नेकपा विभाजनको चरणमा : एक अर्कालाई कारबाही गर्दै वैधताको लडाइँमा दुवै समूह « Khabarhub

नेकपा विभाजनको चरणमा : एक अर्कालाई कारबाही गर्दै वैधताको लडाइँमा दुवै समूह

केन्द्रीय कमिटी बैठकमार्फत एक अर्कालाई कारबाही गर्दै ओली-दाहाल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकरणको ३२ महिनामा विभाजनको औपचारिकतामा प्रवेश गरेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वैधताको लडाइँ सुरू भएको छ ।

गत फागुनमा बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने पार्टी निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती दिएपछि सुरू भएको नेकपाको संकट अन्ततः फुटको औपचारिक तहमा पुगेको छ ।

ओली पक्षले सम्झौतामा संकट टार्ने र दाहाल-नेपाल पक्षले ओलीलाई पदच्युत गर्ने परस्पर दाउकाबीच पछिल्ला १० महिना गुज्रिए पनि नेकपामा विभाजन अब अवस्यम्भावी भएको छ ।

दुवै समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठकमार्फत एकअर्कालाई कारबाही गर्दै छन् । दाहाल-नेपाल समूहले अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओलीले त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल-नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै अर्का अध्यक्ष दाहाललाई अनुशासनको कारबाही गरेको अनुमोदन गराउँदैछन् ।

अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी उपचारको बाटोसमेत खोज्न सक्ने निकट स्रोतले जनाएको छ ।

पार्टीको एक नम्बर अध्यक्ष भएकाले निर्णयमा आफ्नो हस्ताक्षरले नै मान्यता पाउने बताएका ओलीलाई महासचिव विष्णु पौडेलको पनि साथ रहेकाले आफ्नो पक्षको निर्णयले वैधता पाउने विश्वास छ ।

तर, बहुमत पक्षले ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा पनि गराइसकेको छ । सोमबार दाहाल-नेपाल पक्षबाट लीलामणि पोखरेलले निर्वाचन आयोगलाई ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको व्यहोराको पत्र दर्ता गरिसकेका छन् ।

स्थायी कमिटीको सोही निर्णयलाई अनुमोदन गर्न आजै अपराह्न १ बजे दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

पार्टी एकतापछि गत माघमा बसेको केन्द्रीय कमिटी बैठक ।

दुवै पक्ष विभाजनको औपचारिक घोषणाअघि पार्टीको संस्थापन आफू भएको दाबीसहित निर्वाचन आयोगमा पुग्नेछन् ।

दुई समूहबीच अब पार्टीको केन्द्रीय कार्यालय, छाप, चुनाव चिह्न र पार्टीको नामको लडाइँ सुरू हुने देखिएको छ । यो विषय निर्वाचन आयोगबाट नटुंगिए अदालतसम्म पुग्न दुवै पक्षले तयारी थालेको निकट स्रोतले जनाएको छ ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिएर पार्टी विवाद साम्य पार्न तयार रहेको सन्देश दिएको दुई दिनमै  ओलीले आइतबार प्रतिनिधिसभा विघटन गराएपछि नेकपा विभाजनको औपचारिक प्रक्रियामा प्रवेश गरिसकेको छ ।

ओलीले पार्टीभित्रैबाट सरकारलाई असहयोगको चरम सीमा नाघेको तथा राष्ट्रपतिविरूद्ध महाअभियोग र आफूलाई अविश्वासको प्रस्तावमार्फत हटाउने खेल भएपछि बाध्यात्मक कदम चालेको प्रतिक्रिया दिएका छन् ।

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालीन एमाले र तत्कालीन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ७ : २७ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना