आज विवाह पञ्चमी, कोरोना महामारीले छैन उल्लास | Khabarhub Khabarhub

आज विवाह पञ्चमी, कोरोना महामारीले छैन उल्लास


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ ।

त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । तर कोरोना भाइरसको महामारीले छोटो विधिबाट महोत्सव मनाइँदैछ । कोरोना भाइरसको महामारीले जनकपुरधाममा यो वर्ष विगतजस्तो उल्लास छैन ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेको बताइन्छ । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्ममा सहभागी हुन्छन् ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी हुने गर्छन् ।

रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने जनविश्वास छ ।

उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यतासमेत छ ।

यस वर्ष भने कोरोना महामारीका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रमसमेत संक्षिप्त विधिबाट भौतिक दूरी कायम गरी मनाइने जनाइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ३३ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र