कहिले खुल्लान् चीनसँगका नाका ? नेपाली व्यवसायीको लगानी डुब्ने खतरा | Khabarhub Khabarhub

कहिले खुल्लान् चीनसँगका नाका ? नेपाली व्यवसायीको लगानी डुब्ने खतरा



काठमाडौँ- कोरोना भाइरसको कारण देखाउँदै चीनले नेपाल प्रवेश गर्ने नाका बन्द गरेपछि नेपाली व्यवसायीहरूको अर्बौंको लगानी डुब्ने खतरा बढेको छ ।

कोरोना भाइरसको संक्रमण देखिएपछि रसुवागढी, केरुङ र तातोपानी नाका बन्द हुँदा नेपाली व्यवसायीले झिकाएका सामान नाकामै रोकिएर लगानी जोखिममा पर्ने चिन्ता भएको हो ।

चीनमा कोरोना संक्रमण सुरु भएपछि र नेपालमा समेत अवस्था जटिल बन्न लागेपछि लकडाउनको समयमा दुई वटा नाका बन्द गरिएका थिए ।

नेपाल सरकारले चीनबाट स्थलमार्ग हुँदै स्वास्थ्य सामग्री आयात गर्न तातोपानी नाका खुला गरेपछि २० वटासम्म कन्टेनर आउने व्यवस्था भएको थियो ।

त्यसपछि गत असारसम्म खुला रहेको तातोपानी नाका असार २५ मा पहिरोले बाटो अवरुद्ध भएपछि बन्द छ । चीनतर्फको छो ताल फुट्न सक्ने जोखिम रहेको भन्दै चिनियाँ पक्षले अहिले नाका नखुलाउने निर्णय गरेको छ ।

रसुवागढी नाका गत पुसदेखि बन्द छ । बन्द भएको करिब चार महिनापछि खुलेको केरुङ नाका पनि बन्द हुने र खुल्ने भइरहेको छ । भदौ १२ गतेदेखि सञ्चालनमा आएको केरुङ नाकास्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बन्द गरिएको नाका खुलाउन चिनियाँ पक्ष तयार भएको छैन ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार केरुङ आइपुगेको सामान १० महिनादेखि अड्किएको छ । उनले भने, ‘हाम्रा मालवस्तु ल्याएका कन्टेनरहरू अघिल्लो जनवरीमै त्यहाँसम्म आएका थिए । कोरोनाका कारण चीनमा एकखालको लकडाउनजस्तो थियो । चीनसँग जोडिएका नाका बन्द गर्ने चीन सरकारको निर्णय भयो । केरुङसम्म आइपुगेका सामान १० महिनामा पनि ल्याउन सकिएको छैन ।’

दशैँ नजिकिँदै गएपछि व्यवसायीहरूले सामान ल्याउने वातावरण मिलाइदिन जोडबल गरिरहेका छन् । सरकारले भने ध्यान नदिएको उनीहरूको गुनासो छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा २७ वटा संघसंस्थाहरूले चीनतर्फ रोकिएका वस्तु नेपाल ल्याउने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

व्यवसायीहरूले नाका खुलाउने पहल गरिदिन सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग समेत छलफल गरे । नाका खुल्ने छाँटकाँट अहिलेसम्म पनि देखिएको छैन ।

महिनौँदेखि चिनियाँ नाकामा नेपाली व्यवसायीको सामान अड्किनु र सरकारले पहल नगर्नु लाजमर्दो भएको अध्यक्ष कटुवालको भनाइ छ ।

‘यस्तो अवस्था त सरकारलाई चुनौतीको विषय समेत हो,’ उनले भने, ‘हामीले अर्थ, परराष्ट्र, उद्योग वाणिज्य मन्त्रालयसँगै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराएका थियौँ तर पहल भएन ।’

व्यापारीहरूले बैँकबाट ऋण लिएर आयात गरेको सामान यसरी महिनौँसम्म नाकामा अड्किनु मुलुककै लागि दुर्भाग्य भएको अध्यक्ष कटुवालको भनाइ छ । कटुवालले व्यवसायीहरूसँग छलफल भइरहेको र समस्या समाधान नभए आन्दोलनका लागि सडकमा निस्किने मनस्थितिमा पुगेको बताए ।

उनले भने, ‘हामीलाई सोमबारसम्म चीनसँग केही सहमति बन्ला, त्यतिखेरसम्म कुर्न भनिएको छ, सोमबारसम्म हेर्छौं, समस्या समाधान भएन भने उद्योगी र व्यवसायीहरू बाहिर आउन बाध्य हुनेछौँ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नाका खुलाउने विषयमा चिनियाँ पक्षसँग हरेक दिनजसो कुरा भइरहेको भए पनि कहिले खुल्छ भन्ने टुङ्गो नलागेको बताए ।

उनले भने, ‘हामीले हरेक दिनजसो यो विषयमा चीनसँग छलफल गरिरहेका छौँ । सकारात्मक पनि छ तर कति दिन लाग्छ भनेर अहिले भन्न सकिने अवस्था छैन ।’

चीनस्थित नेपाली राजदूतवासले पनि नाका खुलाउने विषयमा पहल गरिरहेको सचिव अर्यालको भनाइ छ ।

नाका सहज बनाइदिन चीनसँग गरेको आग्रहबारे उनले भने, ‘हाम्रा रोकिएका सबै कन्टेनर आउनुपर्‍यो, हाम्रा चाडपर्व पनि नजिक आइसकेका छन् भनेर हामीले निरन्तर कुरा गरिरहेका छौँ ।’

सरकारले पेट्रोलियम पदार्थ समेत आयत गर्ने भनेर भनेको चीनसँग जुन नाका प्रयोग गर्ने सहमति बनेको थियो ती सबै नाका अहिले बन्द छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पहिलो सरकारले चीनसँग पारवहन सम्झौता गरेको थियो । अहिले नेपाली व्यवसायीहरूको सामान चीनमा अड्किएको छ तर, नाका खुलाउन सरकार असफल छ ।

स्वास्थ्य सामग्री पनि रोकिए

नाका बन्द हुँदा अत्यावश्यक स्वास्थ्य सामग्री पनि रोकिएका छन् ।

चीनले नाका बन्द गर्दा बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज बोकेको कन्टेनर तीन सातादेखि चिनियाँ सडकमा अलपत्र छ ।

खोप विज्ञहरूका अनुसार बीसीजी खोप जन्मनेबित्तिकै लगाउनुपर्छ । कुनै कारणले छुटे १५ महिनासम्मका बालबालिकालाई लगाउन सकिन्छ । यो क्षयरोगविरुद्ध दिइने खोप पनि हो । तर, स्वास्थ्य सामग्री नै नाकामा अलपत्र परेपछि खोप सेवा नै प्रभावित हुन सक्ने चिन्ता बढेको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री पनि ल्याउन नसकिएको व्यवसायीले बताएका छन् ।

केरुङमा १२ सयभन्दा बढी र तातोपानी नाकाको खासातर्फ डेढ सय कन्टेनर सामान अलपत्र परेको व्यवसायीको भनाइ छ ।

स्वास्थ्य सेवा विभागले साताअघि नै केरुङको सडकमा अलपत्र सिरिन्ज भित्र्याउनका लागि सहजीकरण गरिदिन रसुवागढी भन्सारलाई पत्र पठाए पनि उसले आफ्नो तहबाट समाधान हुने समस्या नभएको जवाफ पठाएको छ ।

परराष्ट्र मन्त्रालयले भने यसबारे समन्वयको प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ६ : २२ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक