काठमाडौँ– नेपाली कांग्रेसले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विस्थापित परिवारको सुरक्षित, सम्मानजनक र दिगो पुनर्वास सुनिश्चित गर्न माग गरेको हो ।
कांग्रेसले सरकारले सुकुम्बासीका घर भत्काएर व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएको तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयबाट समेत हटाउन खोजेको जनाएको छ ।
वैकल्पिक आवासको सुनिश्चितताबिना सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ ।
‘राज्य नागरिकको अभिभावक हो । घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन’, बैठकको निर्णयमा भनिएको छ ।
कांग्रेसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।
यसैबीच, होल्डिङ सेन्टरको समन्वय र सहजीकरणका लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन् ।
मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् ।
आजको बैठकमा केन्द्रीय सदस्यहरू, विभिन्न प्रदेशका सभापति तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केही केन्द्रीय सदस्यले भने लिखित रूपमा आफ्नो धारणा पेस गरेका छन् ।














प्रतिक्रिया