जाँच बिनै नेपाल घुम्ने चिनियाँ बढेसँगै कोरोनाको त्रास बढ्यो | Khabarhub Khabarhub

जाँच बिनै नेपाल घुम्ने चिनियाँ बढेसँगै कोरोनाको त्रास बढ्यो

चिनियाँ खुलमखुल्ला घुम्दै, नेपालीमात्रै क्वारेन्टाइनमा !


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले महामारीको रुपमा फैलिएको चीनबाट नेपालीलाई स्वदेश ल्याउन झण्डै दुई साताको समय लगायो ।

चीनस्थित नेपाली दूतावासमा स्वदेश फर्काउन आग्रह गर्दै नेपालीले निवेदन दिएको दुई सातापछि सरकारले आइतबार १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काएको हो ।

चीनमा आफ्नो कोठाभित्र सुरक्षित रहेका नेपालीलाई स्वदेश ल्याउन सरकारले स्वास्थ्यकर्मी सहितको टोली नै चीन पठाएको थियो ।

स्वदेश ल्याउने क्रममा उनीहरुलाई चीनको विमानस्थल र नेपाल अवतरण पछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समेत स्वास्थ्य परीक्षण गरियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोनाको लक्षण नभएको पाइएपछि मात्र सरकारले उनीहरुलाई क्वारेन्टाइनमा लग्यो ।

क्वारेन्टाइनमा रहेका नेपालीले कोठाभित्र मास्क लगाएर बस्नुपर्ने र हरेक दिन दुईपटक ज्वरो नाप्नुपर्ने नियम सरकारको छ ।

‘सरकारले क्वारेन्टाइनको व्यवस्थापन हामीले सोचेभन्दा राम्रो गरेको रहेछ । यहाँ रहँदा दिनमा दुईपटक ज्वरो परीक्षण गर्नुपर्ने भन्नुभएको छ,’ क्वारेन्टाइनमा रहेका एक व्यक्तिले खबरहबसँग भने, ‘हुन त हामी संक्रमित होइनौं, तर सरकारले सबैको स्वास्थ्य सुरक्षाका लागि बनाएको नियमलाई हामी मान्छौं, सरकारसँग कुनै गुनासो छैन, हामी क्वारेन्टाइनमा खुसी छौं ।’

सरकारले १ सय ७५ जना नेपालीलाई स्वदेश फर्काएपछि सबैले सरकारको यो कामलाई प्रशंसनीय भनेका छन् । क्वारेन्टाइनमा रहेका चीनबाट फर्किएका नेपाली र तीनका अभिभावक पनि खुसी छन् ।

चीनबाट स्वदेश ल्याइएको नेपालीलाई क्वारेन्टाइनमा राखेर दुईपटक कोरोना परीक्षण गर्ने व्यवस्था गरेको सरकारले चीनबाट नै फर्किएका पर्यटकको स्वास्थ्य अवस्थाबारे खासै चासो दिएको छैन ।

स्वदेश फर्किएका नेपालीलाई दुईसाता क्वारेन्टाइनमा राखेको सरकारले चीनबाटै आएका चिनियाँ पर्यटकलाई भने विमानस्थलमा सामान्य ज्वरो परीक्षण पश्चात नेपालभर खुल्ला रुपमा घुम्न दिइरहेको छ ।

चीनमा कोरोना फैलिएपछि नेपाल आए १३ हजार चिनियाँ पर्यटक

चीनमा कोरोना भाइरसको संक्रमण शुरु भएपछि जनावरी १ देखि फेब्रुअरी १६ तारिख सम्ममा १३ हजार ७ सय २७ जना चिनियाँ पर्यटक नेपाल आएका छन् ।

यस्तै जनवरी १ देखि १६ फेब्रुअरी सम्ममा नेपालमा ८९ हजार ६ सय २७ जना विदेशी नेपाल भित्रिएका छन् । ती मध्ये अधिकांश चीनबाट ट्रान्जिट भएर नेपाल आएका छन् ।

विमानस्थलमा ज्वरो परीक्षण, त्यसपछि पर्यटक कहाँ छन् पत्तो छैन

सरकारले नेपाल भ्रमण वर्षलाई लक्षित गरी त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कको स्थापना गरेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनबाट नेपाल आउनेहरुको विमानस्थलमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली विमानस्थलमा परिचालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा संचालित हेल्थ डेस्कमा एकजना कन्सलटेन्ट डाक्टर, ३ जना मेडिकल अफिसर, ३ जना नर्स र ३ जना जनस्वास्थ्य अधिकृत खटिएका छन् । हेल्थ डेस्कमा रहेका चिकित्सकले विमानस्थलबाट बाहिर निश्किनेहरुलाई थर्मर स्क्यानरबाट उनीहरुको ज्वरो हेर्ने र ज्वरो देखिएका बिरामीलाई अस्पताल पठाउने गरेको बताएका छन् ।

‘विमानस्थलबाट नेपाल प्रवेस गर्ने सबैको ज्वरो हेरिन्छ । ज्वरो देखिएमा अस्पतालमा पठाउने गरेका छौं । ज्वरो देखिएन भने उहाँहरु आफुले चाहेको ठाउँमा जान पाउनुहुन्छ,’ विमास्थलमा खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘हामीले अहिलेसम्म विमानस्थलमा कोरोना कै आशंकामा ६ जनालाई अस्पताल पठाएका थियौं । उहाँहरुमा कोरोना देखिएन भन्ने सुनिन्छ ।’

सरकारले चीनमा रहेका नेपालीलाई ट्रान्जिटको क्रममा समेत कोरोना सर्न सक्ने आशंकामा क्वारेन्टाइमा राखेर कोरोनाको प्रयोगशाला मार्फत परीक्षण गरिरहेको छ । तर चीनबाटै नेपाल घुम्न आएका पर्यटकहरुलाई भने विमानस्थलमा ज्वरोको जाँच गरेपछि खुल्ला छाडिएको छ ।

सरकारलाई नागरिकको स्वास्थ्यभन्दा पर्यटक भित्र्याउने चिन्ता बढी !

चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै अस्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएको छ ।

जापान, अमेरिका, हङकङ लगायतका देशहरुले पनि चीनबाट आफ्नो देशमा आउने सबैलाई क्वारेन्टाइनमा राखेर उनीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि मात्र देशभित्र प्रवेश गर्न पाउने व्यवस्था गरेको छ ।

तर नेपालले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका १ सय ७५ जना नेपालीलाई मात्र क्वारेन्टाइनमा राखेको छ ।

जनावरीदेखि हालसम्म नेपाल भित्रिएका १३ हजार चिनियाँ भने क्वारेन्टाइनमा नबसी नेपालभित्र घुमिरहेका छन् ।
सरकारले उनीहरुलाई त्रिभुवन विमानस्थलमा सामान्य ज्वरो परीक्षण गरेर छाडिदिएको छ ।

चीनबाट नेपाल आउने पर्यटकलाई क्वारेन्टाइनमा राख्नु आवश्यक नै नभएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहाल बताउँछन् ।

‘चीन सरकारले कोरोना भाइरसको संक्रमण देखिएको प्रान्तमा आवतजावत रोग लगाइएकाले त्यहा रहेका नेपाली ल्याउन मात्र हामीले क्वारेन्टाइनको व्यवस्थापन गरेका हौं,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता दाहालले भने, ‘अरु अवस्थामा विश्व स्वास्थ्य संगठनले पनि आवतजावतमा रोक लगाउनुपर्ने भनेको छैन। त्यसैले नेपाल आउँने चिनियाँ नागरिकलाई क्वारेन्टाइमा राख्नुपर्ने आवश्यकता छैन ।’

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता दाहालका अनुसार चीनले कोरोना भाइरस संक्रमितलाई नेपाल नपठाएको विश्वासका आधारमा चिनियाँ पर्यटकहरु नेपालमा घुम्न पाइरहेका छन् ।

सरकारले चिनियाँ नागरिकलाई क्वारेन्टाइन गर्नुपर्ने आवश्यकता नरहेको बताइरहँदा चिकित्सकहरु भने चिनियाँ पर्यटककै कारण कोरोना फैलिने जोखिम नेपालमा कायमै रहेको बताउँछन् ।

विमानस्थलमा एकपटक ज्वरोको परीक्षण गरिएकै भरमा चिनियाँ पर्यटकलाई खुल्ला रुपमा घुम्न दिदा चीनबाट नेपाल आउने पर्यटकसँगै कोरोनाको संक्रमणको जोखिम उच्च रहेको एक चिकित्सकले बताए ।

‘चीनबाट नेपाल आउने पर्यटकसँगै कोरोना भित्रिने जोखिम नेपालमा अझै पनि छ,’ नाम नबताउने सर्तमा एक चिकित्सकले भने, ‘अन्य देशहरुले चीनबाट आउनेहरुलाई क्वारेन्टाइनमा राखेर कोरोनाको संक्रमण नभएको पुष्टि भएपछि मात्र फ्री छोड्ने गरेको छ । तर नेपालमा चिनियाँ पर्यटकलाई विमानस्थलमा सामान्य ज्वरो मात्र हेरेर नेपालभर घुम्न दिइएको छ । यसले नेपालमा कोरोना संक्रमण फैलने जोखिम अझै रहेको देखिन्छ ।’

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाइरहेको छ ।

सरकारलाई नेपालमा कोरोना भित्रिने डर भन्दा पनि पर्यटन वर्षको लक्ष्य पुरा नहोला कि भन्ने चिन्ता बढी भएको उनको तर्क छ ।

‘अन्य देशलाई पर्यटक कम होला भन्ने चिन्ता छैन, तर सरकारले त अहिले भ्रमण वर्ष मनाइरहेको छ,’ एक चिकित्सकले खबरहबसँग भने, ‘नेपाल आउने चिनियाँलाई स्वास्थ्य परीक्षणमा कडाइ गर्दा पर्यटक घट्ला कि भन्ने चिन्तामा छ सरकार त ।’

सरकारले हजारौं चिनियाँ पर्यटकलाई नेपालमा खुलमखुल्ला घुम्न दिएर १ सय ७५ जना नेपालीलाई मात्र क्वारेन्टाइमा राख्नु सरकारको प्रचारात्मक कार्य मात्र भएको उनको तर्क छ ।

‘सरकारले चीनमा रहेका १ सय ७५ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ, त्यो सकारात्मक कुरा पनि हो, तर त्यहि १ सय ७५ जनालाई मात्र क्वारेन्टाइमा राखेर नेपालमा कोरोनाको जोखिम कम हुँदैन,’ एक चिकित्सकले खबरहबसँग भने, ‘सरकारले चीनबाट आएका पर्यटकको स्वास्थ्य निगरानीमा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  ८ : ३७ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न