कोरोनाभाइरस सङ्क्रमणका कारण ब्राजिलको अमेजन क्षेत्र र अन्यत्र बसोबास गर्ने आदिवासी समुदाय नै अहिले सखाप हुनसक्ने अवस्थामा पुगेको स्वास्थ्यविद्हरूले बताएका छन्।
इन्फ्लून्जा भाइरसको सङ्क्रमण हुँदा देखिने जस्ता श्वासप्रश्वाससम्बन्धी समस्या ब्राजिलका आदिवासी समुदायको मृत्युको प्रमुख कारण रहँदै आएको छ। ब्राजिलमा हजारौँ व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण भइसकेको छ र कोभिड–१९ का सयौँको सङ्ख्यामा मानिसको मृत्यु भएको छ।
सुरुमा साओपाओलो जस्ता औद्योगिक प्रान्तमा सङ्क्रमण फैलिएको थियो। तर अहिले त्यो भाइरस फ्रान्स र स्पेनका भूभाग जोड्दा बन्ने क्षेत्रजत्रो आकारको विशाल अमेजन नदीवरपर अवस्थित क्षेत्र तथा पूरै देशमा फैलिसकेको छ।
अमेजोनास राज्यका आदिवासीमा समेत भाइरस सङक्रमण पाइसकिएको छ। साओपाओलोको फेडेरल विश्वविद्यालकी अनुसन्धानकर्ता डा. सोफिया मेन्डोन्सा भन्छिन्, ‘अब अहिले यो भाइरस त्यहाँका आदिवासी समुदायमा फैलिएर उनीहरू सबैलाई सखाप पारिदिन सक्ने अविश्वसनीय जोखिम देखा परेको छ।’
मेन्डोन्साले अमेजनको वर्षावन क्षेत्रको सिङ्गु नदीनजिकै बसोबास गर्ने आदिवासी मानिससँग सम्बन्धित विश्वविद्यालयको स्वास्थ्य परियोजनाको संयोजन गरिरहेकी छन्। कोरोनाभाइरसले पनि ब्राजिलका आदिवासी समुदायमा श्वासप्रश्वाससँग सम्बन्धित दादुरा र अन्य सङ्क्रामक रोगले पारेका जस्तै प्रभाव पार्छ कि भन्ने उनको चिन्ता छ।
सन् १९६०को दशकमा भेनेजुएलाको सीमानजिकै बसोबास गर्ने यानोमानी समुदायमा दादुराको प्रकोप फैलिँदा सङ्क्रमितहरूमध्ये नौ प्रतिशत मानिसको ज्यान गएको थियो। ‘यदि सबै जना बिरामी परे भने सबै पाका मानिसहरूको ज्यान जान्छ र त्यो सँगै उनीहरूको ज्ञान र सामाजिक सङ्गठन पनि नाश हुन जान्छ,’ मेन्डोन्सा भन्छिन्।
अहिले कोभिड–१९को महामारी चलिरहेको बेला त्यहाँका केही समुदायहरू ससाना एकाइमा टुक्रिँदै वनमा छरिएर बस्न थालेको उनी बताउँछिन्। विगतका महामारीका बेलामा पनि उनीहरू त्यसैगरी छरिएर लोप हुनबाट बचेका थिए।
‘परिस्थिति सामान्य नहुन्जेलसम्म उनीहरुले त्यहाँ सिकार गर्न, माछा मार्न र शिविरहरू स्थापना गर्न आवश्यक सामग्री जुटाउने गर्छन्,’ उनी भन्छिन्। सङ्क्रमणको भयबीच उनीहरूलाई अहिले एकअर्कोबाट अलग्गै बस्न र खाने भाँडा आपसमा नसाट्न अनुरोध गरिएको छ।
आदिवासी समुदायहरू स्वास्थ्य सेवा नपुगेका स्थानहरूमा समेत बसोबास गर्छन्। ब्राजिलमा कोरोनाभाइरस फैलिन क्रम तीव्र बनेको बेला धेरैले आदिवासीलाई सरकारले संरक्षण गर्ला कि नगर्ला भनी प्रश्नहरू गरिरहेका छन्।
धेरै आदिवासी नेताहरूले राष्ट्रपति जइर बोल्सोनारुलाई आफ्नो समुदायको शत्रु ठान्ने गर्छन्। बोल्सोनारुले आदिवासी समुदायले ओगेटेको भूमि धेरै ठूलो रहेको र त्यो पूरै देशका लागि प्रयोग हुनुपर्ने बताउँदै आएका छन्।
देशका धेरै प्रशासक तथा नगरप्रमुखहरूले सङ्क्रमण घटाउन प्रतिबन्धहरू लगाएका छन्। तर बोल्सोनारुले कोरोनाभाइरसलाई कुनै सामान्य फ्लूसँग तुलना गरेका छन्।
रोकथामका लागि सरकारले पर्याप्त कदम नचालेकोले कैयौँ आदिवासी सङ्गठनहरूले आफ्न सदस्यहरूलाई सहरतिर नजान र बाहिरिया मानिसलाई आफ्ना क्षेत्रमा प्रवेश निषेध गर्न अनुरोध गरेका छन्।
तर त्यस्ता कदम चाल्दाचाल्दै पनि कोभिड–१९ कुनै न कुनै गाउँमा पस्न सक्छ र त्यसैले त्यहाँका बिरामीलाई एक्ल्याउन आवश्यक पर्न सक्छ भन्ने विज्ञहरूको चिन्ता छ।
आदिवासी मामिलासम्बन्धी सङ्घीय निकाय फुनाईका अनुसार ब्राजिलको अमेजन क्षेत्रमा १०७ वटा आदिवासी समुदाय बसोबास गर्छन् जसको बाहिरी विश्वसँग कुनै प्रकारको सम्पर्क छैन।
तर गैरकानुनी काठ तस्कर सिकारी र इसाई समूहको त्यहाँ आउजाउ भइरहन्छ। आदिवासी सङ्गठनहरूका अनुसार हालैका वर्षहरूमा ती समूहका मानिसहरूको उपस्थिति त्यस क्षेत्रमा बाक्लिन थालेको छ।
अर्कोतर्फ सरकारले त्यस क्षेत्रमा पठाउने गरेको बजेट घटाउन थालेको छ जसका कारण पनि आदिवासी समुदायका कठिनाइ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।त्यस क्षेत्रमा कोलिम्बिया र भेनेजुएलाका आदिवासीहरू पनि आर्थिक र अन्य सहयोग लिन आउने गर्छन्।
आदिवासी समूहहरूको सङ्घका प्रमुख मारिभेल्टोन बारेका अनुसार अहिले स्थानीय समुदायहरू आत्तिएका छन्।‘अहिले खानेकुराको अभाव भइरहेको छ र हामीले आदिवासीहरूका लागि घर घरमा खाना पुर्याउनुपरेको छ,’ उनी भन्छन्।
त्यहाँको स्थानीय अस्पतालमा भेन्टिलेटरहरू पनि छैनन्। त्यसैले गम्भीर बिरामीहरू १००० किलोमिटरको डुङ्गा यात्रा गरेर अमेजोनास प्रान्तको राजधानी मानाउस पुर्याउनुपर्ने अवस्था छ।
आदिवासीको स्वास्थ्य मामिला हेर्ने एक नर्सले आफ्नो नाम नखुलाउने सर्तमा बताएअनुसार त्यस क्षेत्रमा कोभिड(१९ परीक्षण गर्ने उपकरणहरू र स्वास्थ्यकर्मीको लागि आवश्यक पीपीई र मास्क पनि छैनन्। तर त्यहाँका स्वास्थ्यकर्मीहरूलाई तालिम भने दिइएको छ।
आदिवासी समूहहरूको सङ्घका प्रमुख बारेका चेतावनी दिँदै भन्छन्, ‘मानिसहरूसामु सङ्क्रमित हुने कि भोकै बस्ने भन्ने विकल्प अघि सारियो भने उनीहरूले पहिलो विकल्प रोज्नेछन्। त्यसको परिणाम निकै घातक हुन सक्छ।’
प्रतिक्रिया