आस्था राउत प्रकरण : आवेगमा गरिएको फेसबूक ‘लाइभ’ले निम्त्याएको दुर्घटना | Khabarhub Khabarhub

आस्था राउत प्रकरण : आवेगमा गरिएको फेसबूक ‘लाइभ’ले निम्त्याएको दुर्घटना



काठमाडौं – गायिका आस्था राउतले प्रहरीलाई अपाच्य शब्द प्रयोग गर्दै गाली गरेपछि यो ताजा बहसको विषय बनेको छ ।

सामाजिक सञ्जाल दुई चिरामा बाँडिएको छ । कसैले गायिका राउतको समर्थन गरिरहेका छन् भने कतिले उनले ‘दम्भ’ देखाएको भन्दै विरोध गरिरहेका छन् ।

स्वयम् आस्था राउतले भने आफूले ती शब्दहरु नबोलेको भए हुने भन्दै सामाजिक सञ्जालमार्फत बारम्बार माफी मागिरहेकी छिन् । यता प्रहरीले उनीमाथि कारवाही गर्ने तयारी गरिरहेको छ ।

राउतले डिउटीमा रहेकी महिला प्रहरीले आफूमाथि अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छिन् । उनका अनुसार ती महिला प्रहरीले अशिष्ट भाषा प्रयोग गरेकी थिइन् । त्यसरी हेपेर अहिलेसम्म कसैले पनि आफूलाई दुर्व्यवहार नगरेको आस्थाको दाबी छ ।

गएको बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो करीब साढे १ बजे डिउटीमा रहेकी महिला प्रहरी रमिता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै आस्थाले सोही साँझ भिडियोमार्फत सार्वजनिक रुपमा गाली गरेकी थिइन् ।

उनले भिडियोमा प्यूसा, डन्ठेनी, पुलिस हो कि फुलिस जस्ता शब्द प्रयोग गरेकी छिन् । उनले लठ्ठी समाउने प्रहरीलाई ‘ठन्डे’ भनिने सार्वजनिक रुपमै उद्घोष गरेकी छिन् ।

सामाजिक सञ्जालमा प्रहरी प्रशासन र आस्था दुवै पक्षमाथि प्रश्न उठाउँदै अनेक टिप्पणी भइरहेका छन् । केही दिनयता सामाजिक सञ्जालमा आस्था राउत प्रकरणको बाक्लो हुस्सु मडारिएको छ ।

ती शब्दहरुलाई सामाजिक रुपमा छाडा र तल्लो स्तर बुझाउने शब्दका रुपमा लिइन्छ ।

उनले प्रयोग गरेको शब्द ‘प्यूसो’ को अर्थ हुन्छ – फोहोर ठाउँमा हुने, भुसुनोभन्दा पनि सानो एक जातको उड्ने किरो ।

प्यूसो शब्दको अर्को पनि अर्थ हुन्छ – नवजात बालकको असहाय अवस्थालाई बुझाउने शब्द, सानो निर्धो बालक ।

तर, बोलीचालीको भाषामा प्यूसो भन्नाले हामीले चेस खेल्दा सबैभन्दा पहिले चालिने ८ वटा गोटी भन्ने बुझ्छौं । चेसमा राजालाई मर्न नदिन एकतर्फका यिनै ८ वटा गोटी सबैभन्दा पहिले सक्रिय हुन्छन् । यी ‘प्यूसा’ लाई सीमित शक्ति दिइएको हुन्छ ।

आस्था राउतले प्रहरीको तल्लो तहका हजारौं जवानहरुलाई यही ‘प्यूसो’ भनेर सम्बोधन गरेको अनुमान लगाउन सकिन्छ ।

आजभोलि प्रहरी शब्द–शब्दको प्रयोगमा पनि खुबै ख्याल गर्न थालेको छ । गीतका केही शब्दमा आपत्ति जनाउँदै केही समयअघि भिटेनका नामले चर्चित पप गायक समीर घिसिङलाई पक्राउ गरेको थियो । हिरासतमै लिएर युट्युबबाट उनको ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीत हटाउन पनि लगाएको थियो ।

भिटेन केही दिन प्रहरी हिरासतमा रहेर रिहा भएका थिए । रिहापछि भिटेनले आफूले हिरासतमा अपमानजनक व्यवहार गरेको तीतो यथार्थ मिडियामार्फत पोखेका थिए । प्रहरीले उनीमाथि पनि ‘प्रहरीमाथि दुर्व्यवहार’ गरेको आरोपमा थप थुनामा राख्न खोजेको थियो । तर, मिडिया र सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि उनलाई रिहा गरिएको थियो ।

यस्तै गायक तथा मोडल दुर्गेश थापाले पनि गीतमा प्रयोग गरिएका शब्दकै कारण प्रहरी कार्यालय धाउनुपरेको थियो ।

आस्था राउतको विषयमा भने कुनै सेलिब्रेटी पनि चुइँक्क बोलेका छैनन् । किनकि, उनी अझै प्रहरीको हिरासतमा पुगिसकेकी छैनिन् । अर्कातिर उनले प्रयोग गरेका शब्द आपत्तिजनक भएको धेरैको बुझाइ छ ।

सामाजिक सञ्जालमा भने प्रहरी प्रशासन र आस्था दुवै पक्षमाथि प्रश्न उठाउँदै अनेक टिप्पणी भइरहेका छन् । केही दिनयता सामाजिक सञ्जालमा आस्था राउत प्रकरणको बाक्लो हुस्सु मडारिएको छ ।

के डिउटीमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठले आस्था राउतलाई अपमानजनक व्यवहार गरेकी थिइन् ? यता आस्था राउतले ती महिला प्रहरीले अपमानजनक व्यवहार गरेको बारम्बार बताउँदै आएकी छिन् । तर, प्रहरीले भने आस्था राउतको गल्ती भएको हुनसक्ने बताएको छ ।

हिजो गायक भिटेनलाई अपराधीलाई झैँ हप्काउने प्रहरीले आस्था राउतलाई हप्काएन होला भनेर पूर्ण रुपमा विश्वास गर्न नसकिने कतिपयको तर्क छ । फेरि आस्था पनि पहिलोपटक विमानस्थलमा पुगेकी होइनन् । उनी बारम्बार विमानस्थल हुँदै देशका विभिन्न स्थानमा हुने स्टेज कार्यक्रमका लागि पुग्ने गर्छिन् ।

पहिलोपटक आस्थाले यसरी आरोप लगाउनुको कारण खोतल्नुपर्ने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग गरेका छन् ।

आस्थाले बिहीबार खबरहबको कुराकानीमा भनेकी थिइन्, ‘दुई दिनअघि पोखरा जाँदा ज्याकेट खोल्नुपरेको थिएन, मैले उहाँलाई त्यही सोधेकी हुँ ।’

उनले भनेकी छिन्, ‘उहाँले यति रुखो व्यवहार प्रस्तुत गर्नुभयो कि, मलाई निकै नराम्रो लाग्यो, उहाँले ‘ज्याकेट खोल्’ भनेर असाध्यै तिखो भाषामा बोल्नुभयो ।’

विमानस्थलका कर्मचारीले सर्वसाधारणलाई अपमानजनक व्यवहार गर्न नहुने आस्थाको तर्क छ । अझ उनले त ‘प्रहरी मेरो साथी’ भन्ने नारामाथि नै प्रश्न उठाएकी छिन् ।

सयौँपटक विमानस्थलमा चेकिङ गराएकी आस्था राउतलाई बुधबार डिउटीमा रहेकी महिला प्रहरीसँग व्यक्तिगत रिसइवी पक्कै थिएन । आस्था भन्छिन्, ‘विदेशमा पनि प्रहरी चेकिङ हुन्छ, तर त्यस्तो अपमान कहिल्यै भोगेकी थिइनँ ।’

विमानस्थलमा भएको चेकिङको भिडियो हेर्नुहोस्

प्रहरीले लिक गराएको भिडियो फुटेजमा दुईबीच खासै झगडा भएको देखिन्न तर भनाभन भएको अनुमान भने सहजै लगाउन सकिन्छ । प्रहरीले आस्थाको ज्याकेटमा समाएर जबरजस्ती कफी भिराइदिएकी छिन् । आस्थाले पनि आफूमाथि दुर्व्यवहार भएपछि कफी लान्नँ भनेर अड्डी कसेको बताएकी छिन् ।

के ज्याकेट खोल्नुमा मात्र आस्थाको समस्या थियो? आस्था भन्छिन्, ‘थिएन । मलाई उहाँको व्यवहारसँग समस्या थियो ।’

प्रहरी जवान रमिताले अपमानजनक व्यवहार गरेको या नगरेको भिडियोका आधारमा भन्न सकिन्न । किनकि, सीसीटीभी फुटेजमा आवाज रेकर्ड छैन । सोही भिडियोमा अर्का प्रहरी जवानले ज्याकेट नखोली चेकिङ गरेर भित्र पठाएको देख्न सकिन्छ ।

साहित्यकार तथा गीतकार राजेन्द्र थापा भन्छन्, ‘राजाले त सुरक्षा चेकिङमा सघाउनुपर्छ भने अरुले त पर्छ नै, भिडियो हेर्दा आस्था राउतको पनि गल्ती देखिन्छ, किनकि भिडियोमा तँ भनेको प्रमाण छैन ।’

सुरक्षाकर्मीले ज्याकेट खोल्न भनेपछि राजाले समेत ज्याकेट खोल्नुपर्ने राजेन्द्र बताउँछन् । तर, उनी प्रहरीले पनि कसैलाई दुर्व्यवहार गर्न नहुने तर्क गर्छन् ।

‘मन्त्री पनि विमानस्थलमा वेटिङमा बस्नुपर्छ, विमानस्थलमा भएको घटनाभन्दा पनि ठूलो घटना त उहाँले लाइभ गरेपछि भयो,’ उनी भन्छन् ।

