यसपाली ‘देउडा पर्व’ सुनसान « Khabarhub

यसपाली ‘देउडा पर्व’ सुनसान


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णालीका लागि साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा गरेको छ । सरकारले पहिलोपटक आधिकारिकरुपमा सार्वजनिक बिदा दिएको देउडाको पर्वको विशेष दिन भने सुनसान बन्यो ।

कोरोना महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाइएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो ।

साउन १ गते यसलाई भव्य तवरले मनाइने दिनका रुपमा आधिकारिक घोषणा गरिए पनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी वीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै । देउडा पारखी आफूखुशी आउँछन् र विभिन्न समूह बनाई गोलो लाइनमा उभिएर खेल शुरु गर्छन् ।

यस्तो विशेष महत्वको दिनमा देउडा खेल्न र हेर्न नपाइएको यहाँका स्थानीय महिला विर्षदेवी हमालले बताए । “देउडा हाम्रो संस्कृतिमात्र होइन”, हमालले भने, “यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो ।” कोरोना भाइरसको कारण लामो समयदेखि देउडा खेलको रमाइलो लिन नपाइएको उनको भनाइ थियो ।

साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, व्रतबन्ध, विवाहवारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वको केन्द्रबिन्दुमा यो खेल हुन्छ । तरुणदेखि वृद्धले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन् ।

देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन । पुरुष÷पुरुष, महिला\महिला वा महिला पुरुष जस्तोसुकै समूह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो । जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ ।

यद्यपि देउडामा प्रस्तुत सबैखाले क्रियाकलापले दिने मूल सन्देश भनेकै सुसंस्कृत समाज तथा नैतिकवान चरित्र निर्माण र मनोरञ्जन आदानप्रदान हो ।

त्यसको अलावा यसले समाजमा भएका विकृति, अनियमिता, शोषण, राजनीतिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यास र त्यसले पारेको प्रभावका बारेमा पनि सुसूचित गराउँदै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।

‘देउडा कर्णालीको सांस्कृतिक प्रतिबिम्व’

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले प्राचीनलदेखि चलिआएको ‘देउडा मानव जीवन व्यवहारको सांस्कृतिक प्रतिबिम्व’ भएको बताए । मानव इतिहास र देउडा संस्कृति सँगसँगै भएर आएको बताउँदै अध्यक्ष धितालले यसको विशेषता र महत्वले कर्णाली सम्पन्न भएको बताए ।

भाषाको विकास, आर्थिक व्यवहार, परम्परागत संस्कृतिको निरन्तरता, पुरानो औषधि विज्ञानको सरंक्षण गर्न देउडाको ठूलो महत्व रहेको उनले बताए । त्यस्तै, प्रेम मिलन, मैत्रीपूर्ण सांस्कृतिक तथा शैक्षिक कार्यक्रम, सम्बन्ध विस्तार प्रचारप्रसार, विज्ञापन, स्थान विशेष चिनाउन र पर्यटन प्रवद्र्धनमा पनि देउडाको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष धितालको भनाइ थियो ।

कर्णालीका हजारौँ नागरिक सहभागी भएर मनोरञ्जन लिने देउडा पर्व यसपालि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित भएकाले स्थानीय रेडियोबाट शुभकामना आदानप्रदान गरेर मनाइएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ ।

कर्णाली प्रदेश सरकारले पनि कोरोना महामारीमा सावधानी अपनाउन अपिल गर्दै देउडा पर्व तथा साउने संक्रान्ति अवसरमा सम्पूर्ण प्रदेशवासीलाई शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : २५ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित