प्रधानमन्त्रीज्यू ! वैदेशिक रोजगारीमा जाने क्रम साँच्चै घटेको हो ? « Khabarhub

प्रधानमन्त्रीज्यू ! वैदेशिक रोजगारीमा जाने क्रम साँच्चै घटेको हो ?


७ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७७/७८ लागि सरकारको नीति तथा कार्यक्रमाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै आफ्नो सरकार बनेपछि रोजगारीका लागि विदेश जाने क्रममा न्युनता आएको बताए ।

उनले भने, ‘अहिले यो सरकार बनेपछिका दुई वर्षमा भन्ने हो भने विदेश जानुपर्ने स्थितिमा न्युनता आएको छ । विदेश जाने क्रममा न्युनता आएको छ ।’

प्रधानमन्त्रीको भनाइअनुसार उनको कार्यकालमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।

साँच्चै प्रधानमन्त्रीले भनेझैँ वर्तमान सरकार गठन भएपछि रोजगारीका लागि विदेश क्रम घटेको छ ?

वैदेशिक रोजगार विभागको तथ्यांकले प्रधानमन्त्री ओलीको दाबी गलत रहेको देखाउँछ । बितेका पाँच आर्थिक वर्षको तुलनामा पछिल्ला दुई आर्थिक वर्षमा रोजगारीका लागि विदेश जाने क्रम झन बढेको देखिन्छ ।

वर्तमान सरकार २०७४ फागुन पहिलो साता गठन भएको हो । सरकार गठन हुँदा आर्थिक वर्ष २०७४/७५ को सात महिना बितेको थियो । उक्त वर्ष ३ लाख ३१ हजार ६६५ पुरुष र २२ हजार ४१७ महिला गरी ३ लाख ५४ हजार ८२ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएका थिए ।

उक्त आर्थिक वर्षको पाँच महिनामात्र वर्तमान सरकारले काम गरेको हुनाले सरकारलाई शंकाको सुविधा दिऔँ ।

त्यसपछि दुई आर्थिक वर्षका तथ्यांक हेरौँ ।

आर्थिक वर्ष २०७५/७६ पूर्णरूपमा वर्तमान सरकारको हो । उक्त वर्ष ४ लाख ७६ हजार ७०५ पुरुष र ३२ हजार १२३ महिला गरी ५ लाख ८ हजार ८२८ जनाले श्रम स्वीकृति पाएका छन् ।

चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा कुल २ लाख ९१ हजार ७६ जनाले श्रम स्वीकृत पाएका छन् ।

चालु आर्थिक वर्षको चैत सुरुदेखि रोजगारीका लागि विदेश जाने क्रम रोकिएको छ । फागुनमा ४५ हजार ४६८ पुरुष र ३९८२ महिला गरी ४९ हजार ४५० जनाले श्रम स्वीकृत पाएका छन् ।

कोरोना भाइरस संक्रमणको संकट नपरेको भए ६ महिनालाई आधार मान्दा चालु आर्थिक वर्षमा ५ लाख ८२ हजारले श्रम स्वीकृति लिएका हुने थिए ।

आर्थिक वर्ष २०७५/७६ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ४३.७१ प्रतिशतले बढेको छ । पछिल्ला सात वर्षमा यो नै सबैभन्दा बढी वृद्धि दर हो । चालु आर्थिक वर्षको ६ महिनाको तुलना गर्दा १४ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ६३ हजार ३०४ पुरुष र २० हजार १८९ महिला गरी कुल ३ लाख ८३ हजार ४९३ जनाले श्रम स्वीकृति पाएका थिए ।

आर्थिक वर्ष २०७२/७३ मा ३ लाख ८४ हजार ७९७ पुरुष र १८ हजार ३७७ महिला गरी कुल ४ लाख ३ हजार १७४ जनाले श्रम स्वीकृति पाएका थिए । आर्थिक वर्ष २०७१/७२ मा ५ लाख १३ हजारले र आर्थिक वर्ष २०७०/७१ मा ५ लाख २७ हजार ८१४ जनाले श्रम स्वीकृति पाएका थिए ।

पछिल्ला पाँच आर्थिक वर्षमा वर्तमान सरकारले पूरा गरेको आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीमा गएको तथ्यांकले देखाउँछ । चालु आर्थिक वर्षको ६ महिनाको दरअनुसार गत आर्थिक वर्षको भन्दा बढी नेपाली कामदार विदेश गएका छन् ।

पछिल्ला सात आर्थिक वर्षमध्ये २०७०/७१ र २०७१/७२ मा ५ लाखभन्दा बढी नेपाली कामदार विदेश गएका थिए ।

आर्थिक वर्ष २०७१/७२ को तुलनामा आर्थिक वर्ष २०७२/७३ मा वैदेशिक रोजगारीमा जानेको संख्या २१ प्रतिशतले घटेको देखिन्छ । यसैगरी २०७३/७४ मा ४.८८ प्रतिशतले र २०७४/७५ मा ७.६६ प्रतिशतले घटेको देखिन्छ ।

वर्तमान सरकारको कार्यकालका पछिल्ला दुई वर्षमा वैदेशिक रोजगारीमा जाने संख्यामा भएको वृद्धिदरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभामा गरेको दाबी सरासर झुठो ठहर्छ । प्रधानमन्त्रीले यो सरकार बनेपछि विदेश जाने क्रममा न्युनता आएको भनेर संसदलाई ढाँटेको देखिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ४९ बजे

चाडपर्वले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर

गोवर्द्धन पूजा,  गोरू तिहार र म्ह पूजाको महत्त्व

काठमाडौँ– यमपञ्चक अन्तर्गत तिहारको चौथो दिन गोवर्द्धन पूजा, गोरू तिहार र

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

दाङ- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता