भारतीय गुप्तचर ‘रअ’ को तरङ्ग | Khabarhub Khabarhub

भारतीय गुप्तचर ‘रअ’ को तरङ्ग



तीन दिनअघि (बुधबार) आएका भारतीय गुप्तचर संस्था रअ का निर्देशक सामन्त कुमार गोयलको नेपाल आगमनले धेरैमा आशंका पैदा गरिदिएको छ । गोयलको आगमनपछिका दिनहरू नेपाली राजनीति बृतमा मुल मुद्दाहरू मोडिएर नेपालभित्र ‘रअ’ को सक्रियता किन बढ्यो भन्ने बारेमा बहस सुरु भएको छ ।

यो मुद्दाले सत्तारुढ दल नेकपाभित्र नयाँ तरङ्ग ल्याइदिएको छ । चौतर्फी रूपमा आएका आलोचनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रिया जनाइसकेका छैनन् । सरकारका प्रवक्ता पनि यो विषयमा अहिलेसम्म मौन छन् । प्रधानमन्त्रीको सचिवालयले गोयलसँगको भेटघाट पुष्टि मात्र गरिदिएको छ तर, प्रधानमन्त्रीको सचिवालयले भेटको विषय र यसको तात्पर्यका बारेमा केही पनि खुलाएको छैन ।

‘रअ’ प्रति शंकाको कारण

पहिलो कुरा, ‘रअ’ को भूमिका के हो भन्ने बुझ्न जरुरी छ । भारतमा यसलाई खुफिया एजेन्सी पनि भनिन्छ । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामबाट यो विश्वभर प्रसिद्ध छ । यसको मुख्य काम हरेक देशका गोप्य सूचनाहरू भारतीय सरकारसमक्ष पुर्‍याउनु हो । भारतीय सरकारको यो मुख्य जासुसी संस्था हो ।

सन् १९२३ स्थापना भएको यो संस्थाले ब्रिटिशले भारतमा शासन गर्दा इन्टेलिजेन्स ब्युरोका रूपमा काम गरेको थियो । सन् १९६८ पछि रअ का नामबाट काम गर्दै आएको छ । यो संस्थाले भारतका प्रधानमन्त्रीको प्रत्यक्ष अधीनमा रहेर काम गर्छ । रअको प्रमुख नै प्रधानमन्त्रीको एक विशेष प्रतिनिधिकारूपमा अधिकारप्राप्त हुन्छ ।

यसैले, यसको काम र अधिकार सोझै भारतको केन्द्रीय सरकारसँग पहुँचमा रहन्छ । भारतमा आन्तरिकरूपमा काम गर्ने यस्ता खुफिया एजेन्सी एक दर्जनभन्दा बढी छन् । तर, ‘रअ’ ले अन्तर्राष्ट्रिय जासुस रूपमा प्रमुख भूमिका निर्वाह गर्छ । पाकिस्तानबाट टुक्र्याएर बङ्गलादेश बनाउन र सिक्किमलाई भारतमा गाभ्न ‘रअ’ को ठूलो भूमिका थियो भन्ने दाबी अन्तर्राष्ट्रिय जानकारहरूले छ । उनीहरू पाकिस्तानी भूमिमा भारतीय हस्तक्षेपमा पनि ‘रअ’ भूमिका हुने बताउँछन् ।

यति मात्र होइन, रअ विभिन्न देशसँग भारतको सुमधुर सम्बन्ध बनाउन पनि सफल भएको छ । सन् १९९० को दशकमा रुससँग निकट भएका बेला भारत अमेरिकासँग टाढिएको थियो । त्यो बेला अमेरिकासँग सम्बन्ध नजिक बनाउन रअको भूमिका प्रमुख थियो ।

विगतमा रअको भूमिका

यो संस्थाको कामको परिणाम सोझै देखिँदैन । अहिले रअ प्रमुख गोयल किन आए भन्ने दूरगामी परिणाम पछिसम्म रहने विश्लेषण जानकारहरूले गरिसकेका छन् । कसरी काम गर्छ रअले र यसको उद्देश्य केहो भन्ने बारेमा अवगत हुन जरुरी छ ।

यो गुप्तचर एजेन्सीको सक्रियता पछिल्लो पटक ताइवानमा केन्द्रित छ । चीनले केही दिनअघि यसबारेमा भारतलाई आरोप लगाएर चेतावनी दिइसकेको समाचार बाहिर आएको छ । पछिल्लोपटक भारत–चीन सिमाना विवाद र युद्धले निम्त्याएको द्वन्द्वमा रअले ताइवानमा सक्रियता बढाएर ताइवानलाई स्वतन्त्र राष्ट्रको पहिचान दिन थालेको चीनको आरोप छ ।

रअको कामको परिणाम सोझै देखिँदैन । अहिले रअ प्रमुख गोयलको नेपाल आगमनको दूरगामी परिणाम पछिसम्म रहने विश्लेषण जानकारहरूले गरिसकेका छन् । सरकारले रअ प्रमुखसँगको भेटबारे प्रष्ट पार्न जरुरी छ ।

विगतदेखि नै यो संस्थाले विभिन्न देशका आन्तरिक विषय आफ्नो सरकारसमक्ष पुर्‍याउने र भारतीय पहुँच सम्बन्धित देशमा केन्द्रित गर्न सफल भएको छ । रअको सफलता र असफता सुरुमै देखिँदैन ।

१९८१ मा जब इन्दिरा गान्धीले चुनाव जितेकी थिइन्, तब रअको सक्रियताले सोझै अमेरिकासँग नयाँ सम्बन्ध कायम गर्न सफल भइन् । त्यो बेलासम्म अमेरिका भारतसँग निकै चिढिएको थियो । यसलाई मिलाउने काम नै रअले गरेको गरेको थियो । अमेरिकी विदेश मन्त्रालय र रक्षा मन्त्रालयमा भारतप्रतिको अविश्वासलाई विश्वासमा बदल्न रअको भूमिका हुने भारतीय इतिहासकारहरूले उल्लेख गर्दै आएका छन् ।

रअकै कारण सन् १९८२ मा इन्दिरा गान्धीलाई अमेरिकाले भ्रमणका लागि निम्ता गरेको थियो । इन्दिरा गान्धीको त्यो भ्रमणले अमेरिका–भारत सम्बन्धमा नयाँ आयाम थपेको थियो ।

भारतीय जानकारहरू भन्छन्- ब्रिटिशले भारत छोडेपछि विशाल भारत निर्माण गर्न रअको भूमिका अब्बल रहेको छ । यसका पछिल्ला उदाहरण हुन्- सिक्किमको भारतमा विलय र उत्तराखण्डको विशाल भूभाग समेट्न सक्नु । त्यसैले, भारतमा रअलाई सरकार सञ्चालनमा विदेशीसँग अल्झिएको ताल्चाको ‘चाबी’ भन्ने गरिन्छ, जसले जुनसुकै देशसँग पनि बिग्रिएको सम्बन्धको ताल्चा सजिलै खोल्न सक्छ ।

सम्भवतः नेपालसँग पछिल्लोपटक देखिएको सीमाना सम्बन्धको मनमुटावमा गोयलको आकस्मिक भ्रमण भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

हरेक देशका सूचनामा अगाडि

जम्मु–कश्मिरमा भारत–पाकिस्तानको दाबीका सम्बन्धमा विश्व दुई भागमा ध्रुवीकृत छ । यो भम अहिलेसम्म भारतकै अधीनमा छ । तर, पाकिस्तानले आफ्नो भूमि हो भन्ने दाबी छोडेको छैन । एकातिर, पृथकतावादीहरूको आन्दोलन र अर्कोतिर पाकिस्तानको दाबीलाई निस्तेज बनाउन भारतले आफ्नो पकड जब्बर पार्दै लगेको छ । त्रिपक्षीय युद्धका कारण त्यहाँका नागरिक पीडित छन् । केहीले युरोपमा शरण लिइसकेका छन् ।

यो विषयमा भारतीय जानकारहरू भन्छन्– जम्मु–कश्मिरमा रअको भूमिका रचनात्मक नभएको भए सम्भवत कि यो भूभाग अलग देश भइसक्थ्यो, कि पाकिस्तानमा विलीन हुन्थ्यो ।

भारतको यो भूमि जोगिनमा रअको प्रमुख भस्मिका रहेको भारतीय उच्च सुरक्षा निकायको निष्कर्ष छ ।

पाकिस्तानले निर्माण गर्ने हतियारदेखि आक्रमणका सूचना पहिल्यै प्राप्त गर्न रअ सधैँ सफल रह्यो । सन् १९७७ मा पाकिस्तानको कहुटा परमाणु संयन्त्रको डिजाइनको सूचना पहिलो पटक रअले चुहाएको विवरण बाहिर आएको थियो ।

सन् १९९९ मा कारगिल युद्धको दौरान पाकिस्तानका तत्कालीन सेनाध्यक्ष जनरल परवेज मुसर्रफ चीनको यात्रामा थिए । यो बेला ‘चिफ अफ आर्मी स्टाफ’ लेफ्टिनेन्ट जनरल आजिज खानले उनलाई बेइजिङ फोन गरेर प्रधानमन्त्री नवाज सरिफले पाकिस्तानी वायु सेना र नौ सेनाका प्रमुखहरूलाई बोलाएर जनरल मुसर्रफले आफूलाई कारगिल युद्ध बारेमा जानकारी नै नदिएको बताएका थिए । यो गुनासो र टेलिफोनका कुराहरू आफ्नोसरकारलाई पठाउन रअ सफल भयो ।

त्यतिबेला सरकार र युद्धरत माओवादीको वार्ता भङ्ग गराउन रअको भूमिका थियो भन्ने गरिन्छ । वार्ता सफल भएको भए नेपालमा राजतन्त्र अन्त्य हुँदैनथ्यो भन्ने अड्कल धेरैको थियो । रअ र माओवादीबीच छलफल हुने र सोही बमोजिम नेपाल सरकारलाई असजिलो पार्ने रणनीति रअले लिने गरेको थियो ।

त्यो बेलाको अमेरिकी राजदूतावासमा समेत यो सूचना पुगेको समाचार बाहिर आएको थियो । सोही सूचनाका आधारमा पाकिस्तानभित्रको विवादको कमजोरीलाई टेकेर भारत युद्धको व्यापक तयारी गर्न सफल भएको थियो ।

अर्कोतिर, रअको भूमिकाका कारण सिख पृथकतावादीको आन्दोलन असफल भएको पुष्टि हुन्छ । आन्तरिक होस वा बाह्य सबै प्रकारका हस्तक्षेपकारी षड्यन्त्रको पहिलो सूचक रअ हुने गरेको छ । त्यसैले, भारतमा रअले आफ्नो देश जोगाउन अन्य देशका तयारीको सूचना भारत सरकारसमक्ष पुर्‍याउन ठुलो भूमिका निर्वाह गरेको प्रमाणित भइसकेको छ ।

अमेरिका, रुस, फ्रान्स, बेलायत र जर्मनीसँगको कूटनीतिक सम्बन्धमा हुने दरारमा सही सूचना भारतीय सरकार समक्ष पुर्‍याएर ती देशहरूसँग निकट रहने प्रयासमा रअको भूमिका निकै अगाडि देखिन्छ ।

नेपालमा ‘रअ’ को भूमिका

भनिन्छ, नेपालमा राजतन्त्र पतन हुनुमा रअ को पनि भूमिका थियो । नेपालमा राजतन्त्र हटाइएको विषयमा रअका एक पूर्वप्रमुख अमर भूषणले आफ्नो पुस्तक ‘इनसाइड नेपाल’ मा संकेत गरेका छन् । यो पुस्तकमा भूषणले पहिलो राजतन्त्रलाई कमजोर बनाउन संवैधानिक राजतन्त्र बनाउनेदेखि राजनीतिक दलको आन्दोलनका बलमा राजतन्त्र हटाउन रअले गोप्य भूमिका निर्वाह गर्न भारत सरकारसँग समन्वय गरेको बताएका छन् ।

राजतन्त्र हटाउन तत्कालीन माओवादीलाई युद्धमा उतार्न रअको भूमिका थियो भन्ने कुरा नेपाली जानकारहरूले पनि बताउँदै आएका छन् । राजतन्त्र हटाउन तत्कालीन माओवादीका नेताहरूलाई भारतमा शरण दिन र त्यहीँबाट युद्धको तयारी थाल्न भारतले सहयोग गरेको भन्ने कुरा उनको पुस्तकमा पढ्न पाइन्छ । यो विषय तत्कालीन माओवादी गतिविधिले सिद्ध गरिसकेको छ ।

त्यतिबेला सरकार र युद्धरत माओवादीको वार्ता भङ्ग गराउन रअको भूमिका थियो भन्ने गरिन्छ । वार्ता सफल भएको भए नेपालमा राजतन्त्र अन्त्य हुँदैनथ्यो भन्ने अड्कल धेरैको थियो । रअ र माओवादीबीच छलफल हुने र सोही बमोजिम नेपाल सरकारलाई असजिलो पार्ने रणनीति रअले लिने गरेको थियो ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गरेको वार्ताका विषय र यसका सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्छ । होइन भने विगतमा रअको सक्रियताले नेपालले भोग्नु परेका अप्ठ्याराहरू नदोहोरिन सक्छन् ।

तत्कालीन अवस्थामा प्रधानमन्त्री राजीव गान्धीको सरकारले नेपालको आन्दोलनलाई सहयोग गरेर राजतन्त्र कमजोर बनाइदिएको एकथरि जानकारहरूको भनाइ छ । रअले राजतन्त्र अन्त्य गर्ने सम्बन्धमा तत्कालीन माओवादीलाई सहयोग गरेको प्रमाणित हुन्छ ।

नेपाल र भारतबीचको सीमाना विवादमा जहिल्यै रअले नेपाल सरकारलाई दबाबमा राख्न भारतीय शासनसँग गलत सूत्रहरू सुझाउने गरेको छ । टनकपुर होस् या महाकाली सन्धि, नेपाल पछि पर्नुमा रअको भूमिका थियो भन्ने गरिन्छ । २०४७ र ०७२ को नेपालको संविधानमा जातीय विषय घुसाएर जातीय भड्काव सृजना गर्न र राष्ट्रियता कमजोर बनाउन रअको सक्रियता निकै बढेको विगतले देखाइसकेको छ ।

पछिल्लोपटक नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा समेटेपछि भारतीय सरकार चिढिएको छ । नेपालले वार्ताका विषय जाहेर गर्दा भारतले सुन्न चाहेको थिएन । नक्सामा समेटेपछि प्रत्यक्ष भोगचलनका लागि नेपालले भारतसँग वार्ता गर्न चाहेको छ । तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषय अस्वीकार गर्दै आएका छन् । यही विषयमा नेपाललाई दबाब दिन भारत सरकारकै रणनीति अनुरूप अहिले रअ प्रमुख गोयल नेपाल आएका हुन् भन्ने ठम्याइ धेरैको छ ।

खासगरी, नेपालका हरेक परिवर्तनमा भारतको उपयोग रणनीति चरम देखिएको छ । २०६२/०६३ को जनआन्दोलन लगत्तै ०६४ मा भारतको पटनामा मधेशवादी दलको उपस्थिति रहेको भेलाले स्वायत्त मधेस घोषणा गर्ने र रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउने योजना जस्तो गम्भीर षडयन्त्रमूलक भूमिकामा रअ नै रहेको चर्चा अझै छ ।

नेपालमा हुने परिवर्तनमा रअको भूमिका नकारात्मक थियो भन्ने विगतले प्रमाणित गरिसकेको छ । यो, गम्भीरता मनन गरेर ओली सरकार जिम्मेवार बन्न सकेन भने कुनै दिन यसको परिणाम नेपालका लागि घातक हुन सक्छ ।

२०७४ सालको अन्त्यमा केपी ओलीको नेतृत्वमा सरकार बनेपछि रअको सक्रियता पुनः सुरु हुन थालेको थियो तर, ओली यसलाई महत्व दिएका थिएनन् । भारतीय नाकाबन्दीबाट उब्जेको भारतको विरोधदेखि कालीपानी क्षेत्रको नक्सा समेट्दासम्म नेपाल सरकारसँग भारतीय शासकले फरक दृष्टिकोण राख्न थालेको थियो । भलै, बेलाबेलामा ओली–मोदी टेलिफोन संवाद भए पनि यी र यस्ता दुवै देशका सवालमा कहिल्यै कुराकानी भएन । किनकि, भारतले नेपालका कुनै पनि प्रस्ताव सोझै स्वीकार गरेको छैन ।

यसमा पनि भारत सरकारसँग रअको ब्रिफिङ गलत रहेको नेपाली जानकारहरूको बुझाइ आएको छ रअले नेपालको विषयमा गलत सूचना भारत सरकारलाई दिएसम्म सीमाना विवाददेखि व्यापारिक सम्झौतामा समाधान ननिस्कने नेपाली विज्ञहरूको भनाइ छ ।

अहिले गोयलको भ्रमणप्रति नेपाल सरकार गैरजिम्मेवार ढङ्गले प्रस्तुत भएको प्रमाणित हुन्छ । प्रोटोकलका हिसाबले गोयलले कुनै नेपालको सुरक्षा प्रमुखसँग भेट्न सक्थे । उनले सोझै नेपालका प्रधानमन्त्रीसँग पहुँच राख्दा सार्वभौम मुलुकको स्वाभिमानमा आँच आउने खतरा देखिन्छ । यसतर्फ ओली सरकार कमजोर सावित भएको छ । यसबारे सही ढङ्गले जनताको चित्त बुझ्ने जवाफ दिन ओली सरकारले ढिलाइ गर्न हुँदैन ।

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग गरेको वार्ताका विषय र यसका सम्बन्धमा सरकारले स्पष्ट पार्नुपर्छ । होइन भने विगतमा रअको सक्रियताले नेपालले भोग्नु परेका अप्ठ्याराहरू दोहोरिन सक्छन् । नेपालमा हुने परिवर्तनमा रअको भूमिका नकारात्मक थियो भन्ने विगतले प्रमाणित गरिसकेको छ । यो, गम्भीरता मनन गरेर ओली सरकार जिम्मेवार बन्न सकेन भने कुनै दिन यसको परिणाम नेपालका लागि घातक हुन सक्छ । धन्यवाद ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १ : ३३ बजे

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङका डढेलो निभाउने क्रममा एकजना वृद्धले ज्यान गुमाएका छन् ।

कालीकोटकै नमूना स्याउ फोइमहादेवमा

मान्म– कालीकोट जिल्लाकै नमूना स्याउ बगैँचा तिलागुफा नगरपालिका–३ फोइमहादेव गाउँमा