काठमाडौँ । नेपालमा व्यक्तिको मृत्यु हुने अनि मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण थाहा हुने समस्या दोहोरिँदै गएको छ । पहिलो मृत्युको घटनाबाटै सुरु भएको यो समस्या २० वटा घटनासम्म पनि दोहोरिरहेको छ ।
मंगलबार बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत ४६ वर्षीया महिलाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्र ती महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गर्यो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बैजनाथ गाउँपालिका–६ की महिलाको मृत्युपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
मृत्यु भएपछि मात्र कोरोना भाइरस संक्रमणको रिपोर्ट आएको यो घटना सबैभन्दा पछिल्लो हो । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको पनि मृत्युपछि मात्र संक्रमण पुष्टि भएको थियो ।
यी दुई घटनाका बीचमा नेपालमा जति पनि कोरोना भाइरसका कारण मृत्यु प्रमाणित भयो तीमध्ये धेरै जसोमा मृत्युपछिमात्र संक्रमण पुष्टि भएको छ ।
२० मध्ये १७ जनाको मृत्युपछि मात्र कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गरेको अपडेट तथ्यांकअनुसार नेपालमा असार ३ सम्ममा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
यीमध्ये १७ जनाको मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकी ३ जनाको मात्र मृत्युअघि नै संक्रमण पत्ता लागेको थियो ।
मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका घटना
१. जेठ २ गते, सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु ।
२. जेठ ४ गते बाँकेको नरैनापुरका २५ वर्षीय युवकको मृत्यु ।
४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु ।
४. जेठ १४ गते ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको मृत्यु ।
५. जेठ १० गते अर्घाखाँचीको भूमिका स्थान घर भएका ३५ वर्षीय पुरुष भारतबाट फर्किदा मृत्यु ।
६. जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका ३५ वर्षीय पुरुषको मृत्यु ।
७. जेठ १८ गते, बाजुराको बुढीगङ्गा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिकाको मृत्यु ।
८. जेठ २० गते पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुषको मृत्यु ।
९. जेठ २२ गते सुर्खेत पञ्चपुरी नगरपालिका १ का २० वर्षीय युवकको मृत्यु ।
१०. जेठ २० गते डोल्पाको जगदुल्ला गाउँपालिका ३ घर भएका ५८ वर्षीय पुरुषको मृत्यु ।
११. जेठ २३ गते कैलालीको धनगढी ४ की ५५ वर्षीया महिलाको मृत्यु ।
१२. जेठ २५ गते स्याङ्जा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको मृत्यु ।
१३. जेठ २८ गते अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको मृत्यु ।
१४. जेठ २८ गते पर्साको वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय युवकको मृत्यु ।
१५. जेठ ३० गते, बारा जिल्ला निजगढ नगरपालिका ६ योजना टोलका ५ वर्षीय बालकको मृत्यु ।
१६. जेठ ३१ गते गुल्मीको रेसुङ्गामा आइसोलेसनमा ३६ वर्षीय पुरुषको मृत्यु ।
१७. असार २ गते बाँकेकी ४६ बर्षीया महिलाको मृत्यु ।
मृत्युअघि संक्रमण पुष्टि भएका घटना
१. जेठ ८ गते गुल्मीका ४१ वर्षीय शिक्षकको मृत्यु ।
२. जेठ २१ गते दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु ।
३. जेठ २७ गते भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुषको मृत्यु ।
मृत्यु हुनेमा ४१–६० वर्ष उमेर समूहका बढी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अहिलेसम्मको तथ्यांकले नेपालमा मृत्यु हुनेमा सबैभन्दा बढी ८ जना ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी ६ जना २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् भने २० वर्षसम्मको उमेर समूहका ३ र ६० वर्ष माथिका ३ जना रहेका छन् ।
कहाँ चुक्दै छ सरकार ?
हुन त अहिले सरकारले पीसीआर परिक्षणको दायरा फराकिलो बनाउँदै लगेको छ । पीसीआर परीक्षण संख्याको दायरा दैनिक ५ हजारभन्दा बढीको संख्यामा पुर्याएको छ । व्यवस्थित परीक्षणमा भने सरकारका चुकेको देखिन्छ ।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका २० जना मध्य १७ जनाको मृत्युपछि मात्र कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट थाहा पाउनुले पनि सरकार कोरोना परीक्षणमा चुकेका जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
स्वाब संकलनका क्रममा प्राथमिकता नछुट्याउँदा मृत्यु भइसकेपछि मात्र संक्रमण भएको रिपोर्ट आउने समस्या दोहोरिएको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको भनाइ छ ।
उनी भन्छन्, ‘हाम्रो अहिले चलिआएको परीक्षण प्रणाली नै गलत छ । सुरुमा आरडीटी परीक्षण गर्ने अनि मात्र पीसीआर गर्ने प्रणालीका कारण परीक्षणमा ढिलाइ भइरहेको छ । अर्कातिर गम्भीर तथा अन्य रोग लागेका बिरामीहरूलाई प्राथमिकतामा राखेर परीक्षण गर्न नगर्दा थप समस्या भएको हो ।’
शंकास्पद मानिसको स्वाब कलेक्सन गरेर ल्याबलाई अर्जेन्ट भनेर पठाउँदा यस्तो घटना नदोहोरिने उनको भनाइ छ ।
यता काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झा धेरै नमूना परीक्षणका लागि आउने भएकाले सबैको पालैपालो गर्दा रिपोर्ट आउन समय लाग्ने गरे पनि इमजेन्सी हुनेहरुका लागि भने अगाडि राखेर रिपोर्ट दिन सक्ने बताउँछिन् ।
अर्जेन्ट छ भनेर जानकारी नहुँदा पनि समस्या बढेको उनको भनाइ छ । यसबाहेक क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका र आईसीयूमा भर्ना भएकाहरूको स्वाब ल्याबमा पठाउँदा तुरुन्त जानकारी नदिने परिपाटीका कारण पनि समस्या दोहोरिएको हो ।
अर्कातिर विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन स्थलमा पीपीई लगाएका स्वास्थ्यकर्मी, सुरुक्षाकर्मी र चालकसहित एम्बुलेन्स हुनुपर्ने भनिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको प्रोटोकलमा पनि क्वारेन्टाइन स्थलमा अनकल डाक्टरका साथै नर्स, एम्बुलेन्स अनिवार्य भनिएको छ ।
तर, मापदण्ड पूरा नगरेका क्वारेन्टाइन स्थलमै रोग नै थाहा नपाई ज्यान गुमाउनु परेको तितो यथार्थ सबैसामु छर्लङ्ग छ । अहिलेसम्मका घटनाले एकातिर कोरोनाको लडाइँमा सरकारको कमजोर धरातल देखिएको छ भने अर्कोतिर हाम्रो स्वास्थ्य प्रणालीको लापरबाही कति हदसम्म रहेछ भन्ने तथ्य उदाङ्गो पारेको छ ।
प्रतिक्रिया