साउनमा सुनसान पाशुपत क्षेत्र | Khabarhub Khabarhub

साउनमा सुनसान पाशुपत क्षेत्र



काठमाडौं । गोकर्णकी ४० वर्षीया नीरु शर्मा हरेक वर्ष साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न पुग्थिन् । सोमबारको व्रत बसेर पशुपतिनाथ पुग्न पाउँदाको खुसी बयान नै गर्न नसकिने उनको अनुभव छ ।

नीरुजस्ता हजारौँ भक्तजनले यसपालि साउनमा पशुपतिनाथ दर्शन गर्न पाएका छैनन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन भएपछि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द छ ।

दर्शनार्थी भक्तजनहरूको घुइँचो हुने साउन महिनामा हिन्दू धर्मावलम्बीका आराध्यदेव पशुपतिथानको मन्दिर रहेको पवित्र पाशुपत क्षेत्र यस वर्ष सुनसान छ ।

लकडाउनपछि पशुपतिनाथ मन्दिरको चारवटै ढोका बन्द छन् । थोरै संख्यामा पशुपतिनाथ पुग्ने भक्तजनहरू बाहिरी प्रवेशद्वारबाटै फर्किने गरेका छन् । लकडाउन भएपछि नित्य पूजामात्र हुने गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसपालि चन्द्रमास अर्थात तिथिअनुसार साउनमा पाँच वटा सोमबार परेका छन् । आउने सोमबार तेस्रो हो । सौर्यमास अनुसार साउनमा चारवटा सोमबार परेका छन्, आउँदो सोमबार पहिलो हो ।

सनातन परम्परामा सबै धार्मिक र सांस्कृतिक गतिविधिहरू चन्द्रमासअनुसार हुन्छन् । चन्द्रमासअनुसार यही साउन १९ गते श्रावणको अन्तिम दिन हो ।

यसपालि श्रावणको पहिलो दिन (श्रावण कृष्णपक्ष प्रतिपदा) सोमबार परेको थियो । अन्तिम दिन श्रावण शुक्लपक्ष पूर्णिमा) पनि सोमबार नै परेको छ ।

साउनमा सोमबारको यस्तो संयोगलाई भक्तजनहरू विशेष महत्वको मान्छन् ।

यसवर्ष साउनमा पशुपतिनाथ दर्शन गर्न नपाएकोमा नीरु र उनीजस्ता हजारौँ भक्तजन र दर्शनार्थीहरू खिन्न देखिएका छन् ।

‘कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन गरेको छ,’ नीरुले खबरहबसँग भनिन्, ‘अहिले सबै क्षेत्रहरू बिस्तारै खुल्दै गएका छन्, सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ पनि खोलिदिए हुने थियो ।’

त्यसो त गोकर्णस्थित गोकर्णेश्वर मन्दिरमा पनि साउन महिनाभरि दर्शन र पूजा अर्चना गर्नेहरूको भिड हुन्छ । नीरु पनि गोकर्णेश्वर जान्छिन् तर पशुपतिनाथको दर्शन नगरी चित्त बुझ्दैन । उनले भनिन्, ‘आउने सोमबार गेट बाहिरबाटै भए पनि भगवानलाई ढोगेर आउँछु, बरु पूजा घरमै गर्छु ।’

साउन महिनाप्रति हिन्दु महिलाहरूको विशेष आस्था रहेको छ । हिन्दु महिलाहरू साउनको सोमबार व्रत बसेर शिव मन्दिरमा पूजाअर्चना र दर्शन गर्छन् । हरियो चुरा र विवाहिताहरूले हरियो पोते लगाउँछन् । हातमा मेहेन्दी लगाउँछन् ।

भक्तजनहरू पशुपतिनाथको ढोका खुल्ने प्रतीक्षामा छन् ।

साउनमा काठमाडौं उपत्यका र आससपासबाट ठूलो संख्यामा भक्तजनहरू पशुपतिनाथ दर्शनका लागि आउने गर्छन् । भारतीय हिन्दूहरू पनि आउने गर्छन् । यस वर्ष भने सुनसान छ ।

सरकारको निर्णयअनुसार हुन्छ : कोष

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर साउनमै खुल्ने/नखुल्ने निश्चित नभएको जनाएको छ । ‘सरकारले बढी भिडभाड हुने स्थानमा लकडाउन खोलेको छैन,’ कोषका सदस्य सचिव डा. प्रदीप ढकालले खबरहबसँग भने, ‘सरकारले खोल्न निर्देशन दियो भने कोषले पालना गर्नेछ ।’

लकडाउन साउन ७ गतेसम्म जारी छ । त्यसपछिको अवस्थाबारे निर्णय हुन बाँकी छ ।

सरकारले सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खोल्न दिएमा कोषले भक्तजनलाई व्यवस्थित गर्न सक्ने सदस्य सचिव ढकालले बताए । उनका अनुसार कोरोना संक्रमणबाट भक्तजनहरूलाई जोगाउने उपायहरूबारे कोषमा छलफल भएको छ र सोही अनुसारको तयारी पनि भएको छ ।

ढकाल भन्छन्, ‘विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डअनुसार सामाजिक दूरी कायम हुनेछ, जसका लागि हामीले एक मिटरको दूरीमा गोलाकार चिह्न लगाइसकेका छौँ ।’

उनका अनुसार मन्दिर प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था हुनेछ । त्यस्तै प्रवेश गर्न र बाहिरिन छुट्टाछुट्टै गेट हुनेछन् । दूरी कायम गरेरमात्र दशनार्थीलाई अघि बढाइनेछ । मास्क अनिवार्य गरिनेछ ।

कोषको यस्तो तयारी भए पनि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि चाँडै खुला हुने/नहुने चाहिँ सरकारको निर्णयमा भर पर्नेछ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार  १२ : १८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर