विधिपूर्वक गरियो महागौरीको पूजाराधना « Khabarhub

विधिपूर्वक गरियो महागौरीको पूजाराधना


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीको आठौँ दिन महागौरीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिली शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाराधना गरियो ।

दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी देवी र सातौँ दिन कालरात्रिको विधिपूर्वक पूजाराधना गरियो । दुर्गा पक्षको आठौँ दिन आज महागौरीको विशेष पूजाराधना गरिएको हो ।

नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष विजयादशमीको साइत यही कात्तिक १० गते बिहान १०ः१९ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका थाप्न कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । देवीका आराधनाका साथ प्रसाद ग्रहण गरी नेपालीले १५ दिनसम्म बडादशैँ पर्व मनाउँछन् ।

महागौरीको स्वरुप

महागौरीको रङ पहिलो केही कालो भएकाले एक पटक भगवान् शिवले देवीलाई ख्यालठट्टामा ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । तिनले अत्यन्त कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी भनिएको हो भन्ने विषय विभिन्न पुराणमा वर्णन गरिएको छ ।

सेतो वृषभमाथि चढ्ने गोरो वर्णकी श्वेतवस्त्र धारण गरेकी स्वरुपमा महागौरी हुन्छिन् भन्ने पुराणमा लेखिएको छ । दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । धेरै शक्तिपीठमा भक्तजनले बाहिरैबाट दर्शन गर्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेका छन् ।

दशैँको आठौँ दिन आज शक्तिपीठमा पूजाराधना गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोनाको त्रासका कारण घरमै बसेर मानसिक रुपमा स्मरण गर्न भक्तजन बाध्य छन् । घरघरमा भने बलिसहित पूजाराधना गरी नेपालीले आजको दिनलाई विशेष रुपमा मनाएका छन् । बलिसहित पूजा गरेपछि प्रसादका रुपमा ग्रहण गर्ने परम्परा पनि नेपाली समाजमा छ ।

महाष्टमी पूजा

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिएको छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशुबलि दिई दुर्गाको विशेष पूजा गरिन्छ । आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाराधनासहित मनाउने गरिन्छ ।

कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा गर्न नपर्ने विधान रहेको जनाइएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ९ : २५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।