संखुवासभा- लगातरको वर्षासँगै गएको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ ।
मकालु गाउँपालिका २ र ५ नम्बर वडा क्षेत्रमा पहिरो गएपछि अरुण नदी थुनिएर ताल बनेको हो । आइतबार बिहान साढे ९ बजे गएको पहिरोका कारण तालबनेपछि नदी किनाराको एक परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो।
पहिरोबाट प्रकाश राईको परिवारका ७ जना विस्थापित भएका छन्। ५ सय मिटरमाथिबाट खसेको पहिरोले अरुण नदी थुनिएर जमेको पानी क्रमशः खुल्दै गएपछि तटीय क्षेत्रमा जोखिम कम हुँदै गएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बताए।
पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको प्रहरीले जनाएको छ । पहिरोले थुनिएको नदी खुल्न थालेपछि तटीय क्षेत्रको जोमिख टरेको प्रहरी प्रमुख डिएसपी मल्लले बताए ।
आइतबार बिहान मकालु गाउँपालिका–२ र ५ को बीचमा पर्ने कास्वा र अरुण नदी मिसिने ओयाङस्थित दोभानमा पहिरो खसेर नदी थुनिएको थियो।
पहिरोले नदी थुनिएर ताल बनेपछि संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय प्रशासनले तटीय क्षेत्रका बस्तीमा सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको थियो।
प्रतिक्रिया