बर्खा लागेसँगै बाढीको चिन्ता, यो वर्ष पनि बनेन पुल « Khabarhub

बर्खा लागेसँगै बाढीको चिन्ता, यो वर्ष पनि बनेन पुल


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- विद्यालय पुग्नै दुई घण्टा समय लाग्ने यहाँका विद्यार्थी र स्वास्थ्य संस्था जाने सर्वसाधारणको सहजताका लागि निर्माण थालिएको झोलुङ्गे पुलको काम लठ्ठाका कारण रोकिएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको दोबिल्ला खोलामा निर्माण भइरहेको झोलुङ्गे पुलको काम लकडाउनका कारण लठ्ठा नआएर रोकिएको हो ।

पुल समयमा नबन्ने भएपछि गाउँपालिकाको कादेशगाउँबाट लेखानी माविमा दुई घण्टा पैदल हिँडेर पुग्ने विद्यार्थी सबैभन्दा धेरै मर्कामा पर्ने भएका छन् । यो वर्ष पनि पुल नबने बर्खाको समयमा जोखिम मोलेर विद्यालय जानुपर्ने लेखानी माध्यमिक विद्यालय कक्षा १० का विद्यार्थी नोवल पुनले बताए । नोवलजस्तै ४५ विद्यार्थी कादेशगाउँबाट लेखानी पढ्नका लागि पुग्छन् ।

दुई गाउँबीच बग्ने दोबिल्ला खोलाले बनाएको खोँचले उनीहरुको आउजाउमै दुई घण्टा लिने गर्छ । हिउँदमा ढुक्कले लामो बाटो हिँडेरै भए पनि विद्यालय आउजाउ गर्ने विद्यार्थीलाई बर्खामा उर्लिने दोबिल्ला खोलाको भेलले सधैँ पिरोल्ने गर्छ ।

विद्यार्थी मात्रै होइन, लेखानीको कादेशका सर्वसाधारणलाई स्वास्थ्य संस्था जाँदा होस् वा प्रशासनिक कामका लागि वडा कार्यालय पुग्दा समस्या उस्तै छ । “बर्खामा केटाकटी लिन र छाड्न जानुपर्छ, बढेको खोलाको डर हुन्छ”, कादेशका स्थानीय कृष्णबहादुर पुनले भने, “खोलामा पुल बने बाटो छोटिन्थ्यो, ढुक्क पनि हुन्थ्यो ।”

कादेशका सर्वसाधारणको मर्का बुझेको स्थानीय सरकारको पहलमा पूर्वाधार विकास कार्यालयमार्फत दोबिल्ला खोलामा झोलुङ्गे पुल निर्माण थालिएको छ । काम शुरु भएको पाँच महिनामा धेरथोर काम भएको छ । यसै आर्थिक वर्षमा काम सक्ने गरी मुक्तिनाथ निर्माण सेवाले काम थालेको हो तर यो वर्षको बर्खामा पनि लेखानीका सर्वसाधारणले पुलबाट वारपार गर्न भने नपाउने भएका छन् ।

लठ्ठा तान्नेबाहेकका पूर्वाधारको काम सकेको निर्माण कम्पनीले लकडाउनका कारण निर्माण सामग्री र लठ्ठा नपाउँदा काम रोकिएको जनाएको छ । “माघबाट शुरु गरेको काम असार मसान्तसम्म सकिन्थ्यो तर लठ्ठा आएन”, निर्माण कम्पनीका प्रमुख ओम गौचनले भने, “सरकारले जिम्मा लगाएको कम्पनीले दिनुपर्ने कार्यालय नै बन्द गरेर बसेका छन् ।”

नेपाल सरकारले जिम्मा दिएको ट्रायल ब्रिज युनिटले लकडाउनपछि कार्यालय खोलेको छैन । लठ्ठाका लागि पूर्वाधार कार्यालयले पत्र लेखेर पठाएको छ तर कार्यालय नै नखुलेकाले सम्पर्क गर्नै कठिन भएको गौचन बताउँछन् । “उहाँहरुले आएर हेर्ने र काम अघि बढाउने हो भने हामीले काम असारमै सक्थ्यौँ”, उनले भने, “अब त उपाय नै छैन, समय थपेर काम गर्नुपर्छ ।”

यो पुल बने लेखानीको कादेशका झण्डै ४५ विद्यार्थी र सो क्षेत्रका सर्वसाधारण लाभान्वित हुने वडाध्यक्ष चित्रकला छन्त्याल श्रीष बताउनुहुन्छ । तीन सय ५९ मिटर लम्बाइ र १.२५ मिटर चौडाइको यो पुल बने ओहोरदोहोरमा दुई घण्टा लाग्ने बाटो २० मिनेटमा छोटिने छ । लठ्ठा र केही पुलमा प्रयोग हुने सामग्रीबाहेक रु दुई करोड ९३ लाखको लागतमा यो पुल बनाउन लागिएको हो । लकडाउनको समयमा समेत सावधानी अपनाउँदै कामलाई सञ्चालन राखेको निर्माण कम्पनीले लठ्ठाका कारण समय र लागत बढ्ने जनाएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  १० : २० बजे

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता