जाजरकोट- कुशे गाउँपालिकाले ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको छ ।
गाउँपालिकाले अधिकांश बजेट सडक निर्माणमा लगाएर १२ वटा ग्रामीण सडक निर्माणलाई तीव्रता दिएको हो । “सडक निर्माण नै यहाँको पहिलो प्राथमिकता हो”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले भने, “अहिले यहाँको अधिकांश सडकको ट्याक खोलिसकेको छ ।” उनका अनुसार जुम्लासँग सिमाना जोडिएको कुशे गाउँपालिकामा जाजरकोट–जुम्ला सडक यही गाउँपालिका भएर जान्छ । सदरमुकाम रहेको भेरी नगरपालिकासँग समेत कुशे जोडिएको छ ।
उपल्लो भूभागमा हिमाल र तल्लो भागमा खेतीयोग्य जमिन रहेको कुशे गाउँपालिकाले टापुचौर–सौरेर्नी सडक, साँदी बिसौना–भार्मा सडक, तारेचौर–साधलाग्नी सडक, एक्ले खेत–थर्पू सडक, गाड समाइला–हाँनी सल्ला सडक र वडा नं ७ गमौरी सडक निर्माण कार्यलाई तीव्र पारेको छ । त्यस्तै साँदी बिसौना–जरगाउँ सडक, दम्दाला–बाटुल्ले कृषि सडक, डाँडाखेत वडा नं ९ कार्यालय ग्रामीण सडक र डाँडाखेत वडा नं ९ सडक निर्माण कार्य जारी रहेका छन् भने प्रदेश सरकारको सहयोगमा काफलपाटादेखि धाउनी सडकको निर्माण पनि जारी रहेको गाउँपालिकाले जनाएको छ ।
निर्माण भएका अधिकांश कच्ची सडकमा यातायातका साधन सञ्चालनमा आएको अधिकृत गिरीले जानकारी दिए । अधिकांश कच्ची सडक निर्माण सम्पन्न भएकाले यातायात साधनसमेत सञ्चालन आएको र अर्को वर्षदेखि सबै सडकलाई स्तरोन्नतिको काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । सडक निर्माण कार्य जारी रहेसँगै गाउँ गाउँमा बजारीकरणको अभ्याससमेत शुरु भएको छ ।
पाँच ठाउँमा रहेका बजारमा स्तरोन्नति भएको छ । कुशे गाउँपालिका–पाँचकाटिया, बाटुल्लेचौर, सादी बिसौना, वडा नं १ को तारेचौर र वडा नं २ को टापुचौरको बजारबाट कपडा, खाद्य वस्तु तथा कृषि उपजका सामग्रीको आयात र निर्यातसमेत हुँदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र रहेका २० वटा सानाठूला खोलामा झोलोङ्गे पुल निर्माण गरिएको छ ।
पुल निर्माण भएसँगै एक ठाउँबाट अर्को ठाउँमा जानका लागि सहज भएको गाउँपालिकाले जनाएको छ । सडक निर्माणसँगै विभिन्न नयाँ व्यवसाय गरेर आम्दानी गर्ने व्यवसायीसमेत थपिएका गाउँपालिकाले जनाएको छ ।
३३ वटा नयाँ व्यवसाय गरेर आम्दानीको स्रोत बनाई अर्थ उपार्जन गरिरहेको अधिकृत गिरीले जानकारी दिए । सडकले छोएसँगै यहाँ उत्पादन हुने आलु, सुन्तला, तोरी र अलैँची बजारसम्म पुर्याउन सहज भएको छ । गाउँपालिकाको कृषि शाखाका धीरेन्द्र बस्नेतका अनुसार यहाँबाट २५० टनको हाराहारीमा आलु, ३०० टन सुन्तला, २५० मुरी तोरी, एक टन अलैँची उत्पादन भई बजारसम्म जाने गरेको छ ।
पाँचकाटिय, बाटुलल्ले, टापूचौर, घरङ्गा र भार्मामा होटल सञ्चालनमा आएका छन् । कच्ची सडक निर्माणसँगै प्रहरीलाई तोकिएको ठाउँमा पुग्न सजिलो भएको बताएको छ । सडक पहुँच भएसँगै सुरक्षित सुत्केरी हुनेको दरसमेत बढेको पाइएको छ । असुरक्षित सुत्केरी हुने दर घटेको छ । पाँच ठाउँमा रहेका स्वास्थ्य चौकीको स्तरोन्तिका साथै नयाँ ठाउँमा स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको छ ।
कस्तो छ कुशे गाउँपालिका ?
समुद्री सतहबाट एक हजार ७५ मिटर उचाइदेखि शुरु भएको यो गाउँपालिकामा चार हजार ३८८ मिटर उचाइमा कुशे पाटन पर्दछ । गाउँपालिका अन्तर्गतका सरुगाड र चैयागाड दुई ठूला जलाधारको प्रमुख स्रोतसमेत कुशे पाटन रहेका छन् ।
महत्वपूर्ण विभिन्न प्रजातिका जडीबुटी, बहुमूल्य रत्नपत्थर र काइनाइट टुरमालिन पाइने यस क्षेत्रमा कुशे पाटनको फेदीमा विश्वको दुर्लभ रेडपाण्डाको वासस्थान रहेको छ । जिल्लाकै सामरिक महत्व बोकेको जुम्ला र जाजरकोटको सीमाका रुपमा रहेको कुशे पाटन भएकाले नै कुशे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुशे गाउँपालिका राखिएको छ ।
फलफूल उत्पादनको पकेट क्षेत्रका रूपमा लिइएको यो गाउँपालिकाको साविकको ढिमे गाविसमा सुन्तला र आलुको व्यावसायिक खेती गरिन्छ भने साविकको टालेगाउँ र अर्छानी गाविसमा काइनाइट र टुर्मालिनजस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ । बीस हजार ६२१ कूल जनसङ्ख्या रहेको यो गाउँपालिकाको कूल क्षेत्रफल २७३.९७ वर्ग किलोमिटर रहेको छ ।
प्रतिक्रिया