सूर्यको आराधना गर्ने पर्वछठ शुरु, यसरी गरिन्छ पूजा « Khabarhub

सूर्यको आराधना गर्ने पर्वछठ शुरु, यसरी गरिन्छ पूजा


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठपर्व नसकिएसम्म बर्तालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साजसज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति शुरु भएको थियो । कात्तिक शुक्ल चतुर्थीका दिन छठस्थलमा सरसफाइ एवं स्नान गरेका बर्तालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खिर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ ।

यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका अनिल झा बताउँछन् ।

षष्ठीका दिन बर्तालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवं छठीमातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पकवान, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ ।

साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ । अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो ।

कात्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्गग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहित महिला पुरुषले पतिपत्नीको दीर्घायु एवं अविवाहित केटाकेटीले सुयोग्य वर वधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताए ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको शुरुआत भएको अनुयायीको भनाइ छ ।

यस वर्ष कात्तिक शुक्ल षष्ठी अर्थात् मङ्सिर ५ गते शुक्रबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् मङ्सिर ६ गते शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

कोरोनाका कारण राजधानीमा विगत वर्षजस्तो छठको रौनक छैन । यस वर्ष भने कोरोना महामारीका कारण राजधानीका छठस्थलमा विधिमात्र पूरा गर्न प्रशासनले आह्वान गरेको छ । कोरोना फैलन सक्ने भएकाले छठस्थलमा रात नबिताउनसमेत प्रशासनले निर्देशन दिएको समाजका अध्यक्ष सिंहले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : १४ बजे

बराम जातिको विशेष वा स्वायत्त क्षेत्र सुनिश्चित नगरेसम्म मत नदिने संघको घोषणा

काठमाडौं– नेपाल बराम संघले बराम जातिको थातथलोलाई समेटेर विशेष, संरक्षित

काठमाडौं महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा

जेन-जीका नाममा लुटिएको पेस्तोल कुखुराको खोरमा भेटियो, एकजना पक्राउ, अर्का युवा फरार

झापा– गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा लुटिएको पेस्तोल,

जेनेभामा अमेरिका–इरान आणविक संवाद

एजेन्सी– मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य

उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना

काठमाडौं– सिंहदरबार वैद्यखाना फेरि लयमा फर्कन थालेको छ । विसं