काठमाडौं– बुढापाकाहरू मिहिनेतीले ढुङ्गामा पनि सुन फलाउँछ भन्छन् । सुनसरीका दिनेशकुमार सिग्देल सिन्धुपाल्चोकको पाखोरेखोमा सुनकै हाराहारीको किबी फलाउँदैछन् ।
दिनेश ६० जनाको समूह बनाएर ८ सय रोपनी जमिनमा किबी खेती गर्दैछन् । २०६९ सालमा सुरु गरेको किबी खेतीले अहिले व्यावसायिक रूप लिएको छ । उमेरले ६ दशक पुग्न लागेका दिनेश किबी उत्पादनले आफूलाई सन्तुष्टि मिलेको बताउँछन् ।
गाउँमा बाँझो हुँदै गएको जमिन सदुपयोग गरेर किबी खेती गर्न सकिने उनको अनुभव छ । किबी खेती गर्न इच्छुकहरूका लागि दिनेश प्रेरणादायी छन् । उनले सिन्धुपाल्चोकका धेरै किसानलाई किबी खेतीमा तानेका छन् ।
दिनेशका विचारमा खेती गर्नेलाई समाजले हेला गर्छ भन्ने धारणाका कारण नेपाली युवाहरू सुन फल्ने खेतबारी छोडेर खाडी मुलुकमा पसिना बगाउँछन् ।
केही वर्षयता नेपाली युवाहरू वैदेशिक रोजगारीको साटो स्वदेशमै सिर्जनात्मक काम गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने विश्वासका साथ स्वालम्बी बनेर अनुकरणीय काम गर्न थालेका छन् ।
दिनेशको समूह पनि यस्तैमध्येको एक हो, जसले धेरै स्थानीयबासिन्दालाई प्रेरित गरेर कृषिमा आकर्षित गरेको छ ।
यसरी सुरू भयो दिनेशको किबी खेती
काभ्रे जिल्लामा डा. सूर्य पाण्डेले किबी खेतीलाई व्यावसायिक बनाउन डेमो बनाएका थिए । त्यो डेमो हेरेपछि दिनेशलाई पनि किबी खेती गर्ने सोच आयो ।
२०६९ सालको कुरा हो । नेपालमा व्यावसायिकरूपमा किबी खेती गर्नेहरू थिएनन् भने पनि हुन्छ । दिनेश र उनका केही साथीहरूले सामूहिकरूपमा एकैपटक ठूलो परिमाणमा किबी खेती सुरु गरे ।
किबी खेतीका लागि उचित हावापानीको धेरै जमिन खोज्ने क्रममा उनीहरू सिन्धुपाल्चोक जिल्लाको मेलम्ची पुगे, १५ जनाको समूहले प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले लगानी जुटाए ।
करिब ३ सय रोपनी जमिनमा किबीका १ हजार ५० वटा विरुवा रोपे । यी विरुवाले उत्पादन दिन थालेको ३ वर्ष भयो । यसले आम्दानी बढ्यो । लगानी बढाउँदै विरुवा थप्दै गए ।
यसरी १५ जनाको समूहले सुरु गरेको किबी खेतीमा अहिले ६० जना छन् । विभिन्न जिल्लामा किबी खेती गर्नेहरूले दिनेशको जस्तै समूह बनाएका छन् । दिनेशको समूहको खेतीमा अहिले १० हजारभन्दा बढी विरुवा छन् । यीमध्ये धेरैले उत्पादन दिन थालेका छन् ।
नेपालमा किबीमा अहिलेसम्म कुनै पनि रोग नभेटिएकाले खेती सजिलो भएको दिनेशको अनुभव छ । उनका अनुसार अहिले ४० भन्दा बढी जिल्लामा किबी खेती भइरहेको छ ।
दिनेशका अनुसार फुल्ने बेलामा हावाहुरी आयो भने सखाप पार्छ नत्र उत्पादन राम्रो हुन्छ । गत वर्ष ७५ टन किबी उत्पादन गरेको उनले बताए ।
‘यस वर्ष सय टन उत्पादन हुने अनुमान छ,’ उनले भने, ‘अहिले विरुवाको स्याहारसुसार गर्ने सिजन हो, त्यहीअनुसार काम भइरहेको छ ।’ दिनेशको समूहले रेड र ग्रीन गरी दुई प्रकारको किबी लगाएको छ । रेड किबी भदौको मध्यतिर टिप्ने बेला हुन्छ भने ग्रीन कात्तिकको अन्तिमतिर ।
मिहिनेत तीन महिना, आम्दानी लाखौँ
किबी खेतीबाट राम्रो अम्दानी गर्न सकिने दिनेशको भनाइ छ । उनले खबरहबसँग भने, ‘वर्षमा ३ महिना मिहिनेत गरे पुग्छ ।’ उनका अनुसार अन्नबाली नहुने भिरालो जमिनमा समेत किबीको आयु एक सय वर्षसम्म हुन्छ । दिनेश भन्छन्, ‘एउटा विरुवाले ३ देखि ५ वर्षमा ५० केजीमात्र फल दिए पनि १५ हजारभन्दा माथि आम्दानी दिन्छ ।’
किबीको विरुवाले रोपेको ३ वर्षदेखि उत्पादन दिन्छ । राम्रो स्याहार भए एउटै विरुवाले पचासदेखि सय केजीसम्म फल दिन्छ । दिनेशले खबरहबसँग भने, ‘यो एकदमै राम्रो हो, अहिले हाम्रो समूहले वार्षिक ५० लाखसम्म आम्दानी गरेको छ ।’
बजारमा किबी प्रतिकेजी ३ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । किबीले बजार पाएन भन्ने किसानको गुनासो पनि सुनिने गरेको छ । दिनेशको सुझाब छ, ‘बजारमा फ्रेस किबी जान नसके त्यसबाट जाम, जुस, वाइन बनाएर जुनसुकै समयमा बिक्री गर्न सकिन्छ ।’
५ सयभन्दा बढीलाई रोजगारी
दिनेशको समूहले किबी खेतीमा ५ सय जनाभन्दा बढीलाई रोजगारी दिएको छ । धेरै स्थानीयबासिन्दालाई किबी खेतीमा प्रोत्साहन पनि गरेको छ ।
‘हामीले सुरु गरेपछि अहिले सिन्धुपाल्चोकमा धेरैले किबी खेती थालेका छन्,’ दिनेशले भने, ‘किबी खेतीले व्यावसायिक रूप लिँदै जाँदा एकातिर जमिन बाँझो रहँदैन भने अर्कोतिर कम मिहिनेतमा धेरै आम्दानी हुन्छ ।’
गाउँमा प्रेरणादायी बन्न पाउँदा दिनेशले आफूलाई गौरवान्वित पनि महसुस गरेका छन् । भन्छन्, ‘गाउँमा व्यवसाय गरेर त्यति धैरेले रोजगारी पाउनु राम्रो हो ।’
किबी खेतीसँगै दिनेशले सिन्धुपाल्चोकमा ‘किबी रिसोर्ट’ सुरु गरेका छन् । उनको समूहले ४ वर्षअघि किबीको नर्सरी पनि सुरु गरेको छ । काठमाडौंको नारायणटारमा उनीहरूको नर्सरी छ । कागती, एभोकार्डो किबी लगायतका विरुवा पाइन्छ ।
कसरी गर्ने किबी खेती ?
किबीको व्यावसायिक खेतीका लागि उपयुक्त हावापानी समुद्री सतहबाट १२०० देखि २४०० मिटरसम्मको उचाइ हो । उचित सिँचाइ र स्याहार पुगेमा ८०० देखि २९०० मिटरसम्म खेती गर्न सकिन्छ ।
करिब २ फीट गहिरो खाडल खनेर मल र माटोको मिश्रण बनाउनुपर्छ र नयाँ पालुवा आउने विरुवा रोप्नुपर्छ । स्याहार पुगेमा एकपटक हुर्काएपछि धेरै हेरचाह गर्नुपर्दैन ।
निकै पोषिलो र औषधीय गुणसमेत भएकाले किबीको माग धेरै छ । व्यावसायिक सम्भावना देखेर नेपालीहरू किबी खेतीमा आकर्षित भएका छन् ।
सिन्धुपाल्चोकलाई कर्मथलो बनाएका दिनेशको स्थायी घर सुनसरी हो । उनका परिवारजन काठमाडौंमा बस्छन् । बाआमाजस्तै आफू पनि कृषक नै भएको उनको भनाइ छ । दिनेश रोजगारीका लागि युरोप पनि पुगे । विदेशको दुःख भोगेका दिनेशलाई केही वर्षयता सिन्धुपाल्चोकको मेलम्चीले आम्दानी र खुसी एकसाथ दिएको छ ।
प्रतिक्रिया