काठमाडौँ- लकडाउनको बेलादेखि सुनसान देखिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढनीलकण्ठमा अझै चहल पहल फर्केको छैन ।
यदाकदा हुने पार्टी पदाधिकारीको बैठकबाहेक लकडाउन खुकुलो हुँदासमेत देउवा निवास सुनसान छ । ढुङ्गा छापेर चिटिक्क बनाइएको निवासको फराकिलो प्राङ्गण लेउ जमेर मान्छे चिप्लिने भएको छ ।
उता वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासको हालत पनि त्यस्तै छ । पौडेल निवासमा त कार्यकर्ताको त कुरै छैन, नातेदार समेत देखिँदैनन् । करिब तीन रोपनी क्षेत्रफलको प्राङ्गणको आधा भागलाई पौडेलले करेसाबारी बनाएका छन्, त्यही करेसाबारीमा गोडमेल गरिरहेका पौडेललाई छिमेकीहरूले नमस्कार गर्दै ‘बा सन्चै हुनुहुन्छ ?’ भनेर बोलाउँछन् ।
देउवा र पौडेल निवासको चहलपहल कोरोनाले मात्रै लुटेको हो कि कार्यकर्ताहरूले पनि उनीहरूको आश र त्रास पचाइसके भन्ने प्रश्न निकै पेचिलो बनेको छ । उपसभापति विमलेन्द्र निधिको निवास मध्यवानेश्वरस्थित निवासको चहलपहल करिब पूर्ववत भइसकेको छ ।
महामन्त्री डा. शशांक कोइरालाको सम्पर्क कार्यालयमा देखिने गरेको भीड हेर्दा मुलुकमा कोरोना संक्रमणको कहर समाप्त भइसकेको जस्तो लाग्छ ।
टोखामा बस्दै आएका महामन्त्री डा. कोइरालाले गत सातादेखि महाराजगञ्ज निवासनजिकै निकै फराकिलो कम्पाउण्ड भएको घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेका छन् । अगामी १४औँ महाधिवेशनमा सभापति पदमा चुनाव लड्ने तयारी गरिरहेका कोइरालाले कार्यकर्ताहरूका लागि महाराजगन्ज निवासलाई सम्पर्क कार्यालय बनाएका थिए ।
चौधौँ महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने सम्भावना बढेसँगै कार्यकर्ता र तिनका सवारीसाधनको भीड लाग्न थालेपछि उनले नजिकै ठूलो कम्पाउण्डसहितको भवन भाडामा लिएका हुन् ।
विगतमा गिरिजाप्रसाद कोइरालाजस्तो गतिवान नेतालाई पनि महाराजगञ्जको सम्पर्क कार्यालयले थेगेको थियो । शशांकको गति गिरिजाप्रसादको भन्दा निकै कम भए पनि कार्यकर्ताको भिड साविकको निवासले थेगेन ।
शशांककोमा यसरी बढेको भिडलाई सभापति देउवाले राम्रो संकेतका रूपमा लिएका छैनन् । लकडाउनअघिसम्म देउवा निवासमा देखिने भीडको तुलनामा यतिबेला महामन्त्री कोइरालाको सम्पर्क कार्यालयमा देखिने भिडको आकार किन ठूलो भयो भन्ने चर्चा नेपाली कांग्रेसको वृत्तमा देउवाका लागि पेचिलो बनेको छ ।
यसैगरी, आगामी १४औँ महाधिवेशनमा डा. शशांकलाई सभापति पदमा अघि सार्ने टुङ्गोमा संस्थापन इतरपक्ष पुगिसकेको हो ? वरिष्ठ नेता पौडेल र पूर्वउपसभापति प्रकाशमान सिंहले सभापतिका लागि महामन्त्री कोइरालालाई स्वीकार गरिसकेका हुन् ? यस्ता प्रश्नले नेपाली कांग्रेस वृत्तमा चर्चा पाउन थालेको छ ।
वरिष्ठ नेता पौडेल र नेता सिंहसमेत महामन्त्री कोइरालाको सम्पर्क कार्यालयमा जान थाल्नुलाई अर्थपूर्ण मानिएको छ । पौडेलको हालै आएको एउटा भनाइले भने महामन्त्री कोइरालाको पक्षमा पौडेल अझै खुलेर लागि नसकेको संकेत दिएको छ । पौडेलले भनेका छन्, ‘हाम्रोतर्फबाट अहिलेसम्म सभापति पदमा को अघि बढ्ने भन्ने टुङ्गो भइसकेको छैन, जो अघि बढ्छ सर्वसम्मत निर्णयअनुसार नै अघि बढ्छ ।’
चुनाव हार्ने गरी उमेद्वार बन्नु भन्दा नबन्नु नै उचित हुने ठम्याइमा पौडेल पुगेका हुनसक्छन् । शशांक उमेद्वार भइसकेको अवस्थामा आफू उमेदवार बन्नु भनेको देउवाको लागि विजयमाला पहिर्याइदिनु हो र पार्टीभित्र बचेखुचेको आफ्नो साख पनि समाप्त बनाउनु हो भन्नेमा पौडेल स्पष्ट भएका हुनसक्छन् ।
यता सभापति देउवा चुनाव हार्ने गरी उमेदवार हुने अवस्था छैन । आफूभन्दा धेरै जुनियर शशांकसँग चुनाव लडेर पराजय बेहोर्नु आफ्नो राजनीतिक साख समाप्त पार्नु हो भन्ने कुरामा देउवा पनि स्पष्ट छन् । उनले कुनै हालतमा पनि चुनाव हार्न मिल्दैन । चुनाव जित्ने सुनिश्चित भए मात्रै सभापति देउवा उमेदवार बन्नेछन् ।
देउवा अपराजित रहन १३औँ महाधिवेशनका क्रममा बनेको समीकरण यथावत रहनुपर्छ । देउवाले यसो गर्न सक्लान् त भन्ने प्रश्न झन बलियो छ । तेह्रौँ महाधिवेशनमा देउवाले दोस्रो चरणको मतदानमा पुगेरमात्रै झिनो मतअन्तरमा जितेका हुन् ।
तेह्रो महाधिवेशनमा देउवाको पक्षमा बनेको समीकरण तथा वातावरण भत्किसकेको छ । देउवालाई चुनाव जित्न सजिलो बनाउनकै लागि कृष्णप्रसाद सिटौलाले तत्कालीन संस्थापन पक्षबाट विद्रोह गरी छुट्टै टिम बनाएका थिए । त्यो टीम अहिले देउवाको विरोधमा छ ।
विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण लगायतका नेताहरू चुनावी रणनीति तथा जोडघटाउका माहिर खेलाडी हुन् । यी पाँच जनाको हार्दिकता पाउन सके भने देउवालाई अप्ठेरो छैन तर यी पाँचै जना एउटै टीममा अटाउने सम्भावना अली कम छ ।
यसैगरी, केवी गुरुङको समूहले संस्थापन पक्षमा विद्रोह गरी देउवालाई साथ दिएको थियो । केवी गुरुङ स्वयं देउवाका प्रस्तावक बनेका थिए । यतिबेला गुरुङले देउवाको साथ छाडिसकेका छन् । अर्जुननरसिंह केसी तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै देउवाको टीममा महामन्त्रीको उमेदवार बनेका थिए । अहिले केसी पनि देउवाको विरुद्धमा छन् ।
चन्द्र भण्डारी, चीनकाजी श्रेष्ठ, फरमुल्लाह मन्सुर, आनन्द ढुङ्गाना, अर्जुन जोशी लगायतको टीम पनि खुलेरै देउवाको पक्षमा लागेको थियो तर यतिबेला यो टीम देउवाको पक्षमा देखिँदैन ।
जसजसले टीम तथा समीकरण परिवर्तन गरे पनि देउवाका आफ्ना केही हस्थीहरूले हार्दिकतापूर्वक साथ दिए भने देउवालाई चुनाव जित्न अप्ठेरो छैन । संस्थापन पक्ष भएका कारण र राजनीतिक उचाइ माथि भएका कारण देउवालाई केही सहज छ ।
विमलेन्द्र निधि, विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण लगायतका नेताहरू चुनावी रणनीति तथा जोडघटाउका माहिर खेलाडी हुन् । यी पाँच जनाको हार्दिकता पाउन सके भने देउवालाई अप्ठेरो छैन तर यी पाँचै जना एउटै टीममा अटाउने सम्भावना अली कम छ ।
निधि र गच्छदारका लागि उपसभापतिबाहेक अर्को ठाउँ छैन । उपसभापतिका लागि दुई वटा सिट छन् । दुवै सीटमा मधेसी समुदायबाटै अघि बढाउँदा प्रत्युत्पादक हुने आशंका देउवाको किचेन क्याबिनेटमा छ । निधि र गच्छदारमध्ये एकजनालाई त्याग्नुको विकल्प देउवासँग छैन ।
यसैगरी महामन्त्री पदमा लोकप्रिय तथा युवा पुस्ता नेता विश्वप्रकाश शर्मालाई अघि सार्नुपर्ने अवस्था छ । बाँकी एउटा कोटामा पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत र बालकृष्ण खाँणमध्ये एक जनालाई अघि सार्नुपर्ने हुन्छ । यो अवस्थामा बाँकी दुई जनालाई देउवाले त्याग्नुपर्ने हुन्छ ।
यसैगरी पत्नी डा. आरजु राणाको राजनीतिक महत्वाकांक्षाको व्यवस्थापन पनि देउवाका लागि अर्को चुनौती हो । उनी सके पदाधिकारीमा नभए केन्द्रीय सदस्य पदमा कुनै पनि हालतमा चुनाव लड्ने अभियानमा छिन् । श्रीमती आरजुको ढिपीका अघि देउवा सधैँ नतमस्तक देखिने गरेका छन् । आरजुलाई टीममा राख्दा देउवाले परिवारवादको आरोप झेल्नुपर्ने अवस्था पनि आउनसक्छ ।
प्रतिक्रिया