भिडियोमा अनावश्यक शब्द प्रयोग गरेर सेना र आर्मीलाई गाली नगर्नुपर्ने तर्क उनको छ ।

आस्थाले पनि भिडियोमा बोलेका शब्द अपाच्य लागेपछि भिडियो हटाइसकेकी छिन् । तर, सामाजिक सञ्जालमा अरुले अपलोड गरेका भिडियोहरु भेटिन्छन् ।

सोही भिडियोमा प्रयोग गरेका शब्दलाई लिएर प्रहरीले राउतमाथि ‘एक्सन’ लिन खोजिरहेको छ । उनीमाथि जाहेरी परिसकेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आउनका लागि जे कुराको पनि विरोध गरिहाल्ने, सामाजिक सञ्जालमार्फत लाइभमा आएर नकारात्मक टिप्पणी गरिहाल्ने प्रवृत्ति बढ्दै गएको छ ।

आस्था भने यतिबेला कार्यक्रमका सिलसिलामा भारतको सिक्किममा छिन् ।

ट्वीटरमा माधुरी नामक प्रयोगकर्ताले लेखेकी छिन्, ‘एअरपोर्टमा प्रहरीको सुरक्षा जाँच पनि सम्मानजनक हुन जरुरी छ । अधिकार हो भन्दैमा नागरिकलाई पनि शिष्ट तरिकाले जाँच गरिनुपर्छ ।’

सामाजिक सञ्जालमा प्रहरीको प्रवृत्तिलाई लिएर पनि विरोध उठेपछि प्रहरीले राउतको सीसीटीभी फुटेज सार्वजनिक गराएको थियो । उक्त फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सीसीटीभी फुटेजपछि गायिका राउतको थप विरोध शुरु भएको थियो । त्यसपछि राउतले पुनः फेसबूक लाइभमा आएर ‘दूधको दूध पानीको पानी’ भन्दै घटनाबारे बेलीविस्तार लगाएकी थिइन् । उनले आफू विमानस्थलमा दुर्व्यवहारमा परेको दोहोर्‍याएकी छिन् ।

मनोविद् गोपाल ढकाल भन्छन्, ‘कोही मान्छे चाँडै आवेगमा आउने हुन्छन्, इमोसनल स्वभावका हुन्छन्, रिसको बेलामा गरेको परिणाम राम्रो हुँदैन ।’
ढकालका अनुसार रिसलाई क्षणिक पागलपन पनि भनिन्छ । तर, रिसको बेलामा गरेको परिणाम राम्रो हुँदैन ।

‘उहाँले म चाँडो आवेगमा आउने र यस्तै स्वभावको मान्छे हुँ, म सहन सक्दिनँ भनेर भन्नुभएको छ, पछिल्लो लाइभमा पनि त्यो आवेग उहाँमा देखिन्छ ।’

घटना घटेको धेरै समयपछि पनि आक्रोशपूर्ण अभिव्यक्ति दिनुले गायिका राउतमा ‘घमण्ड’ देखिएको ढकाल बताउँछन् । उनी भन्छन्, ‘घटना घटेको धेरैपछि व्यवहारमा आक्रोश देखिँदा प्रतिशोध देखिन्छ ।’

ढकाल पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा आउनका लागि जे कुराको पनि विरोध गरिहाल्ने, सामाजिक सञ्जालमार्फत लाइभमा आएर नकारात्मक टिप्पणी गरिहाल्ने प्रवृत्ति बढ्दै गएको बताउँछन् ।

‘उहाँले अलिकति संयमता अपनाउनुपर्ने हो, त्यो उहाँमा देखिएन, यसले दीर्घकालीन रुपमा हानी पुर्‍याउँछ,’ राउतको भिडियोमा प्रतिक्रिया जनाउँदै ढकाल थप्छन्, ‘आफू दुर्व्यवहारमा परेको भए कानूनी लडाइँ लड्न सकिन्थ्यो, जे कुरामा पनि चित्त नबुझे लाइभमा आएर पोखिने प्रवृत्ति कसैका लागि पनि राम्रो होइन, अझ उहाँमा त सेलिब्रेटी हुँ भन्ने घमण्ड पनि देखिन्छ ।’

प्रहरी संयन्त्रललाई नै गाली गरेको भिडियो एकाएक सबैको चासोको विषय बनेपछि प्रहरीले पनि यसलाई गम्भीर रुपमा लिएर अनुसन्धान थालेको छ ।

‘यसरी जथाभावी रुपमा फेरि अरुले गाली नगरुन् भनेर पनि प्रहरीले आस्था राउतमाथि कारवाही अगाडि बढाउन सक्छ,’ प्रहरीनिकट एक अधिकारी बताउँछन् ।

यो पनि पढ्नुहोस्:

आस्था राउतको बयान: महिला प्रहरीले झोलामा कफी खन्याइदिन्छु भन्दै विमानस्थलमै न्याँकिन्

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  २ : ०५ बजे

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवन बन्दै

काठमाडौं– दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको भवन

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र