संकटमा फिल्मी क्षेत्र, ‘सेल्फ क्वारेन्टाइन’मा सेलिब्रेटी « Khabarhub

संकटमा फिल्मी क्षेत्र, ‘सेल्फ क्वारेन्टाइन’मा सेलिब्रेटी



काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वकै फिल्म बजारमा असर परेको छ । चीनको वुहानबाट शुरु भएको कोभिड–१९ ले चीनमा झण्डै ७० हजार फिल्म हल बन्द गरिए ।

संक्रमणका कारण चीनको फिल्म बजार पूर्णरूपमा असर पर्‍यो । दर्जनौं फिल्मको प्रदर्शन मिति स्थगित गरियो ।

करिब दुई महिनापछि भने चीनको फिल्म बजार आफ्नो लयमा फर्किर्ने तयारीमा छ । फिल्म घरहरू पुनः खुला गर्ने तयारी भएको छ । पहिलेको अवस्थामा फर्कने भने कति समय भने लाग्छ, अनिश्चित छ ।

चीनको फिल्म बजार विश्वकै दोस्रो ठूलो फिल्म बजार मानिन्छ ।

हालै हलिउड फिल्म ‘नाइम टु डाइ’ को पनि प्रदर्शन मिति स्थगित गरिएको थियो । सम्भवतः कोरोना भाइरसका कारण स्थगित गर्नुपरेको पहिलो फिल्म यही नै थियो । योसँगै मुलन, फास्ट एण्ड फ्युरियस ९ लगायतका फिल्मको रिलिज स्थगित गरिएको छ ।

कोरोना भाइरस संक्रमणको असर हलिउडमा पनि परेको छ । द गार्जियनका अनुसार हलिउडमा फिल्मी क्षेत्रमा काम गर्ने १ लाख २० हजारभन्दा बढी कामदार बेरोजगार भएका छन् । तीमध्ये हजारौं कामदारले सहयोगको अपील गरेका छन् ।

कोरोना भाइरसका कारण चीनमा फिल्म हल बन्द गरिएका थिए । तस्वीर – गेट्टी इमेज ।

हलिउडमा एकपछि अर्को गर्दै फिल्मको प्रदर्शन मिति स्थगन गरिएको छ । संसारकै सबैभन्दा ठूलो मानिने कान्स फिल्म फेस्टिभल पनि स्थगित भएको छ । हलिउडमा फिल्मको छायांकन, फेस्टिभल र अन्य कार्यक्रम धमाधम स्थगित भएका छन् ।

छिमेकी मुलुक भारतको फिल्म उद्योगमा पनि असर परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जनता कर्फ्यु’ को आह्वान गरेपछि फिल्म क्षेत्रमा प्रत्यक्ष असर परेको छ । शहरका हल बन्द छन् । अहिले त झन् भारतमा २१ दिने ‘लक डाउन’ घोषणा गरिएको छ ।

कोरोना संक्रमणको प्रभाव हालै रिलिज भएको फिल्म ‘बागी ३’ मा पनि परेको छ । पहिलो हप्ता बक्स अफिसमा उत्साहजनक व्यापार गरेको यो फिल्मले केही हप्तायता भने कमाइ गर्न सकेन ।

बलिउडका धेरै फिल्मको निर्धारित प्रदर्शन स्थगित गरिएको छ । छायांकन पनि रोकिएको छ । बलिउडका व्यस्त अभिनेताहरू फुर्सदमा छन् । धेरै सेलिब्रेटीहरू ‘सेल्फ क्वारेन्टाइन’ मा छन् ।

अभिनेता राजेश हमाल यतिबेला सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । तस्वीर – राजेश हमालको फेसबूकबाट ।

नेपालमा पनि सरकारले सबै फिल्म हल बन्द गराएको छ । खुला सीमानाले जोडिएको छिमेकी भारतमा कोरोनाको संक्रमण देखिएसँगै नेपालमा उच्च सतर्कता अपनाइएको छ ।

सरकारले वैशाख १८ गतेसम्म हलमा फिल्म प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ । फागुन ३० मा प्रदर्शन हुने तयारीमा रहेको सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु २’ को पनि प्रदर्शन मिति स्थगित गरिएको थियो । त्यस्तै चैत ७ गते प्रदर्शन हुने तयारीमा रहेको ‘नीरफूल’ पनि स्थगित गरिएको थियो ।

चैतमा प्रदर्शनमा आउने भनिएको ‘लक्का जवान’, ‘चपली हाइट ३’‘प्रेमगीत ३’ पनि अब निर्धारित समयमा रिलिज नहुने भएका छन् ।

नेपालका फिल्म हलले सूचना जारी गरेर हल बन्द गरिएको बताएका थिए ।

कोभिड–१९ संक्रमणको त्रासले फिल्म फेस्टिभल र छायांकनको तालिका पछि सारिएको छ ।

वितरक गोपालकाजी कायस्थका अनुसार सरकारले हल बन्द गर्न भनेको यो डेढ महिनामा झण्डै दश करोड रुपैयाँ घाटा पर्छ । करोडौं लगानी गरेर फिल्म बनाउनेलाई पनि प्रत्यक्ष असर पर्छ ।

कोरोनाको संक्रमणको त्रासले फिल्महरू त बन्द गरिएका छन् नै । छायांकन धमाधम भएका फिल्मको पनि काम रोकिएको छ । के घर के डेरा, ए मेरो हजुर ४, दुई नम्बरी लगायतको छायांकन रोकिएको छ ।

फिल्म क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारको गुजारामा पनि असर पुगेको छ ।

एउटा फिल्म बन्दा झण्डै सय जनाले रोजगारीको अवसर पाएका हुन्छन् । हलमा बन्द गर्नुपर्दा कर्मचारीलाई बिदा दिइएको छ ।

गोपालकाजी कायस्थका अनुसार फिल्म निर्माण गर्नेले करोडौं रुपैयाँ ब्याजमा लिएको हुन्छ । कमाउनुपर्नेमा उल्टो घाटा बेहोर्नुपर्छ ।

यसै पनि नेपाली फिल्मलाई आफ्नो लगानी उठाउन हम्मे पर्छ । फिल्मको विदेश राइटस् बिक्री गरेर पनि लगानी उठाउने गरिन्छ तर फिल्म समयमा नचल्दा भने थप घाटा हुने सम्भावना हुन्छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज हुने भनिएको ‘प्रेमगीत ३’ अब सो मितिमा रिलिज नहुने भएको छ । निर्देशक सन्तोष सेन भन्छन्, ‘फिल्मको छायांकनमै हामीले समय खर्चेका कारण चैत २८ मा रिलिज गर्न गाह्रो देखिएको थियो तर हामी सोही मितिमै रिलिज गर्ने तयारीमा थियौं ।’

‘प्रेमगीत ३’ को लगानी झण्डै ४ करोड पुगेकाले प्रचारमा पनि समय लाग्ने सेन बताउँछन् । कोरोना भाइरस संक्रमणको प्रभाव कम हुँदै जाने र फिल्म क्षेत्र सामान्य हुनेमा उनी विश्वस्त छन् ।

‘चालीस वर्षको अनुभवमा मैले पहिलोपटक यस्तो क्षति भएको थाहा पाएँ,’ वितरक गोपाल कायस्थ भन्छन्, ‘केही समयपछि त हामीले तलब दिन नसक्ने हो कि भन्ने अवस्था आउँछ, हजारौंको रोजगारी धरापमा परेको छ ।’

दशवर्षे लामो जनयुद्ध र २०७२ सालको महाभूकम्पमा पनि यस्तो क्षति बेहोर्नु नपरेको कायस्थ बताउँछन् । उनका अनुसार नेपाली फिल्मकर्मीले भोगेको यो क्षति अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

म्युजिक भिडियो र फिल्ममा व्यस्त हुने अभिनेता पुष्प खड्का अहिले फुर्सदमा छन् । उनी भन्छन्, ‘कोरोनाले फिल्म क्षेत्रलाई पूरै प्रभाव पारेको छ, माहोल यस्तो बनिदियो कि, हामीलाई सेल्फ क्वारेनटाइनमा बस्न बाध्य बनायो ।’

धेरैजसो कलाकार सेल्फ क्वारेनटाइनमा छन् ।

‘अहिले त मान्छे खोक्दा पनि डर लाग्ने अवस्था सिर्जना भएको छ,’ पुष्प भन्छन्, ‘कोरोनाका कारण अहिले कमाइ छैन तर अर्थ मात्र ठूलो कुरा होइन, स्वस्थ रहन जरुरी छ ।’

सबैजना सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने पुष्पको धारणा छ । उनी भन्छन्, ‘न सेलिब्रेटी, न धनी, न गरीब, न त खेलाडी या नेता, सबैलाई प्रभाव पारेको छ, यसले मानवीय पाठ पनि सिकाएको छ ।’

फिल्म कलाकारहरूले कोभिड–१९ संक्रमणबाट बच्ने उपायबारे सजग पनि गराएका छन् ।

अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबूकमा भिडियो शेयर गर्दै भनेका छन्, ‘सचेत हुनुस्, सकभर घरबाहिर ननिस्कनुस्, साबुन पानीले राम्रोसँग हात धुनुस्, आफ्नो ख्याल गर्नुस् ।’

कलाकारहरू निखिल उप्रेती, हरिवंश आचार्य, सीताराम कट्टेल, अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, केकी अधिकारी लगायत कैयन् सेलिब्रेटीले सेल्फ क्वारेन्टाइनबाटै स्वास्थ्य सबैभन्दा ठूलो भएको भन्दै सतर्क रहन र सकभर घरमै बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १२ : ०८ बजे

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक,

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थप्न  सरकारलाई आग्रह

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण