यस्तो छ स्यानिटाइजर उत्पादक र आयातकर्ताको द्वन्द्व | Khabarhub Khabarhub

यस्तो छ स्यानिटाइजर उत्पादक र आयातकर्ताको द्वन्द्व

स्वास्थ्य मन्त्रालय भन्छ : आवश्यकता हेरेर निर्णय हुन्छ


३ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमणले ह्याण्ड स्यानिटाइजरको माग बढेपछि नेपाली उत्पादक र आयातकर्ता व्यवसायीबीच द्वन्द्व चलेको छ ।

नेपाली औषधि उत्पादकहरू स्यानिटाइजरको आयात रोक्नुपर्ने माग राखेर धर्नामा बसेका छन् भने आयातकर्ताहरू आयात गर्न पाउनुपर्ने माग राखेर स्वास्थ्य मन्त्रालय धाइरहेका छन् ।

नेपाल औषधि उत्पादक संघको आह्वानमा औषधि उत्पादनकहरू ७ बुँदे माग अघि सारेर असार २९ गतेदेखि औषधि व्यवस्था विभागअगाडि धर्नामा बसेका छन् ।

नेपाली औषधि उत्पादकहरूले असार पहिलो साता स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र औषधि व्यवस्था विभागका महानिर्देशक लगायत सम्बन्धित अधिकारीहरूलाई भेटेका थिए । उनीहरूले स्वास्थ्य मन्त्रालयमा मागपत्र पनि बुझाएका थिए ।

स्वास्थ्यमन्त्री ढकालले एकसाताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । असार बित्दा पनि माग पूरा नभएको भन्दै औषधि उत्पादकहरू आन्दोलित छन् ।

औषधि उत्पादकहरूका अनुसार सरकारले २०५१ सालमा औषधि नीति तुर्जमा गरी १० वर्षभित्र देशलाई औषधिमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो ।

घोषणा गरेजस्तो औषधिमा देशलाई आत्मनिर्भर बनाउन सरकारले प्रोत्साहन नगरेको उत्पादकहरूको आरोप छ ।

औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन माग राख्नु नराम्रो होइन । तर लकडाउन र कोरोना संक्रमणको जोखिमबीच औषधि उत्पादकहरू किन सडकमा छन् त ?

औषधि उत्पादकहरू सकडमै आएर आन्दोलन गर्नुको मुख्य कारण देश औषधिमा आत्मनिर्भर नभएर होइन । आन्दोलनको मुख्य कारण नेपालमा स्यानिटाइजर उत्पादन भए पनि विदेशबाट आयात नरोकिनु हो ।

लकडाउनपछि विश्वभर मास्क र स्यानिटाइजरको अभाव भयो । त्यसको प्रभाव नेपालमा पनि पर्‍यो । विभिन्न नगरपालिका र अस्पताल तथा स्थानीय तहहरूले स्थानीय स्रोतसाधनबाटै स्यानिटाइजर उत्पादन गर्न थाले । नेपाली औषधि उत्पादकहरूले पनि स्यानिटाइजर उत्पादन बढाए ।

कोरोना संक्रमणको सुरुवाती चरणमा स्यानिटाइजरलाई खास महत्व नदिएको भए पनि संक्रमण बढ्दै गएपछि औषधि व्यवस्था विभागले स्यानिटाइजर उत्पादनको मापदण्ड तोक्यो ।

ह्याण्ड स्यानिटाइजर उत्पादनको क्रम बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले असार २२ गते मन्त्रीस्तरीय निर्णयबाट ह्याण्ड स्यानीटाइजर दर्ता अनुमति लिने म्याद तीन महिना थप्यो ।

यसरी म्याद थपिएकोमा नेपाली औषधि उत्पादकहरू बेखुस बनेका छन् । दर्ताको म्याद थप्दा बजारमा गुणस्तरहीन उत्पादन बढ्ने उनीहरूको भनाइ छ ।

भारत लगायतका विदेशी स्यानिटाइजर आयात भएकोमा पनि उनीहरू अप्रसन्न छन् । नेपाल औषधि उत्पादक संघले आफ्नो ७ बुँदे मागको पहिलो बुँदामा स्यानिटाइजरकै कुरा उल्लेख गरेका छन् ।

संघका महासचिव विप्लव अधिकारीका अनुसार नेपाल स्यानिटाइजरमा आत्मनिर्भर भइसकेको छ । नेपालमै पर्याप्त मात्रामा उत्पादन भए पनि सरकारले आयात प्रोत्साहन गरेको अधिकारीको आरोप छ ।

‘हामीले केही समयअघि स्वास्थ्य मन्त्रीज्यूलाई भेटेर सरकारले गरेका निर्णयहरू कार्यान्वयन गरिदिनुस् भनेका थियौँ,’ महासचिव अधिकारीले खबरहबसँग भने, ‘हाम्रो माग नसुनी स्यानिटाइजर दर्ताको समय अवधि थप गरिदिनुभयो, हाम्रो माग नयाँ दर्ता नहोस् भन्ने होइन, गुणस्तरीय हुनुपर्‍यो, दर्ता भएरमात्रै बजारमा जानुपर्‍यो ।’

हाल दर्ता नभएका र गुणस्तर परीक्षण नभएका स्यानिटाइजर बिक्री भइरहेको उनको भनाइ छ ।

‘अहिले नै बजारमा बिक्री गर्ने र तीन महिनासम्ममा पनि दर्ता भए हुन्छ भन्ने स्थिति छ,’ अधिकारीले भने, ‘दर्ता भएकालाई मात्र बजामा जान दिनुपर्छ भन्ने हाम्रो माग हो, अहिले बजारमा गुणस्तरहीन धेरै स्यानिटाइजर भेटिएको छ ।’ उनका अनुसार हाल नेपाली बजारमा नेपाली र विदेशी उद्योगहरूसहित ४० वटा कम्पनीका १२० प्रकारका स्यानिटाइजर पाइन्छन् ।

नेपाली उत्पादकसँग हाल स्यानिटाइजर बनाउने कच्चा पदार्थ इथानोल ४ लाख लिटर मौज्दात छ । विदेशबाट समेत आयात भइरहेकाले नेपालमै उत्पादित स्यानिटाइजर बिक्री नहुने अवस्थामा रहेको संघका अधिकारीको भनाइ छ ।

‘अहिले पनि हामीसँग स्यानिटाइजर बनाउने ४ लाख लिटर इथानोल मौज्दात छ,’ संघका महासचिव अधिकारीले भने, ‘त्यो पनि विक्री हुने अवस्था छैन, दर्ताविनाका विदेशी स्यानिटाइजर बजारमा आएपछि हामी धराशायी अवस्थामै छौँ, त्यसैले हामीले आन्दोलन गरेका हौँ ।’

नेपाली औषधि उद्योगहरूमा दैनिक ३ लाख लिटर स्यानिटाइजर उत्पादन गर्न सक्ने कच्चा पर्दाथ रहेको उनले बताए ।

‘स्यानिटाइजरको कच्चा पदार्थ इथानोल हाम्रै देशका चिनी मिलहरूमा प्रशस्त उत्पादन हुन्छ, त्यो इथानोल रक्सी बनाउन प्रयोग हुन्थ्यो,’ महासचिव अधिकारीले भने, ‘अहिले स्यानिटाइजर बनाउन प्रयोग हुन्छ । हामी दैनिक ३ लाख लिटर स्यानिटाइजर उत्पादन गर्न सक्छौँ ।’

महासचिव अधिकारीका अनुसार संघको पहलिो माग नै दर्ता नभएका र गुणस्तर परीक्षण नगरिएका स्यानिटाइजर बिक्री गर्न दिन हुँदैन भन्ने हो । मागहरू पूरा नभएसम्म आन्दोलन नरोकिने पनि उनले बताए ।

के भन्छ स्वास्थ्य मन्त्रालय ?

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बजारको मागको अवस्था हेर्दै स्वदेशी र विदेशी दुबै व्यवसायीको माग समायनुकूल सम्बोधन गर्ने बताउँछन् । डा. गौतमका अनुसार औषधि उत्पादकहरूले स्यानिटाइजर आयात रोक्न माग राखेपछि आयातकर्ताहरूले आयात गर्न पाउनुपर्ने माग राखेका छन् ।

‘स्यानिटाइजरको विषयमा आन्दोलन गर्नेहरू पनि दुई थरिका छन्, एकथरि आयात बन्द गर्नुपर्छ भनेर आन्दोलनमा छन्, अर्कोथरि विदेशबाट ल्याउनुपर्छ भनेर आन्दोलन गर्नेहरू छन्,’ प्रवक्ता डा. गौतमले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयले देशमा कति स्यानिटाइजर उत्पादन हुन्छ, कति आयात हुन्छ, त्यसको मूल्यांकन गरेर निर्णय गर्छ ।’

स्वदेशी उत्पादन र विदेशी आयातको अवस्था ध्यानमा राखेर अगाडि बढ्ने डा. गौतमले बताए । उनले भने, ‘नेपालमै धेरै छ भने विदेशबाट किन ल्याउनुपर्‍यो, नेपालको मात्र हुँदा मूल्यवृद्धि भयो पनि सोच्नुपर्छ, धेरै आयात हुँदा नेपाली उत्पादनले बजार पाएन भने पनि सोहीअनुसार मूल्यांकन गर्नुपर्छ ।’

स्वदेशी उत्पादन र आवश्यकता हेरेर मन्त्रालयले निर्णय गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १० : ३२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड