लिदी पहिरोको पाठ : जोखिम क्षेत्रका बासिन्दाको स्थानान्तरण अनिवार्य | Khabarhub Khabarhub

लिदी पहिरोको पाठ : जोखिम क्षेत्रका बासिन्दाको स्थानान्तरण अनिवार्य

सिन्धुपाल्चोकका ९६ स्थान संरक्षण गरेर बस्न सकिने, ७१ स्थान जोखिममा



काठमाडौं– गत शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा पहिरोले ठूलो जनधन क्षति गर्‍यो ।

लिदीमा करिब ८ सय मानिस बसोबास गर्थे । अविरल वर्षाका कारण गएको पहिरोले एउटा गाउँ नै बगाउँदा २२ जनाको मृत्यु भइसकेको छ भने १७ अझै बेपत्ता छन् ।

पहिरोबाट ६ जनालाई जीवतै उद्धार गरिएको थियो जसमा ५ जना उपचाररत रहेको र एकजना फर्किसकेको गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले बताए । उनका अनुसार एक जनाको सिभिल अस्पताल काठमाडौं र ४ जनाको सदरमुकाम चौतारास्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोपीडितहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।

‘टेन्ट हालेर गोठ बनाइएको छ, राहतका सामग्रीहरू दिइरहेका छौँ,’ उनले भने, ‘सोमबार मृतकका परिवारलाई १ लाख र प्रतिमृतक थप २५ हजारका दरले दिएका छौँ ।’

जुगल गाउँपालिकाका अन्य स्थानमा साढे ५ सय घरधुरी जोखिममा रहेको समेत उनले जानकारी दिए । ती परिवारलाई गाउँपालिकाले त्रिपाल दिई सुरक्षित स्थानमा सर्न आग्रह गरेको उनले बताए ।

हरेक वर्ष प्राकृतिक विपद्ले सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याइरहेको छ । यस वर्षको मनसुन सुरु भएसँगै सिन्धुपाल्चोकको ब्राहबिसेमा २० जनाले ज्यान गुमाएका थिए ।

७१ स्थानमा जोखिममा: भुगर्भविद्

प्राधिकरणका भूगर्भविद् लेखप्रसाद भट्टका अनुसार प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेको थियो ।

त्यसमा ७५ स्थान सुरक्षित, ९६ स्थान संरक्षण गरेर बस्न सकिने र ७१ स्थान जोखिममा रहेको पाइएको थियो । पहिले गरिएको अध्ययनले लिदीको माथिल्लो क्षेत्रमा नभई तल्लो क्षेत्रमा समस्या देखिएको उनले बताए । जल तथा मौसमको अवस्था अनुसार जोखिम क्षेत्र बदलिन सक्ने उनको भनाइ छ ।

२०७४ सालमा गरिएको अध्ययनले लिदीलाई संरक्षण गरेर बस्न सकिने देखाएको थियो ।

जोखिम क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्नैपर्छ

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको बताए ।
सुरक्षाका हिसाबले बस्न उपयुक्त नदेखिएका स्थानहरूका जनतालाई वैकल्पिक व्यवस्था मिलाउनुपर्ने उनको तर्क छ ।

‘जमीनसँग मानिसको जीवन जोडिएको हुन्छ । कतिपयले पुर्खाको थातथलो छोड्न हुँदैन पनि भन्न सक्नुहुन्छ’, उनले भने, ‘जोखिममा भएका जनतालाई उचित प्रबन्ध मिलाएर स्थानान्तरण गराउनैपर्छ । अन्यथा वर्षेनी यस्तै दुर्घटनाको जोखिम रहन्छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सिन्धुपाल्चोकमा भएको ठूलो जनधनको क्षति अत्यन्तै दुखद् भएको बताए । सिन्धुपाल्चोकबारे विगतका गरिएका अध्ययनहरूको समीक्षा गर्नुका साथै नयाँ अध्ययन गर्न विभिन्न निकायसँग समन्वय गरी प्राधिकरणले सहयोग गर्ने उनको भनाइ छ ।

ज्ञवालीले विगतमा भएका अध्ययनहरूको समीक्षाको काम सुरु गर्न प्राधिकरणका विज्ञ तथा कर्मचारीलाई निर्देशन दिएका छन् । स्थानीय तह, प्रदेश र केन्द्रले गर्ने काम स्पष्ट गरेर अघि बढ्दा समस्या समाधानमा थप सहज हुने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आगामी बिहीबार स्थानीय तहका जनप्रतिनिधिहरू लगायतसँग छलफल गर्दैछ । सोही कार्यक्रममा प्राधिकरणको विज्ञ टोलीले सिन्धुपाल्चोकमा जोखिम क्षेत्रको बारेमा विस्तृत जानकारी दिने जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ८ : ५९ बजे

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को