काठमाडौं–‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’, यो भनाई निर्माण सामग्री बोकेर सडकमा मनोमानी कुद्ने टिप्परका हकमा भने व्यर्थ छ ।
टिप्परहरु पैसा बटुल्ने दाउमा होडबाजीले बढी दुर्घटना गराउने खतरनाक साधान बनेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार टिप्परका कारण हुने दुर्घटना बढ्दो छ ।
सोमबार काभ्रेपलाञ्चोकको पनौती, मानेश्वरी बसपार्कमा टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिककी २६ वर्षीया जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाको मृत्यु भयो ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिएको थियो । उपचारको क्रममा उनीहरुको क्रममा मृत्यु भयो ।
घटनाको विरोधमा स्थानीयबासीले प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरी गोली चलायो । घटनामा प्रहरी हवल्दारसहित ५ जना घाइते भए । मंगलबार त कफ्र्यु नै लगाउनु पर्यो ।
यही चैत १ गते भक्तपुरमा चाँगुनारायण नगरपालिकाको जय ब्रह्मायणी इँटाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको टिप्परको ठक्करबाट १८ महिने शिशिर मोक्तानको ज्यान गयो ।
गत फागुन ६ गते काठमाडौंको शंकरापुर नगरपालिकाको धोला टोलमा टिप्परकै ठक्करले स्थानीय प्रवीण श्रेष्ठको ज्यान गुमाए । उनलाई ना१क ४५६४ नम्बरको टिप्परले ठक्कर दिएको थियो । यो घटनाको दुई साताअघि कलङ्कीको अण्डरपासमा टिप्परकै ठक्करले दुई जनाको ज्यान गएको थियो ।
टिप्पर तथा ट्रकको ठक्करबाट मृत्यु भएका यी घटना नौला होइनन् । महाशाखा प्रमुख एसएसपी ढकालका अनुसार अहिले दिनहुँजसो टिप्परबाट हुने दुर्घटनाको खबर आउँने गरेको छ ।
तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा मात्र पछिल्लो ५ वर्षमा टिप्परको ठक्करबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ । यो अवधिमा ७ हजार ४५३ वटा टिप्परले दुर्घटना गराएका थिए ।
टिप्पर दुर्घटनाको शृङ्खला
टिप्पर दुर्घटनाको दर प्रत्येक वर्ष बढ्दो अवस्थामा छन् । विगत ५ वर्षदेखिको तथ्यांक हेर्दा ७ हजार ४ सय ५३ टिप्पर दुर्घटना भएका छन् । यी दुर्घटनामा परी २ सय ११ ले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७२/७३ मा १ हजार २ सय १० टिप्पर दुर्घटना भएका थिए । जसमा ३६ जनाले ज्यान गुमाए ।
त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको तुलनामा टिप्पर दुर्घटना बढेर १ हजार ४ सय पुग्यो । यी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढेर ६५ पुगेको प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै आर्थिक वर्ष २०७४/०७५ मा १ हजार ५ सय ८० टिप्पर दुर्घटना भए । यी दुर्घटनामा ४१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २०७५/०७६ मा भएका १ हजार ७ सय ९१ दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको छ ।
चालू आर्थिक वर्ष २०७६/०७७ को यो अवधिसम्म १ हजार ४ सय ७२ वटा टिप्पर दुर्घटना भएका छन् । यी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् ।
ट्राफिक महाशाखाको कमाण्ड सम्हालिसकेका पूर्वएआईजी जयबहादुर चन्दका अनुसार सामान्यतया बाइक र स्कुटर नै टिपरको निसानामा पर्ने गरेका छन् ।
उनका अनुसार होचा र छरितो भएकाले मोटरसाइकल र स्कुटर ससाना ठाउँमा समेत सजिलै छिर्ने भएकाले उनीहरु दुर्घटनाको सिकार बन्छन् ।
यसबाहेक पनि टिप्परबाट धेरै दुर्घटना हुने गरेको छ । चन्द भन्छन्, ‘अहिले त टिप्पर कलियुगको यमराज जस्तै बनेका छन् । कहाँ कति खेर दुर्घटना हुन्छ र कतिले ज्यान गुमाउँछन् पत्तै हुन्न ।’
सडक दुर्घटनामा सबैभन्दा धेरै र दर्दनाक घटना टिप्परका कारण भएको तथ्यले बताउ“छ । पूर्वडीआइजी केशव अधिकारीका अनुसार टिप्पर चालकले पर्याप्त ट्राफिक नियम पालना नगर्ने, तीब्र गतिमा चलाउने र अन्य सवारी साधनको हेलचेक्र्याइँका गर्दा दुर्घटनाको दर बढेको हो ।
महाशाखा प्रमुख एसएसपी ढकालका अनुसार पैदलयात्रीले जेब्राक्रसको प्रयोग नगर्नु, आकाशे पुलमुनिबाटै सडक पार गर्नु तथा मोटरसाइकल चालकहरुको गलत रबैया नै दुर्घटनाका मुख्य कारण देखिएका छन् ।
यसबाहेक रात्रिकालीन टिप्परका लागि गति तोकिए पनि चालकले त्यसको अवमुल्यांन गर्दा दुर्घटना न्यूनीकरण हुन सकेको छैन् ।
यस कारण बढ्दैछ टिप्पर आतंक ?
काठमाडौं उपत्यकामा बेलुका आठ बजेदेखि र बिहान सात बजेअघि मात्रै टिप्पर चलाउन पाउने नियम मापदण्ड तोकिएको डेढ वर्ष भन्दा बढी भएको छ ।
दिनभरि उपत्यकाका सडकमा टिप्परहरु देखिँदैनन् । जब बेलुकी ८ बज्छ तब टिप्परले रिङरोड भित्र प्रवेश पाउ“छन् । एकैपटक आउने टिप्परले सडक नै कब्जा गर्छन् ।
यसरी उपत्यका प्रवेश गर्ने प्रत्येक टिप्परले समान मात्रै भित्र्याउँदैनन् । त्रास र दुर्घटनाका अत्यासलाग्दा सकस पनि सँगै ल्याउँछन् ।
गिट्टी, बालुवा निकासी करबापत जिल्ला समन्वय समितिले कर लिएको तथ्यांक हेर्दा दिनहुँ सरदर ४ हजार बिल काटिन्छन्। अर्थात् राजधानीको भौतिक निर्माणमा आवश्यक कच्चा पदार्थ आपूर्तिका लागि दैनिक ४ हजार टिपर आउजाउ गर्छन्।
टिप्पर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष यादवलाल श्रेष्ठका अनुसार सामान्यतया टिप्पर ढुंगा, गिट्टी बालुवा लगायतका सामान बढी परिणाममा बोक्न सक्ने गरी बनाइएको हुन्छ ।
टिप्परको खराब पक्ष ‘ग्राउन्ड लेभल’ देख्न नसक्नु हो । सडकमा मोटरसाइकल वा स्कुटर ओभरटेक गरे या अनियन्त्रित रुपमा नजिकै आए दुर्घटना हुने खतरा बढी रहन्छ ।
यस भनाइमा पूर्वडआईजी अधिकारी पनि सहमत छन् । उनी भन्छन्, ‘एउटै दिशामा जाँदा टिपर चालकले आफूभन्दा अगाडिको सवारी साधन देखे पनि आफ्नो मुनि या देब्रेतर्फको सानो सवारी देख्न सक्दैनन् । अझ देब्रेतिरको चक्का समेत लुकिङ ग्लासमा देखिदैन ।’
यसबाहेक लोड भएका बोला भनेको ठाउँमा ब्रेक नलाग्ने समस्या पनि हुन्छ । यसले दुर्घटनाको जोखिम बढी रहन्छ । अधिकारीका अनुसार नीतिगत कमजोरीका कारण समस्या थपिएको छ ।
टिप्परबाट हुने दुर्घटना न्यूनीकरणका लागि सरकारले प्रयास गरिहेको छ । कहिले रातिमात्र गुड्न दिने त कहिले टाइमकार्ड लागु गर्ने । यी सबै प्रयास प्रभावकारी हुन सकेका छैनन् ।
जानकारहरुका अनुसार, दुर्घटना न्यूनीकरणका लागि दण्ड जरिवाना सम्बन्धी अहिले भएको व्यवस्था नै संशोधन गर्नुपर्छ । अर्कातिर नियमनकारी निकायको फितलो अनुगमन, चालकमा शिक्षाको कमीजस्ता समस्या पनि छन् । यसतर्फ पनि सबै सरोकारवालाको ध्यान पुग्नुपर्छ ।
प्रतिक्रिया