लकडाउनमा लागुऔषधका कारोवारीको नयाँ जुक्ति « Khabarhub

लकडाउनमा लागुऔषधका कारोवारीको नयाँ जुक्ति

खोलामा नुहाने बहानामा लागुऔषध ओसारपसार


६ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमानाकामा परिचालित प्रहरीका लागि लागुऔषधका कारोवारी र प्रयोगकर्ता चुनौती बनेका छन् । पूर्वीनाका काँकडभिट्टामा बन्दाबन्दी उल्लङ्घन गर्नेहरु धेरैजसो लागुऔषधसँग जोडिएको पाइएको छ ।

दुई साताअघि काठमाडौँबाट दुई युवा बा६च ७०१९ नंको कार लिएर काँकडभिट्टा आइपुगेका थिए । आफूलाई स्वास्थ्य शिविर चलाउन आएको स्वास्थ्यकर्मी बताउने उनीहरुमध्ये एकजनासँग चिकित्सकको परिचयपत्र समेत थियो । तर प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेललाई शङ्का लाग्यो । केरकार गर्दा दुवैजना लागुऔषध खोज्दै आइपुगेको पत्ता लाग्यो । उनीहरुले चिकित्सकको नक्कली परिचयपत्र बोकेका थिए ।

हाल कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखिएको छ भने दुवै युवालाई क्वारेन्टाइनमा राखिएको छ । मेचीनगरको क्वारेन्टाइनमा बस्नेहरुमा लागुऔषधका कारोवारी र प्रयोगकर्तासमेत छन् । बन्दाबन्दीमा मोटरसाइकल चलाएको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । दुईजना लागुऔषधका प्रयोगकर्ता केही दिनअघि क्वारेन्टाइनको झ्याल फोरेर राति भागेका थिए ।

यतिबेला भारतसँगको सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो गस्ती र अस्थायी शिविर छ । सुरक्षाकर्मीलाई छलेर भारततिर जान असम्भव भए पनि त्यस्ता व्यक्तिले असफल प्रयास भने गरिरहेकै छन् । काँकडभिट्टापारि भारतको पानीट्याङ्की, खोरीबारी, अधिकारी र बतासीमा लागुऔषध नेपालतिर आपूर्ति गर्ने अखडाहरु छन् । पहिले पसलमार्फत हुने किनबेच अहिले सीमा छेउका झुप्रा घर र खोलाको बगरबाट भइरहेको बताइएको छ ।

नाकाबाट आवतजावत ठप्प भएपछि लागुऔषधका कारोवारीले नयाँ नयाँ जुक्ति प्रयोगमा ल्याइरहेको सूचना पाएकाले प्रहरीलाई चनाखो रहन आग्रह गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताए । उनले खोलामा नुहाउने बहानामा लागुऔषध वारपार भइरहेको हुँदा सतर्क हुनुपर्ने बताए ।

‘नुहाउने बहाना गर्दै नेपालतिरबाट युवा मेची नदीमा जाने गर्दारहेछन्’, उनले भने, ‘भारततिरबाट पनि त्यसैगरी खोलामा आउँछन् र पानीमुनि नुहाएको बहाना गरी लागुऔषध दिँदारहेछन् ।’ खोलामा नुहाउन जानेमाथिसमेत प्रहरीले हाल निगरानी बढाएको छ । भारतसँग जोडिएको मेचीनगर नगरपालिकाको सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले २५ स्थानमा अस्थायी पोस्ट बनाएका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बन्दाबन्दीको समयमा २५ वटा मोटरसाइकल, एउटा स्कार्पियो र एउटा कार नियन्त्रणमा लिइएको बताए । उनका अनुसार ती सवारी साधन शङ्कास्पद लागुऔषध कारोवारीका हुन् ।

उनले बन्दाबन्दीमा सुरक्षा व्यवस्था कडा बनाइएको हुँदा सर्वसाधारण घरमै बसेको भए पनि लागुऔषधका प्रयोगकर्ता र कारोवारी भने सल्बलाइरहेको बताए । उनले लागुऔषधका प्रयोगकर्ताबाट समाजमा उत्पन्न हुनसक्ने चुनौती र समस्या समाधानका बारेमा स्थानीय सरकारसँग छलफल भइरहेको बताए । सीमा पार गरेर अब कोही पनि जान नसक्ने प्रष्ट पारे ।

मेचीनगर क्षेत्रबाटै झापा र अरु जिल्लामा लागुऔषधको धन्धा विगतदेखि नै सञ्चालन हुँदै आएको हुँदा कारोवारको जालो बलियो हुनसक्ने अनुमान गरिएको छ । मेचीनगर–१० को खयरडाँगीमा धरान, दमक, फिदिम, इटहरीलगायत विभिन्न शहरबाट लागुऔषध खोज्दै आएका युवालाई स्थानीय टोल समितिले केही दिनअघि भाटेकारवाही गर्दै लखेटेको थियो ।

लागुऔषध नियन्त्रण र प्रयोगकर्तालाई स्वस्थ जीवनमा फर्काउने अभियान चलाइरहेको नाइटचेस क्लब काँकडभिट्टाका प्रोडक्सन को–अर्डिनेटर सोमराज ढकालले नियमित सेवनकर्ताले कुनै कारणवश खान पाएन भने ७२ घण्टासम्म ‘सिक’ हुने बताए । त्यस्तो अवधिमा उनीहरुमा सहनै नसक्नेगरी शारीरिक र मानसिक पीडा हुने, पेट बटारिने, मांसपेशी बाउँडिने जस्ता समस्या देखा पर्ने उनले बताए ।

बन्दाबन्दीको अवस्थामा लागुऔषध खानका लागि त्यस्ता व्यक्तिले ज्यानको पर्वाह नगरी सीमा पार गर्ने, राति हिँडडुल गर्ने, चोरी र लुटपाट गर्ने गर्नसक्ने ढकालले बताए । उनीहरुलाई स्थानीय सरकारले खोजी खोजी छुट्टै क्वारेन्टाइनमा राखेर परामर्श दिने वा सरकारले नै लागू गरेको मौखिक प्रतिस्थापन विधि (ओएसटी)बाट औषधोपचार गर्ने उपाय भएको उनले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार  १२ : ५६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको