डा. सन्दुकको सम्मान « Khabarhub

डा. सन्दुकको सम्मान


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘मैले रेडियो सुनेर थाहा पाएँ, सरकारले मलाई यो वर्षको ‘सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम’ प्रदान गर्ने घोषणा गरेको रहेछ, यसअघि थाहै थिएन । चिकित्सा क्षेत्रमा काम गरेको तीन दशक भयो, मलाई राज्यले प्रोत्साहन गरेको जस्तो लाग्छ । म राजनीतिभन्दा माथि बसेको मान्छे ।

मैले बाहिर (विदेशमा) धेरै सम्मान पाइसकेँ । आफ्नो देशबाट सम्मान पाउँदा धेरै खुसी छु । कुनै राजनीतिक सिफारिसविना देशको ठूलो सम्मान पाउँदा झन् खुसी छु ।’

‘सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम’ बाट विभूषित हुने भएपछि खबरहबको एक जिज्ञासामा डा. रुइतले आफ्नो खुसी सुनाए । संविधान दिवसको अवसरमा विभूषित हुनहरूको सूचिमा शनिबार डा. रुइतको नाम प्रकाशित भएको थियो ।

मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका एक लाखभन्दा बढी मानिसहरूलाई दृष्टि दिने डाक्टर भनेर विश्वले चिनेका डा. रुइतलाई सरकारले उक्त विभूषणबाट सम्मान गर्ने घोषणा गरेको हो ।

सरकारले प्रदान गर्ने विभूषण तथा सम्मान सरकार निकटका व्यक्ति र राजनीतिक आस्था वा सिफारिसको आधारमा निर्णय हुने गरेको भन्दै आलोचना हुने गरेको छ । यस वर्ष डा. रुइत विभूषित हुने घोषणाको स्वागत भएको छ ।

डाक्टर रुइत भारतको प्रतिष्ठित नागरिक सम्मान ‘पद्मश्री’ बाट सम्मानित भइसकेका छन् । उनले धेरै अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएका छन् । उनी सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।

डाक्टर रुइतलाई विश्वले चिन्छ । यो स्थानसम्म आइपुग्न डाक्टर रुइतले जीवनमा धेरै ठूलो संर्घष गरेका छन् ।

गाउँमा स्कुल थिएन, हिँडेरै दार्जिलिङ

डा रुइत सदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङको विकट ओलाङचुङगोलामा जन्मिएका हुन् । उनका बुबाले व्यापार गरेर परिवार चलाएका थिए । विकट बस्तीमा भए पनि उनका बुबाआमालाई छोरालाई पढाउने र उच्च शिक्षा दिलाउने चाहना थियो । गाउँमा स्कूल थिएन ।

आफ्ना बाबुको साथ लागेर सन्दुक ७ वर्षकै उमेर झण्डै १५ दिन हिँडेर भारतको दार्जिलिङ पुगे । उनी दार्जिलिङको मिसनरी स्कूल सेन्ट रोर्बट्मा भर्ना भए । घर टाढा भएकाले बिदाको समयमा पनि दार्जिलिङमै बस्थे ।

उनले आफ्ना प्रारम्भिक शिक्षाका ती दिनको स्मरण सुनाए, ‘मेरो घर एकदमै विकट गाउँमा भएकाले पाठशाला थिएन, घरबाट १४-१५ दिन हिँडेर हामी दार्जिलिङ पुगेका थियौँ । स्कूल बिदा हुँदा अरूका बुबाआमा भेट्न आइरहन्थे, मेरो घर टाढा भएकाले कोही पनि नआउने । बिदामा अरू साथीहरू घर जाँदा म त्यहीँ पढेर बस्थे । दुई-तीन वर्षमा घर जान पाइन्थ्यो ।’

सन्दुकले ८ कक्षा पूरा गरेपछि भारत र चीनबीच सीमा विवादमा युद्ध भयो । उनी पढ्ने विद्यालय बन्द भयो । त्यसपछि सन्दुक काठमाडौँ आएर सिद्धार्थ वनस्थली स्कूलमा भर्ना भए । उनी सन् १९७० मा सिद्धार्थ वनस्थली स्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भए ।

बहिनीको निधनपछि डाक्टर बन्ने सपना

काठमाडौँ आएपछि सन्दुक र बहिनी याङ्लासँगै बसे । उनी आफ्नी बहिनीलाई धेरै माया गर्थे तर तिनै बहिनी १४ वर्षकै उमेरमा बितिन् । क्षयरोगका कारण बहिनीको मृत्यु मृत्यु भएपछि उनलाई ठूलो चोट पुग्यो ।

दार्जिलिङमा हुँदा सन्दुकले पाइलट बन्ने सपना बुनेका थिए । यता बहिनीको मृत्युपछि उनले पाइलट भन्ने धोको त्यागेर डाक्टर बन्ने अठोट लिए । ‘बहिनीको मृत्युले मलाई ठूलो पीडा भयो, बहिनीलाई बचाउन नसकेपछि डाक्टर बनेर नेपाली बिरामीलाई बचाउँछु भन्ने प्रण गरेँ,’ डा रुइतले भने, ‘घरको अवस्था त डाक्टर पढाउन सक्ने थिएन तर मेरो पढाइ राम्रो भएकाले म सक्छु भन्ने लाग्यो ।’

छोराको सपनामा बुबाले राम्रो साथ दिए । एसएलसीपछि उनले उनले त्रिचन्द्र कलेजमा आइएसी पढे । काठमाडौँमा चाहिने पर्याप्त खर्च पठाउन सक्ने अवस्था बुबाआमाको थिएन । घरको दुःख बुझेका सन्दुकले खर्च जुटाउन दरबारमार्गस्थित होटल अन्नपूर्णमा काम गरे । होटलको भुइँ पुछेर खर्च जुटाए ।

‘मैले पैसा भएन भनेर कहिल्यै पनि बाबुआमासँग गुनासो गरिनँ तर खर्च त चाहिन्थ्यो,’ डा. रुइतले भने, ‘बुबाले पठाएकोले मात्रै नपुगेपछि होटल अन्नपूर्णमा ८ महिना काम गरे । भुइँ पुछ्ने, गेस्टहरूसँग कुरा गर्ने, रिसेप्सन सबैतिर । सातामा २५-३० रुपैयाँ कमाइ भयो । त्यही पैसाले पुस्तक किन्न र कलेजमा शुल्क बुझाउन पाएँ । विदेशीहरूसँग बोल्दा अंग्रेजी पनि सुधार भयो ।’

आइएससी पढाइ पूरा भएपछि उनले एमबीबीएस पढ्न छात्रवृत्ति पाए । अब खर्चको तनाव भएन । भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट पाँच वर्षमा एमबीबीएसको पढाइ पूरा गरी डाक्टर भएर नेपाल फर्किए ।

डा. रुइतले पहिलोपटक वीर अस्पतालबाट जनरल फिजिसियनका रूपमा काम सुरु गरे । त्यहाँ उनले तीन वर्ष काम गरे । उनी विभिन्न जिल्लामा हुने शिविरहरूमा सिनियर डाक्टरहरूसँगै पुग्थे । यही क्रममा उनले सिनियर डाक्टरहरूले आँखाको ज्योति गुमाएकाहरूको उपचार गरी दृष्टि दिएको गरेको देखे ।

अनि उनमा आँखाको डाक्टर बन्ने सोच आयो । समयले पनि साथ दियो । फेरि छात्रवृत्तिमा भारतमै एमडी पढ्ने अवसर पाए । अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा एमडी पूरा गरेर सन् १९८४ मा नेपाल फर्किए ।

आँखा रोग विशेषज्ञ भएर नेपाल आएपछि डा. रुइतले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट सेवा सुरु गरे । त्यहाँ ८ वर्ष काम गरेपछि सन् १९८७ मा थप अध्ययनका लागि अष्ट्रेलिया गए । अष्ट्रेलिया रहँदा विकसित राष्ट्रहरूमा सेवा गर्ने अवसर नआएको होइन तर डा. रुइत नेपालीकै सेवा गर्न चाहन्थे । उनी सबै अवसर छाडेर आफ्नो अठोटअनुसार स्वदेश फर्के ।

अष्ट्रेलियाबाट फर्केपछि सन् १९९४ मा तिलगङ्गा आँखा केन्द्र सुरु गरे । उनले तिलगङ्गा आँखा अस्पतालमा नेपाली र विदेशीसहित एक लाखभन्दा बढीको उपचार गरिसकेका छन् ।

अहिले घरमै बसेर भर्चुअलमा व्यस्त

कोरोना भाइरस संक्रमणका कारण बाहिर निस्कने अवस्था छैन । डा. रुइत अहिले भर्चुअल माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी भइरहेका छन् ।

‘म अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भर्चुअलरूपमा सहभागी भइरहेको छु,’ डा. रुइतले खबरहबसँग भने, ‘अहिले खासगरी आँखासम्बन्धी कार्यक्रममात्र नभई युवाहरूलाई प्रोत्साहन र परामर्श दिने अन्तक्रियाहरूमा सहभागी भइरहेको छु । कलेज र स्कूलहरूले अर्चुअलरूपमा बोलाउँछन् । मलाई युवाहरूसँग कुरा गर्न रमाइलो लाग्छ ।’

डा. रुइत कोरोना संक्रमणको समय भएकाले विशेष सावधानी अपनाएर दिनचर्या चलाइरहेको बताउँछन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ४३ बजे

रविको सांसद पद गुमेपछि आफू निर्वाचित भएको घोषणा गर्न चितवन-२ का उपविजेताको माग

काठमाडौँ- रवि लामिछानेको सांसद पद गुमेसँगै आफूलाई निर्वाचित भएको घोषणा

प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद अनुपस्थित

काठमाडौँ- सत्तारुढ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभाको

टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम्

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ- प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद

प्रदेशसभाको बैठक भोलि

काठमाडौँ- प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे