कोरोनाका बिरामी थपिँदै जाँदा डाक्टर र नर्सको डर हराउँदै गयो | Khabarhub Khabarhub

कोरोनाका बिरामी थपिँदै जाँदा डाक्टर र नर्सको डर हराउँदै गयो


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पताल, धनगढीमा गत चैत ११ गते पहिलोपटक एक जनाका कोरोना संक्रमण देखियो । त्यो केस संघीय राजधानी काठमाडौं बाहिरको पहिलो र देशभरको चौथो थियो ।

आंशका गरिएका व्यक्तिलाई आइसोलेसनमा राख्ने र कोरोना परीक्षण गर्ने काम सेती अस्पतालमा संक्रमण देखिनुअघि नै भइरहेको थियो ।

अस्पतालमा पहिलो केस आउँदा त्यहाँ कार्यरत चिकित्सक र नर्सहरूमा मानवीय प्रवृत्तिअनुसारै मनमा स्वाभाविक डर थियो ।

चिकित्सक र नर्सहरूले बिरामीको उपचार गर्नु आफ्नो कर्तव्य सम्झिए । उपचारमा संलग्न डाक्टर शेरबहादुर कमरलाई अस्पतालमा संक्रमण पुष्टि भएपछि आफूलाई पनि सर्छ कि भन्ने त्रास भयो ।

‘हाम्रो अस्पतालमा कोरोनाका बिरामीको उपचारको पूर्वतयारी गरिएको थियो, बिरामी देखिन्छन् भन्ने लागेको थियो, पहिलो केस देखिदा चाहिँ फैलिने हो कि भन्ने डर हामीलाई पनि लाग्यो,’ डा. कमरले खबरहबसँग भने, ‘रोगको विषयमा हामीले जानकारी लिइरहेका थियौँ, इम्युनिटी पावर भयो भने जित्न सकिन्छ भन्ने विश्वास लिएर काममा लाग्यौँ ।’

चैत २२ गते भर्ना भएका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भयो । वैशाख १ गते पनि अर्का संक्रमित थपिए । अस्पतालमा संक्रमितको संख्या बढ्दै जाँदा उपचारमा संलग्न चिकित्सक र नर्समा मनको त्रास पनि कम हुँदै गएको नर्सिङ इन्चार्ज सीमा शर्माको भनाइ छ ।

‘म सुरुका केसहरूमा बिरामीको क्लोज कन्ट्याक्टमै थिएँ, हाम्रो अस्पतालमा एकजना, तीजना हुदै पाँचजना बिरामी थपिनु भयो,’ उनले भनिन्, ‘पहिलो केस आउँदा अलि डर लागेको थियो । बिरामी थपिँदै गएपछि डर कम हुँदै गयो, हामी खट्नुपर्छ भन्ने भावना आयो, बिस्तारै डर आफैँ हरायो ।’

सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ५ जनामध्ये ४ जना निको भएर फर्किएका छन् । चैत २२ गते भर्ना भएका मध्ये एकजना उपचारमै छन् । उक्त अस्पतालमा अहिले कोरोना संक्रमित एक जनामात्र छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार साँझसम्ममा कोरोना संक्रमितको संख्या ४९ रहेको छ भने १२ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना संक्रमितको उपचारमा संलग्न डा. कमरका अनुसार चिकित्सकहरूले आइसोलेसनमा भएका बिरामीसँग हरेक दिन बिहान फोनमा कुरा गरेर स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेका थिए ।

‘आइसोलेसनमा हुनुभएका संक्रमितलाई हाम्रो नम्बर दिएका थियौँ, बिहान सबैभन्दा पहिला बिरामीसँग फोनमा कुरा हुन्थ्यो, कोरोनाको लक्षणहरू फोनमै सोध्ने गथ्र्यौं,’ डा कमरले भने, ‘जटिलताहरू छ÷छैन वा जटिलता आउन सक्ने संकेत छ कि छैन भनेर प्रेसर र तापक्रम नाप्ने, श्वासप्रश्वासको अवस्था जाँच्ने काम नर्सिङ स्टार्फले गर्नुभएको थियो ।’

बिरामीको अवस्था सामान्य रहेकाले पनि उपचार गर्न कठिन नभएको डा. कमरले बताए ।

‘सामान्य अवस्थाबारे बुझ्न नर्सिङ स्टार्फहरू खटिनुहुन्थ्यो,’ डा. कमरले भने, ‘हाम्रो आवश्यकता परे बोलाउनु भनेका थियौँ, सामान्य अवस्थामा दुई–तीन दिनमा मात्र हेर्न जाने गरेका थियौँ ।’

डा. कमरका अनुसार भर्ना भएका पाँच जनामध्ये एकजनामा केही समस्या देखिएकाले औषधिहरू खुवाइएको थियो । ‘एकजना बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, एन्जाइटी हुने समस्या देखिएको थियो,’ डा कमरले भने, ‘ती बिरामीलाई ज्वरो र पखालको सामान्य औषधि खुवायौँ, कडा औषधि कसैलाई पनि दिनु परेन ।’

कोरोनाका बिरामीलाई फोक्सोमा संक्रमणको जोखिम हुने भएकाले हरेक साताको एकपटक छातीको एक्सरे गरेको र मिर्गौला, मुटु लगायतका अंगको अवस्था पनि जाँच गरेको डा. कमरले सुनाए ।

चिकित्सकहरूले प्रत्येक साता संक्रमितको कोरोना परीक्षण गरे, रिपोर्ट नेगेटिभ आए केही दिनको फरकमा दोस्रो परीक्षण गरे अनि यही विधिबाट टुंगो थरी ४ जना अस्पतालबाट विदा भए ।

कोरोना संक्रमितको प्रत्यक्ष निगरानीमा संलग्न नर्स शर्माका अनुसार जटिल नहुँदा बिरामीले नै आफ्नो नजिक नआउनु भन्ने गरेका थिए । ‘हामीले बिरामीको लागि फोनको व्यवस्था गरेका थियौँ, आवश्यकता पर्दामात्र हामी बिरामीनजिक जाने गरेका थियौँ,’ शर्माले भनिन्, ‘बिरामीले नै आवश्यक परे फोन गरेरै बोलाउँछौँ, धेरै आउनु पर्दैन भन्नुहुन्थ्यो ।’

डाक्टर–नर्सलाई परिवारसँग फोनकै भर

बिरामीको सेवामा खटिँदै गर्दा डाक्टर र नर्सको मनमा त्रास कम हुँदै गए पनि उनीहरूका परिवारजन भने चिन्तित थिए । काम छाडेर घर फर्क भन्न पनि सक्दैन थिए । फोन र म्यासेन्जरबाट परिवारजनले सचेत गराइरहन्थे ।

डा. कमरले आफ्ना परिवारजनालई नभेटको पनि दुई महिना भयो, अस्पतालको अस्पताल ।

‘म सेतीमा काम गर्न थालेको ५ वर्ष भयो । मेरो घर काठमाडौँ हो । परिवार घरमै हुनुहुन्छ, यहाँ क्वाटरमा दुई जना छुट्टै कोठामा बस्छौँ, अरू साथीहरू होटलमा बस्नुभएको छ,’ डा. कमरले भने, ‘महिनामा एकपटक घरमा जाने गरेको थिएँ, अहिले २ महिनादेखि जान पाएको छैन,
‘छोराछोरी, आमा, साथीभाइहरू, मेरा गुरुहरू सबैले फोन गरेर सुरक्षित भएर काम गर्नु भनिरहनु हुन्छ ।’

बिरामी निको भएर घर फर्किएको खबर सुनाउँदा भने सबै खुसी हुने गरेको डा. कमरले बताए । ‘बिरामी निको भएको खबर सुनाउँदा परिवार र शुभचिन्तकले गर्व महसुुस गर्नुहन्छ,’ उनले भने, ‘बिरामी निको भएर फर्किंदा खुसी लाग्छ ।’

नर्स शर्मा पनि कोरोनाका बिरामीको उपचारमा लागेपछि घर गएकी छैनन् । घरमा सानी छोरी र वृद्धावस्थाका सासु–ससुरा छन् । उनी अस्पतालले व्यवस्था गरिदिएको होटलमा बस्छिन् । उनकी ६ वर्षे छोरीले ममी केयर गर्नुस् है भन्दै फोन गर्छिन् । छोरीको फोनले उनी खुसी हुन्छिन् ।

‘मेरो श्रीमान् पनि मेडिकल फिल्डमा हुनुभएकोले परिवारले पनि मेरो काम बुझ्नुहुन्छ, म अहिले होटलमै बसेकी छु, घरमा फोन र भिडियो कल हुन्छ,’ शर्माले भनिन् ।

यस्तो छ अस्पतालको प्रबन्ध

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमणको आशंका गरिएका तथा संक्रमितको उपचारका लागि चिकित्सकको टोली बनाएको छ ।

डाक्टर, नर्स, पारामेडिक्स, ल्याब, सरसफाइ र लजिस्टिक व्यवस्थापन टिम बनाएर काम गरेको डा. कमरले बताए ।

उनका अनुसार विदेशबाट आएका तथा ज्वरो आएर अस्पताल आएका बिरामीको सामान्य परीक्षण पारामेडिक्सहरूले गर्छन् । कोरोना आशंका गरिएका बिरामीको जाँच मेडिकल अफिसरको टिमले गर्छ । तेस्रो स्टेसनमा कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिका लागि ल्याब टेक्निसियनहरूले काम गर्छन् ।

कोरोनाको शंका गरिएका, लक्षण देखिएका तथा पुष्टि भएका बिरामीका लागि अलग–अलग आइसोलेसन वार्ड छन् । त्यहा डाक्टर र नर्सहरूको ड्युटी रुटिङ हुन्छ ।

अस्पतालले चिकित्सक र नर्सलाई लगातार एकसाता ड्युटीमा राख्ने र दुई साता क्वारेन्टाइनमा राख्ने गरेको छ । अस्पतालमा ३४ वटा आइसोलेसन वार्ड, ५ वटा आइसियु र २ वटा भेन्टिलेटर छन् । आइसोलेसनमा वार्डमा काम गरेका नर्सहरूको १४ दिनमा कोरोना परीक्षण हुने गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ७ : ४१ बजे

पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ

गण्डकी – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा

त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटोफिचर )

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना

पाकिस्तानमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, पाँच घाइते

वाशुक – बलुचिस्तानको वाशुकमा एक ट्रेलर र गाडीबीचको टक्कर हुँदा

महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा

मोरङ – नेपाल बार एसोसिएसन कानुन व्यवसायी महिलाहरूको ३१औँ राष्ट्रिय

९६ गड्डीको बहस : भाउजूको कथा कसले लेख्‍ने ?

काठमाडौं– भ्रष्टाचारकै कारण नेपालको विकास पछाडि परेको हो भन्ने विषयमा