एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष | Khabarhub Khabarhub

एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त भएकी छन् ।

कूल २४ परीक्षा केन्द्रमध्ये एउटा परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय एकाइ तनहुँले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकास्थित मित्रता माध्यमिक विद्यालयका प्रधानाध्यापक सरितादेवी पौडेललाई सोही परीक्षा केन्द्रको केन्द्राध्यक्ष नियुक्त गरिएको एकाइ प्रमुख रमाकान्त शर्माले जानकारी दिए ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ (संशोधनसहित) बमोजिम परीक्षा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापक माध्यमिक तहका स्थायी शिक्षक भएमा त्यस्ता प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्ति गर्ने प्रावधान रहेको छ ।

‘परीक्षा केन्द्र तोकिएका अन्य विद्यालयमा महिला प्रधानाध्यापक नरहेका कारण जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष हुनुहुन्छ’, उनले भने ।

सो केन्द्रबाट २८७ विद्यार्थीले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रबाट आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माध्यमिक विद्यालय, मस्र्याङ्दी जनज्योति आवासीय माध्यमिक विद्यालय, सनसाइन आवासीय माध्यमिक विद्यालय, बालशिक्षा सदन आवासीय माध्यमिक विद्यालय, एक्टिभ ग्रीनल्याण्ड बोर्डिङ स्कूल, छिम्केश्वरी माध्यमिक विद्यालय र फ्युचरस्टार बोर्डिङ स्कूलका विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

जिल्लाका दश स्थानीय तहमा रहेका २४ परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई अभिमुखीकरणसमेत गरिएको एकाइले जानकारी दिएको छ

एक थुनुवाले परीक्षा दिँदै

यस वर्षको परीक्षामा जिल्ला कारागारमा रहेका एक परीक्षार्थीले परीक्षा दिँदैछन् । जनज्योति माध्यमिक विद्यालय भीमाद परीक्षा केन्द्रबाट सम्मिलित हुने बुचाखानी माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा दिँदैछन् ।

उनलाई कारागारबाटै परीक्षा दिने व्यवस्था मिलाइएको छ । कारागारमा रहेका थुनुवालाई सत्यवती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र र उत्तरपुस्तिकालगायतका सामग्री व्यवस्थापन गरिनेछ ।

थुनुवा विद्यार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइदिन भनी सम्बन्धित विद्यालय र कारागार कार्यालयबाट सफारिशसहित लेखी आएको सम्बन्धमा साविक माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ अनुसार परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको समन्वय एकाइले जनाएको छ ।

मोबाइल निषेध

परीक्षा केन्द्रभित्र केन्द्राध्यक्षबाहेक अरुलाई मोबाइल प्रयोगमा निषेध गरिएको छ । केन्द्राध्यक्षबाहेक परीक्षामा खटिने अन्य कसैले पनि मोबाइल फोन परीक्षा केन्द्रभित्र लैजान नपाउने प्रमुख शर्माले बताए ।

उनका अनुसार निरीक्षक र सहायक केन्द्राध्यका मोबाइल सेटहरु प्रश्नपत्रको प्याकेट खोल्नुभन्दा पहिला स्वीचअफ गरी झोलामा राखी केन्द्राध्यक्षको नियन्त्रणमा राखिनेछ ।

‘प्रश्नपत्रको प्याकेट खोल्ने अवस्थामा वा खोलिसकेपछि परीक्षा केन्द्रभित्र मोबाइल फोन भेटिएमा तत्काल जफत गरी सुरक्षा निकायमा बुझाउने निर्णय भएको छ’, प्रमुख शर्माले भने, ‘परीक्षा केन्द्रभित्र मोबाइल फोन प्रयोग गर्ने निरीक्षक र विद्यार्थीलाई निष्कासन गरिनेछ ।’

दश वटै स्थानीय तहमा परीक्षा केन्द्र

गत वर्षको एसइईमा यहाँको घिरिङ र ऋषिङ गाउँपालिकामा परीक्षा केन्द्र थिएन । दुई पालिकामा परीक्षा केन्द्र निर्धारण नहुँदा त्यस ठाउँका विद्यार्थीलाई भीमाद नगरपालिका झरेर परीक्षा दिनुपर्ने बाध्यता थियो ।

सिंहदरबारको अधिकार गाउँमा भन्ने नारा लगाइए पनि आफ्नै ठाउँमा परीक्षा केन्द्र नहुँदा गाउँमा सिहंदरबार आएको अनुभूति त्यहाँका विद्यार्थीले गर्न पाएनन् ।

तर यस वर्ष भने ती दुई पालिकामा पनि परीक्षा केन्द्र निर्धारण भएको छ । सो एकाइले जिल्लाका दश वटै स्थानीय तहमा परीक्षाका लागि केन्द्र निर्धारण गरेको छ ।

घिरिङ गाउँपालिकाको चन्द्रज्योति माध्यमिक विद्यालयमा एउटा परीक्षा केन्द्र निर्धारण भएको छ । उक्त परीक्षा केन्द्रबाट कृष्ण मावि, सरस्वती मावि, दीपक मावि, राष्ट्रिय मावि र महेन्द्रज्योति माध्यमिक विद्यालयका १९० विद्यार्थीले परीक्षा दिँदैछन् ।

त्यस्तै ऋषिङ गाउँपालिकाको शिव सरस्वती माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएको छ । उक्त परीक्षा केन्द्रबाट बालविकास मावि, जयदुर्गा मावि, श्रृङ्ग मावि, महेन्द्रोदय मावि, बालशिक्षा निकेतन मावि, बालशिक्षा निकेतन मावि, कामधेनु मावि र शान्ति माविका १८५ विद्यार्थीले परीक्षा दिँदैछन् ।

‘गाउँमै परीक्षा केन्द्र नहुँदा विद्यार्थी भीमाद झरेर परीक्षा दिनुपर्ने बाध्यताको अन्त्य भएको छ’, प्रमुख शर्माले भने, ‘यसले गर्दा विद्यार्थीलाई सहज भएको छ।’

जिल्लाबाट यस वर्ष छ हजार २८१ विद्यार्थीले परीक्षा दिँदैछन् । तीमध्ये छात्रा तीन हजार १६६ र छात्र तीन हजार ११५ रहेको एकाइले जनाएको छ । केन्द्रका अनुसार ग्रेड वृद्धि गर्ने विद्यार्थीको सङ्ख्या ५० रहेको छ ।

प्राविधिक धारतर्फका ९७ विद्यार्थीले पनि परीक्षा दिँदैछन् । जिल्लाका ११६ सामुदायिक र ५८ संस्थागत विद्यालयका विद्यार्थीले परीक्षा दिँदैछन् ।

सबैभन्दा बढी व्यास नगरपालिकास्थित निर्मल माध्यमिक परीक्षा केन्द्रमा ४८६ र सबैभन्दा कम व्यासकै क्यामिन माध्यमिक परीक्षा केन्द्रबाट १६८ विद्यार्थीले परीक्षा दिने एकाइले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ५३ बजे

१८ गतेबाट संविधान संशोधनको बहस सुरु हुन्छ : उपसभापति गुरुङ

स्याङ्जा– यहीँ माघ १८ गतेदेखि सुरु हुन लागेको संसद्को हिउँदे

महिला टी–२० : नेपाललाई नेदरल्याण्डले दियो १५८ रनको लक्ष्य

काठमाडौं– नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाललाई

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन

भरतपुर अस्पतालको प्रयोगशाला रिपोर्ट स्वचालित मेसिनबाट

चितवन– भरतपुर अस्पतालले प्रयोगशाला लगायतका परीक्षणको रिपोर्ट स्वचालित प्रविधिमा बिरामी

रसुवामा पर्यटक आवागमनमा कमी, व्यवसाय ठप्प

रसुवा– पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा