सगरमाथाको कीर्तिमान बढाउँदै शेर्पाहरु | Khabarhub Khabarhub

सगरमाथाको कीर्तिमान बढाउँदै शेर्पाहरु


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सगरमाथाको शिखर चुम्नु आफैँमा साहसिक र जोखिमपूर्ण काम हो । मौसमी हिसाबले वसन्त ऋतु (सर्वाधिक सगरमाथा आरोहण हुने समय) र शरद् ऋतु मिहाल आरोहणका लागि उपयुक्त मानिन्छ ।

साहसिक आरोहण त्यसमा पनि शिशिर ऋतु अर्थात् ‘विन्टर सिजन’ मा सगरमाथाको आरोहण गर्नु कम चुनौतीपूर्ण छैन । बहादुर शेर्पाको अदम्य साहस र मेहेनतलाई चुनौतीका शिखरले छेक्न सक्दैनन् । तिनै चुनौतीलाई चिर्दै सगरमाथाको विश्व कीर्तिमान बनाउन हिम्मती आरोहीले अठोट गरेका छन् ।

चार शेर्पा पाँच दिनमा सगरमाथाको सफल आरोहण गरी विश्व कीतिर्मानको दौडमा होमिएका हुन् । आठ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका आरोही टासिलाक्पा शेर्पाको नेतृत्वमा मिङ्तेम्बा शेर्पा, पासाङनर्बु शेर्पा र हालुङ्दोर्ची शेर्पासहितको आरोहण टोली नयाँ कीर्तिमानका लागि सगरमाथातर्फ लागेको हो ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथाको २४ पटक सफल आरोहण गरेर कामीरिता शेर्पाले विश्व कीर्तिमान बनाए । सगरमाथा आरोहण इतिहासको झण्डै सात दशकका अवधिमा विभिन्न कीर्तिमान थपिँदै गएको छ । विनाअक्सिजन आरोहण, सबैभन्दा छोटो अवधिमा आरोहणजस्ता विभिन्न अभिलेख छन् । नयाँ कीर्तिमान पनि थपिँदै छन् ।

यो आरोहण नेपालको मात्र नभई विश्वकै रेकर्डमा सबैभन्दा छोटो समय अर्थात् ‘विन्टर स्पिड क्लाइम्बिङ’ हुने जनाइएको छ । आरोहणलाई ‘ब्रेथलेस वीन्टर एभरेष्ट स्पिड क्लाइम्बिङ एक्सट्रिम अन एभरेष्ट इन फाइभ डेज : दिस इज द गिनिज बुक अफ वल्ड रेकर्डस एटेम्ड् एक्सिपीडिसन’ नाम दिइएको छ ।

चार शेर्पाको यो आरोहणलाई अन्य हिमाल आरोहीले चासोका साथ हेरेका छन् । एउटै जिल्ला सङ्खुवासभा र एउटै गाउँपालिका मकालुका उनीहरु सबै प्रख्यात आरोही हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै विश्वका आरोहीको ध्यान नेपालतिर खिच्न यस आरोहणले मद्दत पुग्ने आरोही टासीलाक्पा शेर्पाको भनाइ छ । आरोहणमा लामो अनुभव रहेको र पूर्ण तयारी गरिएकाले पनि यो आरोहण सफल हुने उनीहरुको विश्वास छ ।

“म आफैँ सगरमाथाको आठ पटक सफल आरोहण गरेको र विश्वका अन्य अग्ला हिमालको पनि आरोहण गरिसकेको आरोही हुँ, त्यसैले आरोहणलाई कसरी सुरक्षित र व्यवस्थित गर्नुपर्छ भन्ने बुझेको छु, अन्य साथीहरु पनि अनुभवी भएकाले आरोहण सफल हुनेमा विश्वस्त छौँ”, उनले भने ।

टासिलाक्पाले १९ वर्षको उमेरमा सगरमाथाको बिना अक्सिजन सफल आरोहण गरी कीर्तिमान बनाभएको थियो । आरोही टोलीका अर्का सदस्य ३० वर्षीय हालुङ्दोर्चीले सगरमाथा चार पटक र आठ हजार मिटरभन्दा माथिका आठ हिमालको आरोहण गरिसक्नुभएको छ । अर्का २६ वर्षीय आरोही पासाङ नर्बुले सगरमाथाको दुई पटक र आठ हजार मिटरभन्दा अग्ला पाँच हिमालको आरोहण गरेका छन् ।

त्यस्तै २८ वर्षीय मिङ्तेम्बा शेर्पाले सगरमाथाको दुई पटक र आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरिसक्नुभएको थियो । यसपटक सगरमाथाको नयाँ कीर्तिमान बनाएरै फर्कने उहाँको अठोट छ ।

पर्यटन विभागका निर्देशक मीरा आचार्यका अनुसार यस याममा सगरमाथा आरोहणका लागि तीन आरोही समूह गएका छन् । जसमा एक नेपाली र दुई विदेशी छन् । अघिल्लो वर्ष पनि दुई आरोही समूहले आरोहण अनुमति लिए पनि सफल भएका थिएनन् ।

विश्वमा बिरलै रुपमा यस्तो आरोहण हुने गरेको छ । सगरमाथाको वीन्टर सिजनमा सन् १९८० मा र सन् १९९३ मा विदेशीले झण्डै दुई महिना लगाएर सगरमाथा आरोहण गरेको पाइन्छ । नेपाली चार जनाको टोलीले भने यसपटक पाँच दिनमै सगरमाथाको चुचुरामा पुगेर विश्व कीर्तिमान राख्ने सङ्कल्प गरेका छन् ।

त्यसमा पनि हिमाल आरोहणका टोली नेता टासिलाक्पाको भने यो अफ सिजनमा विनाअक्सिजन सगरमाथाको आरोहण गरेर अर्को नयाँ विश्व कीर्तिमान कायम गर्ने लक्ष्य छ । आरोही टोलीले यही फागुन १७ गते सगरमाथाको चुचुरोमा पुगेर कीर्तिमान कायम गर्ने योजना बनाएको छ । उनीहरु आजै सगरमाथातिर लागेका छन् ।

आरोहीलाई आज संयुक्त पत्रकार सम्मेलन गरी बिदाइ गरिएको थियो । सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । सगरमाथा शिखरमा पहिलो पटक दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ का दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरामा पुगी विश्वलाई मानवीय साहस र क्षमताको अनुपम परिचय दिएका थिए ।

सगरमाथा आरोहण इतिहासको यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका क्रममा हालसम्म २९० भन्दा बढीको निधन भइसकेको बताइन्छ । कामिरितापछि हालसम्म आप्पा शेर्पा, ङिमानुरु शेर्पा र फुर्वाटासी शेर्पाले २१ पटक तथा आङ्दोर्जी शेर्पा, छेवाङ्ङिमा शेर्पा १९ र मिङ्माछिरी शेर्पाको १९ पटक सगरमाथा आरोहणको कीर्तिमान छ । त्यस्तै लाक्पारिता शेर्पाले १७ र निमा गोम्बु शेर्पाले १६ पटक सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागको विवरणमा सन् २०१९ को वसन्तकालीन मौसममा ६०० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । कीर्तिमानको नाममा ज्यानै जोखिम हुने र विश्वमा नकारात्मक सन्देश जाने भएकाले कीर्तिमानभन्दा पनि सफल र सुरक्षित आरोहणलाई ध्यान दिन सरोकार भएकाहरुले सुझाएका छन् ।

नेपाल भ्रमण वर्ष सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर सकारात्मक सन्देश दिनु ठूलो कुरा भएकाले कीर्तिमान भन्दा सुरक्षित आरोहणलाई ध्यान दिन आग्रह गरे ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले नेपालको पर्यटन साहसिक गतिविधिको पर्यायवाची भएकाले सगरमाथा आरोहणको कीर्तिमानले नेपाल गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले आरोहणमा शेर्पा समुदायको भूमिकाले नेपालको शिर उच्च बनाएको उल्लेख गरे । कीर्तिमानी आरोही कामिरिताले भ्रमण वर्षका सन्दर्भमा नेपाललाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभर प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  १० : ५५ बजे

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र

क्रिकेटर सन्दीपको पुनरावेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको

लगानीका लागि आशयपत्र आह्वान गर्न लागिएका २० परियोजना यस्ता छन्

काठमाडौं– आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

संसारभर मृत्युको कारण बन्दै क्यान्सर

दुःखका साथ भन्नुपर्ने हुन्छ कि अबका केही वर्षमा संसारमा सबै

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको