'प्रचण्ड-माधव' गोप्य सहमतिको दाबीले झस्किए ओली, पार्टीभित्र प्रचण्ड हावी | Khabarhub Khabarhub

‘प्रचण्ड-माधव’ गोप्य सहमतिको दाबीले झस्किए ओली, पार्टीभित्र प्रचण्ड हावी



काठमाडौं- चार महिनाको माथापिच्छीपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अन्ततः सभामुखको उम्मेद्वार टुंग्याएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एक अर्कालाई गलाउने रणनीतिमा लागे पनि तत्काललाई त्यसको लाभ प्रचण्डलाई मिलेको देखिएको छ ।

एकाएक पार्टीभित्र कसरी प्रचण्ड हावि भए, वा ओली कमजोर भए त यसको पृष्ठभूमीबारे विश्लेषकहरुको भनाई विभाजित छ । तर पनि पार्टीभित्र ओली कमजोर र प्रचण्ड बलियो हुँदै गएको तथ्यलाई तत्कालै नकार्ने अवस्था भने छैन ।

प्रचण्ड – माधवको गोप्य सहमति !

वाम विश्लेषक डा. केपी शर्माका अनुसार पार्टी र सरकारमा एकताको मर्मलाई समेत लत्याउँदै सबै ठाउँ आफैं सर्वैसर्वा हुने केपी ओलीको प्रवृत्ती नै प्रचण्डका लागि लाभदायक बन्दै गयो ।

‘गतिशिल अवस्थाका प्रचण्डलाई पार्टी एकताको डेढ वर्षसम्म ‘पंगु’ झै बनाउँनु अर्का अध्यक्ष ओलीको गम्भीर भूल थियो । त्यसलाई तोड्न प्रचण्डले मेहनत गरे । अन्ततः ओलीमा मात्र केन्द्रित शक्तिलाई आफूतिर तान्न सफल पनि भए ।’ भित्रिया स्रोतको हवला दिदै शर्मा भन्छन्,-‘प्रचण्ड र माधवबीच गोप्य सहमति समेत भएको छ ।’

भैंसेपाटीस्थित वामदेव गौतम निवासमा सचिवालयका ९ जनामध्ये (५ जना) प्रचण्ड, खनाल, नेपाल, गौतम र श्रेष्ठबीच भएको छलफलपछि आफू एक्लिएको अनुभूति गरेका प्रधानमन्त्री ओलीले प्रचण्ड अनुकुलका निर्णयमा प्रतिवाद गर्न नचाहेको देखिएको छ ।

गत भदौमा उपचारका लागि ओली दोस्रो पटक सिंगापुर गएका बेला बैठक राख्न सक्ने अधिकार पाएका प्रचण्ड र माधव नेपालबीच गोप्य सहमति भएको शर्माले दावी गरे ।

‘प्रतिकूल अवस्था आउनेवित्तिकै ओली इतरका सबै पक्षधर एक हुने । प्रचण्डलाई पार्टीको सबै कामको जिम्मा दिने र प्रधानमन्त्री माधव नेपाललाई बनाउने गरी प्रचण्ड र माधवबीच लिखित सहमति नै भएको छ । त्यसको छनक २३ पुसको वामदेव निवासमा भएको पाँच भाइ भेलाले समेत दियो’ शर्माले भने ‘प्रचण्ड माधवको गोप्य सहमतिको सुइको पाएपछि नै ओलीले ४ मंसिरबाट प्रचण्डलाई पनि कार्यकारी हैसियत दिए ।’

अल्पमतको भय

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली आफ्नो अडानबाट पछी हट्नुपर्ने कारण पार्टीभित्र आफू प्रतिकूल बन्दै गएको गठबन्धन समेत हो ।

‘४ मंसिरको सचिवालय बैठकबाट कार्यकारी अध्यक्षको भूमिका पाएर फुरुङ्ग भएका प्रचण्डको सक्रियताले पार्टी चलायमान मात्र भएन उनी प्रति शक्ति पनि केन्द्रित भयो’ राजनीतिक विश्लेषक डा.गोविन्द गुरागाँईले भने, ‘ततपश्चात पार्टीभित्र रोकिएको एकीकरणका बाँकि कामले समेत द्रूतता पाएको देखियो ।’

प्रचण्ड कार्यकारी भूमिकामा पुगेपछि खुमलटारतिर लाग्ने गरेको शीर्ष नेताहरुको लर्को यसको मानक भएको गुरागाँईको टिप्पणी छ । भैंसेपाटीस्थित वामदेव गौतम निवासमा सचिवालयका ९ जनामध्ये (५ जना) प्रचण्ड, खनाल, नेपाल, गौतम र श्रेष्ठबीच भएको छलफलपछि आफू एक्लिएको अनुभूति गरेका प्रधानमन्त्री ओलीले प्रचण्ड अनुकुलका निर्णयमा प्रतिवाद गर्न नचाहेको समेत हुन सक्ने उनी बताउँछन् ।

‘सबै भन्दा ठूलो भय ओलीमा अल्पमतकै रह्यो, प्रचण्ड–माधव, वामदेवको समीकरण बन्दा आफूले पार्टीको ३५ प्रतिशत हिस्सा मात्र नियन्त्रणमा राख्न सक्ने अवस्थाबारे ओली जगजाहेर थिए । त्यसैले पनि उनी प्रचण्डका लागि सहज बनिदिए,’ गुरागाँईले भने ‘त्यसको असर स्वभाविक रुपमा सचिवालयमा त देखिने नै भइगयो ओलीसँग विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापाबाहेक अरु हुँदै भएनन्।’

यस्तो अवस्थामा अडानमा बस्नुभन्दा अन्तिम समयमा सिंगो पार्टीको नेताको सन्देश दिन ओलीले सभामुखमा सापकोटाको नाम स्वीकारेको गुरागाँईले दावी गरे ।

एमसीसीमा लेनदेन

बाहिर पार्टी एकताको मर्मबमोजिम महाधिवेशन अघिसम्म मिलेरै अघि बढ्ने सन्देश दिन खोजे झै गरेर ओलीले सभामुखमा अग्नि सापकोटालाई स्वीकारेको जस्तो देखिए पनि यथार्थ भने त्यस्तो नरहेको बरिष्ठ अधिवक्ता श्रीहरि अर्याल बताउँछन ।

‘चार महिनासम्म प्रयत्न गर्दा पनि आफू अनुकुलको सभामुख बनाउन ओली असमर्थ हुनुको अर्थ उनको चाहानालाई संसदमार्फत पूरा गराउन अग्नि सापकोटा सहमत भएको हुनुपर्छ वा प्रचण्डले त्यसको सुनिश्चितता गरेका छन्,’ अर्यालले भने ‘सम्भवतः एमसीसीको पक्षमा रहेका ओलीको त्यो चाहानालाई पूरा गराउन प्रचण्ड र सापकोटा राजी भए ।’

एमसीसीमा तत्कालीन सभामुख कृष्णबहादुर महराको असहयोगले झण्डै – झण्डै कुटनीतिक शक्ति सन्तुलन समेत गुमाउने अवस्थामा पुगेका ओली अब चाहान्छन संसदबाट असहयोग नहोस र असन्तुष्टीई बाहिर छचल्काउनु नपरोस् ।

यसकारण पनि ओलीले प्रचण्ड अनुकुलका निर्णयमा सहमति जनाएको हुन सक्ने अर्यालको दावी छ । तत्कालीन सभामुख महराले एमसीसीको विषय संसदमा अघि नबढाएको भन्दै प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रुपमा असन्तुष्टि पोखेका दिए ।

नेकपामा प्रचण्ड हावीः प्राकृतिक संयोग मात्र

दीर्घ रोगका कारण पनि आत्मबलका आधारमा पार्टी र सरकारमा सक्रिय केपी शर्मा ओलीलाई पार्टी र सरकारमा अहिले नै कमजोर आँक्नु मूर्खाई हुने राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन ।

साच्चिकै ओली एक्लिदै गएको अवस्था हो भने उनको आपतकालिन राजनीतिक अवशानले सापकोटा सभामुखमा पदारोपण नहुँदैदेखि दिनगन्ती शुरु हुने अधिवक्ता श्रीहरि अर्याल दावी गर्छन ।

‘कानूनी रुपमा कसैले पनि चुनौती दिन नसक्ने अवस्थामा रहेका ओलीलाई अहिले नै कमजोर आँक्नु गलत हुन्छ,’ विश्लेषक खतिवडाले भने ‘स्वास्थ्य अवस्थाका कारण झिनाझिम्टी नगर्ने अवस्थामा रहेका ओलीले अर्का अध्यक्षलाई निर्णयमा सहजिकरण गरिदिनु स्वभाविक हो,’ खतिवडाले भने, ‘यो त नाजुक स्वास्थ्य अवस्थाले ओली निस्क्रिय हुँदा प्रचण्डले लिएको लाभ मात्र हो । जुन प्राकृतिक संयोग हो । बरु एजेण्डामा प्रचण्डलाई ओलीले पूर्वएमाले अर्थात आफ्नो कित्तामा ल्याइदिन सफल भए ।’

तत्कालीन माओवादीका एजेण्डालाई पूर्वएमाले त्यसमा पनि मूलतः ओलीले गौण बनाइदिएको खतिवडाको दाबी छ । संविधानको सर्वस्वीकार्यता, प्रदेशहरुको पुनर्सिमांकन, प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपति लगायतका एजेण्डा पूर्वएमाले समूहले प्रचण्डलाई बिर्साइदिएको जस्तो अभाष हुन्छ । क्षणिक शक्तिमा अलमलाएर एजेण्डा र विचारधारामा माथि उठ्न नदिने पूर्वएमालेको रणनीति भएको भए त्यसमा ओली सफल भएको जस्तो देखिएको उनको टिप्पणी छ ।

अर्कातर्फ तत्कालिन एमालेको आन्तरिक चुनावबाट पार्टी अध्यक्ष, संसदीय दलमा चुनिदै मुलुकको कार्यकारी अधिकार हातमा लिएका ओलीलाई आउँदो महाधिवेशनसम्म चलाउन सक्ने अवस्था नरहेको खतिवडाको दावी छ ।

‘चतुर राजनीतिक खेलाडी ओलीले आफ्नो कमजोरी पनि पक्कै महशुस गरेका छन्’ उनले भने ‘नाजुक स्वास्थ्य अवस्थाकाबीच आफूलाई सक्रिय बनाइराख्दा र पार्टी एवं सरकारका निर्णयमा सामुहिकता अपनाउने बित्तिकै अहिलेको स्वार्थप्रेरित गुट समेत भत्किन्छ । तर पूर्वमाओवादी र पूर्वएमाले समूहको बैधानिकता भने महाधिवेशन अघि भत्कदैन ।’

उपयुक्त समयको पर्खाईमा ओली

सभामुख पद पूर्वएमालेमै राख्न ओलीले भगिरथ प्रयत्न नगरेका होइनन् । राष्ट्रियसभामा रिक्त हुँदै गरेको पूर्वमाओवादी समूहका २ जनाको ठाउँमा उनले ७ जनासम्म दिन तयार भए । दिए पनि । तर पनि सभामुख पद आफ्नो पक्षमा पार्न नसकेका ओलीको यो कदमलाई बरिष्ठ अधिवक्ता श्रीहरि अर्याल ‘भुँईको टिप्न खोज्दा गोजिको गुम्यो’ भनेर टिप्पणी गर्छन ।

पार्टीले दोस्रो बरियतामै राखे पनि कार्यकारी भूमिका पाएको २ महिनामा प्रचण्ड केपी शर्मा ओलीमाथी हावी देखिँदै आएका छन् । मन्त्रीहरु हेरफेर गर्दा प्रधानमन्त्री ओलीले चाहाँदा चाहाँदै कतिपय मन्त्रीहरु फेर्न नसकेको चर्चा चुलिएका थिए ।

‘सभामुख त ओलीले आफ्नो अनुकुलको पाएनन् पाएनन् । राष्ट्रियसभाका सदस्य पनि पूर्वमाओवादी समूहले पाउने भन्दा बढी दिए,’ उनले भने, ‘यसले पार्टीभित्रबाट ओलीलाई चर्को दबाब परेको छ । उनी उपयुक्त समयको पर्खाईमा छन।’

साच्चिकै ओली एक्लिदै गएको अवस्था हो भने उनको आपतकालिन राजनीतिक अवशानले सापकोटा सभामुखमा पदारोपण नहुँदैदेखि दिनगन्ती शुरु हुने अधिवक्ता अर्याल दावी गर्छन ।

‘सापकोटाविरुद्ध अझै पनि द्वन्द्वकालको ब्यक्ति हत्या मुद्दा विचाराधीन नै छ । त्यसमा दण्ड चलाउनकै लागि अहिलेसम्म मुद्दा किनारा लाग्न दिइएन’, ‘ओलीलाई अप्ठ्यारो परिसक्दा सापकोटालाई सफाइ दिलाउन खोज्ने र नदिलाउनेहरुबीचको संघर्ष अझ बढी चर्किन्छ । त्यही बेला सापकोटा जेल नपुग्लान भन्ने अवस्था छैन’, अर्यालले भने ।

सभामुखका उम्मेद्वार बनाइएका सापकोटाविरुद्ध काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्या गरेको अभियोगको मुद्दा विचाराधीन छ । यो मुद्दालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सुल्झाउन दलहरु सहमत भए पनि अधिकारवादीहरुले सर्वोच्च अदालतले संवैधानिक इजलाशमार्फत टुंग्याउन दिएको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै दबाव दिदै आएका छन् ।

ओली पक्षधर र ओली इतरकाबीच अन्तरसंघर्षको खतरा

द्वन्द्कालीन मुद्दा किनारा नलागेसम्म सभामुख बन्न लागेका सापकोटाले त्रासरहित भएर काम गर्न सक्नेमा समेत शंसय व्यक्त हुन थालेका छन ।

पार्टी एकताको डेढ वर्षसम्म भूमिकाबिहीन अध्यक्ष रहेका प्रचण्डलाई नेकपाको ४ मंसिर ०७६ को बैठकले कार्यकारी अधिकारसहित पार्टीको काममा केन्द्रित हुने निर्णय गरेपछि पार्टीमा बढ्दै गएको पूर्वमाओवादी समूहको नजानिदो दबदबाह ओली पक्षधरका नेताहरुले निको मानेका छैनन् ।

अझ सभामुखमा कलंकित ब्यक्ती उठाइएको भन्दै सापकोटाविरुद्धको मुद्दामा चलखेल गर्न पूर्वएमालेको असन्तुष्ट पक्षधर सलबलाउने खतरा पनि उत्तिकै रहेको अधिवक्ता अर्याल बताउँछन् ।

आफू एक्लिएको अनुभुति गरेका प्रधानमन्त्री ओली उपयुक्त समयको पर्खाईमा छन् । पूर्वमाओवादीलाई सभामुख सुम्पिएर एक कदम पछाडि हटेजस्तो देखिए पनि ओलीले चाँडै दुई कदम फड्को मार्ने निर्णय लिनेमा शंका छैन् ।

माघीका अवसरमा टुँडिखेलबाट सार्वजनिक रुपमा ५ हजार व्यक्ति मारेको जिम्मा लिन्छु भनेर ‍प्रचण्डले दिएको अभिव्यक्तिमा यही बेला पार्टीको ट्याग लागेका मानवअधिकारवादीहरुले समेत खेल्ने अवस्था रहेको अर्यालको दाबी छ ।

‘ओली प्रचण्डको प्रतिकूल अवस्थाकै खोजिमा छन,’ अर्याल भने ‘उपयुक्त समय आएपछि उनले सरकार सञ्चालनमा विगतमा प्रचण्डबाट बेहोरेको अप्ठ्यारोको समेत हिसाव लिने गरी स्टेप चाल्छन।’

पार्टीले दोस्रो बरियतामै राखे पनि कार्यकारी भूमिका पाएको २ महिनामा प्रचण्ड केपी शर्मा ओलीमाथी हावी देखिदै आएका छन । मन्त्रीहरु हेरफेर गर्दा प्रधानमन्त्री ओलीले नचाहाँदा नचाहँदै कतिपय मन्त्रीहरु फेर्न नसकेको चर्चा चुलिएका थिए ।

मन्त्री बीना मगरदेखि शक्ति बस्नेत र वर्षमान पुन प्रचण्डको आडभरोसाका कारण यो बेला सम्म टिकेको विश्लेषण हुने गरेका छन ।

‘सम्भवत आफू एक्लिएको अनुभुति गरेका प्रधानमन्त्री ओली उपयुक्त समयको पर्खाईमा छन । पूर्वमाओवादीलाई सभामुख सुम्पिएर एक कदम पछाडि हटेजस्तो देखिए पनि ओलीले चाँडै दुई कदम फड्को मार्ने निर्णय लिनेमा शंका छैन,’ अर्यालले भने ।

तर पार्टीभित्र अध्यक्ष भनेर पनि मंसिर ४ अघिसम्म सहअध्यक्षको भूमिकामा सीमित गराइएका प्रचण्ड अव त्यो अवस्थाबाट भने माथि उक्लिएको यथार्थ नकार्न सक्ने अवस्था छैन । बरु उनी झन्/झन् शक्तिशाली बन्दै गएका छन । तर अप्ठ्यारो पर्दा पूर्वमाओवादी समूहलाई मात्र ओत दिने आरोप खेप्दै आएका प्रचण्ड त्यसभन्दा माथि उठ्लान त ? यो गम्भीर प्रश्न बनेको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ९ : ५३ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले