काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षले बुधबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।
बैठक बुधबार साढे ११ बजे बस्ने जनाइएको छ । मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले भोलिका लागि संसदीय दलको बैठक बोलाएको हो ।
पार्टीको अर्को केन्द्रीय कमिटी बैठक भने बिहीबारका लागि तोकिएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन समेत गरेको छ।
राष्ट्र हितविपरीत तथा पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन, पार्टी निर्णय पटक-पटक उलंघन गरेको लगायतका आरोप लगाउँदै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताए ।
बैठकले संसद् विघटन असंवैधानिक भएको भन्दै सडक आन्दोलनमा जाने समेत निर्णय गरेको एक नेताले जानकारी दिए ।
आजै ओली पक्षले पनि बालुवाटारमा केन्द्रीय कमिटी बैठक गरेको थियो। बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या ११ सय ९९ बनाएको थियो।
प्रतिक्रिया