काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दु:ख हैरानी दिई घुस (रिसवत) माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
विशेष सूचना एवम् उजुरी निवेदनका आधारमा आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले वलीलाई दश लाख रूपैयाँ घुस (रिसवत) रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
वलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १० लाख रूपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।














प्रतिक्रिया