबाट आवश्यक सहयोग तथा व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको छ ।

केही अघि बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सबै जिल्लाका स्थानीय तहलाई आवश्यक तयारीमा लाग्न निर्देशन दिइसकेको छ । त्यसका लागि जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यावस्थापन समितिलाई तोकिएको छ ।

सहयोगीका रुपमा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति रहेको मार्गदर्शनमा उल्लेख छ । यस्तै राहत, आश्रयस्थलको व्यवस्थापकीय कार्यसमेत तत्काल प्रबन्ध गर्ने गरी कार्यक्रम अघि बढेको पोखरेलले बताए । सोही व्यवस्थापन र अवस्था अध्ययनका लागि हालै मात्र शीतलहरबाट बढी प्रभावित हुने तराईका विभिन्न जिल्ला पुगेर प्राधिकरणले छलफल चलाएको उनले जानकारी दिए ।

विगत १० वर्षको तथ्याङ्क हेर्दा मुलुकमा शितलहरका कारण ११६ जनाले ज्यान गुमाएका छन् । विसं २०७१ असोज २८ मा मनाङ, मुस्ताङलगायतको हिमाली क्षेत्रमा आएको हिमआँधी (हुदहुद) का कारण ४३ जनाको ज्यान गएको प्राधिकरणको अभिलेखमा उल्लेख छ । जसमध्ये २१ जना पदयात्री रहेका थिए । त्यहाँ ५० जना हराएका थिए भने ४०० जनाको उद्धार भएको प्राधिकरणले जनाएको छ ।

शीतलहर र हुस्सु तथा हिमपातका कारण ठूलो भौतिक तथा अन्य क्षति भए पनि ठोस अभिलेख भने नभएको प्राधिकरणले जनाएको छ ।

यसवर्ष थप चुनौतीपूर्ण

यसवर्ष भने मनसुनजन्य विपद्मा परेर धेरैको ज्यान गएको र घरबार विहीन भएको अवस्था छ । प्राप्त विवरणअनुसार विभिन्न विपद्जन्य घटनामा वैशाख यता मात्रै ४८६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण ज्यान गुमाएका परिवार र घरबारविहीन नागरिक अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् । उनीहरुलाई जाडोको समयमा थप समस्या पर्ने भएकाले अवस्था चुनौतीपूर्ण रहेको देखिएको छ । त्यसमा पनि ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती थप सङ्कटमा छन् ।

कोठा तातो बनाउन आगो ताप्दा निसासिएर मृत्यु तथा घाइते हुने गरेको छ । आगलागीबाट जनधनको क्षति भएको छ । कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेका बेला जाडो बढेसँगै दोहोरो चुनौती खडा भएकाले विशेष ध्यान दिनुपर्ने विपद्सम्बन्धीको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बताए ।

गृह मन्त्रालयले न्याना कपडा लगाउन, धेरै चिसोमा नहिँड्न, आगो बालेर कोठा बन्द गरेर नबस्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

जाडोमा बढी प्रभावित हुने जिल्ला

शीतलहरका कारण सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, कपिलवस्तुलगायत ११ जिल्ला प्रभावित रहेको जनाइएको छ ।

शीतलहरबाट कम प्रभावित जिल्लामा झापा, मोरङ, उदयपुर, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी ११ वटा जिल्ला रहेको छ । हिमपातका कारण ताप्लेजुङ्, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुमपूर्व, म्याग्दी गरी २१ जिल्ला रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलबार  १० : १५ बजे

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम

राज्यव्यवस्था तथा सुशासन समितिमा काँग्रेसले ईश्वरी न्यौपानेलाई पठाउने

काठमाडौँ – नेपाली काँग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा प्रतिनिधिसभा

पूर्वराष्ट्रपतिले भनिन्- सहकारीको समस्या समाधान गर्न छाडेर अनावश्यक राजनीति भयो, रविप्रति सद्‍भाव छ

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सहकारी ठगी मुद्दामा नख्खु कारागारमा रहेका

धापमा भासिएर गैँडाको मृत्यु

नवलपुर (नवलपरासी)– कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा

भियतनाममा टाइफुन काजिकीका कारण तीन जनाको मृत्यु

हनोई- भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन