यमपञ्चकको आज अन्तिम दिन भाइटीका, बिहान ११:३७ मा उत्तम साइत | Khabarhub Khabarhub

यमपञ्चकको आज अन्तिम दिन भाइटीका, बिहान ११:३७ मा उत्तम साइत


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको आज अन्तिम दिन भाइटीका । दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम छ ।

भाइटीका लगाउन मध्याह्नको समय हुनुपर्ने भएकाले यो समय निकालिएको उनले बताए ।

कता फर्केर लगाउने टीका ?

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ । शुभकर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

बालगोपालेश्वर खुला 

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

यसपटक पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् ।

यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् डा.गोविन्द टण्डनले जानकारी दिए ।

‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ’, उनले भने ।

विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । पाँच वर्षअघिको गोरखा भूकम्पले बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त बनेपछि खञ्जनेश्वर मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लाग्न थालेको छ ।

यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ ।

मङ्गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : ४० बजे

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

तनहुँ– कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी

किन जाग्यो ज्ञानेन्द्रमा दरबार पस्ने हुटहुटी ?

अहिले ठूला दलहरु माथि तत्कालीन संसदले २०६३ जेठ ४ गतेको

‘अर्थ’को प्रतिवेदन : ‘स्वास्थ्य’को बजेट खर्च ५६ प्रतिशत, अस्पताल निर्माणदेखि आरोग्य समूह गठनसम्मका प्रगति

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को

हेरा फेरीमा अक्षयलाई राहत, अदालतले रोक्न मानेन ‘जोली एलएलबी- ३’को सुटिङ

काठमाडौं – ‘हेरा फेरी- ३’को विवादलाई लिएर बलिउड नायक अक्षय

म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

म्याग्दी- मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा