दक्षिण कोरियामा एकै दिनमा कोरोना संक्रमितको सङ्ख्या दोबर पुग्यो | Khabarhub Khabarhub

दक्षिण कोरियामा एकै दिनमा कोरोना संक्रमितको सङ्ख्या दोबर पुग्यो


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन्।

शुक्रवारयता थप २२९ जनामा कोभिड-१९ गराउने भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ।

स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले कोरोनाभाइरस प्रकोप “एउटा गम्भीर चरणमा” प्रवेश गरेको टिप्पणी गरेका छन्।

अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन्।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने भय देखिएको छ।

डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई “विशेष हेरचाह क्षेत्र” घोषणा गरिएको छ। अहिले डाएगुमा सडकहरू लगभग रित्ता देखिन्छन्।

चीनमा अधिकारीहरूले नयाँ सङ्क्रमण र मृत्यु हुने बिरामीको सङ्ख्या घटेको बताएकै बेला दक्षिण कोरियामा भने सङ्क्रमित मानिसको सङ्ख्या बढेको छ।

परीक्षणमा कतिपय सैनिकहरूमा पनि कोरोनाभाइरस सङ्क्रमण भएको पाइएपछि दक्षिण कोरियाले सेनालाई पनि निश्चित घेरामा सीमित गरेको छ।

चीनसँग स्पष्ट सम्बन्ध नभएका कोरोनाभाइरस सङ्क्रमणका घटनाको सङ्ख्या बढ्न थालेको भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले चिन्ता व्यक्त गरेका छन्।

उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर “साँघुरिँदै गएको” चेतावनी दिएका छन्। चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण भएको र २ हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर २६ देशमा १ हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण भएको र आठ जनाको मृत्यु भएको छ।

जापानको तटनजिकै क्वारन्टीनमा राखिएको एउटा पानीजहाजमा ६०० जनालाई पनि सङ्क्रमण भएको पुष्टि भएको छ।

दक्षिण कोरियामा एउटा धार्मिक समूहका सदस्यहरूमा कोरोनाभाइरसको सङ्क्रमण व्याप्त रहेको पाइएपछि अधिकारीहरूले त्यसका ९ हजार सदस्यलाई आफैँ क्वारन्टीनमा बस्न भनेका छन्। चेओङ्डोबाट रोग फैलिएको अधिकारीहरूको आशङ्का छ।

त्यहाँ उक्त धार्मिक समूहका संस्थापकका आफन्तको अन्तिम संस्कारमा धेरै अनुयायीहरू सहभागी भएका थिए।

चीनका कारागारमा पनि कोरोनाभाइरस फैलिएको छ। विभिन्न कारागारभित्र रहेका ५०० जनामा सङ्क्रमण भएको पुष्टि भएको छ।

तीमध्ये वुहानस्थित महिला कारागारमा भएका २३० जना छन्। पूर्वी प्रान्त शान्डोङ र दक्षिणपूर्वी प्रान्त जेजियाङका कारागारमा भएका कैदी पनि सङ्क्रमित भएका छन्।

बेइजिङस्थित एउटा अस्पतालमा भर्ना भएका ३६ जनामा पनि कोरोनाभाइरस भएको पुष्टि भएको छ।

जापानको योकोहामामा १४ दिन रोकिएको पानीजहाजबाट कोरोनाभाइरस नभएको पुष्टि भएका यात्रुहरूलाई निस्किन दिइएको छ।

तर उक्त पानीजहाजबाट आएका ११ अमेरिकी नागरिकमा स्वदेश आइपुगेपछि सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले बताएका छन्।

डाइमन्ड प्रिन्सेस नामक उक्त क्रूज पानीजहाजबाट ३०० भन्दा बढी अमेरिकीहरू स्वदेश फर्किसकेका छन्।

त्यसैगरी १५० भन्दा बढी अस्ट्रेलियालीहरूलाई उक्त पानीजहाजबाट उद्धार गरेर डार्विन लगिएको छ। उनीहरूलाई त्यहाँ दुई हप्ता क्वारन्टीनमा राखिनेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ७ : ५० बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन