फोहोर कभर्डहलमा स्यानिटाइजरको भरमा ब्याडमिन्टन अभ्यास | Khabarhub Khabarhub

फोहोर कभर्डहलमा स्यानिटाइजरको भरमा ब्याडमिन्टन अभ्यास



काठमाडौँ– त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्भडहलमा ब्याडमिन्टन खेलको अभ्यास हुन थालेको छ ।

राखेप सदस्य सचिव रमेश सिलवालको समन्वयमा नेपाल ब्याडमिन्टन संघले राजधानीमा भएका राष्ट्रिय टोलीका खेलाडीलाई अभ्यासमा बोलाएको हो ।

अभ्यास यही आइतबार सुरु भएको हो ।

महिला–पुरुष गरी राष्ट्रिय टोलीका ३० जनाभन्दा बढी खेलाडी छन् । तीमध्ये आधाजति मात्रै काठमाडौँमा छन् । अरू बाहिर छन् । संघले काठमाडौँमा भएका सबै खेलाडीलाई अभ्यासमा सहभागी हुन बोलाएको छ । तेस्रो दिनको अभ्यासमा तीन जनामात्रै सहभागी भए ।

संघका अनुसार केही खेलाडीले व्यक्तिगत कारणले उपस्थित हुन नसकेको जनाएका छन् भने केहीले कोरोना भाइरस जोखिमका कारण परिवारले घरबाहिर निस्किन नदिएको जानकारी गराएका छन् ।

एक हप्तासम्ममा कम्तीमा १० जना खेलाडी अभ्यासमा सहभागी हुने अध्यक्ष रामजीबहादुर श्रेष्ठको भनाइ छ । ‘लामो समय खेलाडीहरू घरमा बस्दा समस्या भइरहेको थियो । अहिले कोर्ट उत्रेको देख्दा खुसी लागेको छ,’ श्रेष्ठले भने, ‘आजभोलि खेलाडी कम छन् तर अबको हप्तादिनभित्र दश जनाभन्दा बढी अभ्यासमा फर्किन्छन् ।’

खेलाडी उत्साहित

गत चैत ९ गते बन्द भएको प्रशिक्षणमा पुनरागमन गरेका खेलाडीहरू पनि कुनै प्रतियोगिता जितेभन्दा कम खुसी छैनन् । मंगलबारको अभ्यासमा सहभागी युवा स्टार प्रिन्स दाहाल, विजित थापामगर र शोभा गौचन लामो समयपछि अभ्यासमा फर्किंन पाउँदा उत्साहित देखिन्थे ।

‘झण्डै सय दिनपछि अभ्यासमा फर्किन पाउँदा निकै खुसी लागिरहेको छ,’ प्रिन्सले भने, ‘नयाँ कोच (प्रशिक्षक) पनि आउनुभएको छ । उहाँले नयाँ नयाँ टेक्निकबाट प्रशिक्षण दिइरहनुभएको छ ।’

ब्याडमिन्टन संघको अग्रसरतामा कोरियाली प्रशिक्षक चोय सोङ कुक चैतको सुरुवातमै नेपाल आएका थिए । एक वर्षका लागि आएका कुकसँग नेपाली खेलाडीहरूले एक साता पनि अभ्यास गर्ने अवसर पाएका थिएनन् । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा जापानी प्रशिक्षक थिए ।

अभ्यासमा फर्किएपछिका केही दिन निकै मिहिनेत गर्नुपर्ने शोभा बताउँछिन् । उनले भनिन्, ‘यति धेरै समय घरमा बसेर आउँदा अहिले गाह्रो भइरहेको छ । अलि बढी मिहिनेत गरियो भने छिटै पुरानो लयमा आउँन सकिन्छ ।’
विजितलाई पनि विस्तारै सबै ठिक हुँदै जाने विश्वास छ ।

प्रशिक्षक भन्छन्: कडा मिहिनेत गर्नुपर्छ

लकडाउनपछिको अभ्यासमा खेलाडीलाई नियालिरहेका प्रशिक्षक कुकले खेलाडीहरू घरमा बस्दा केही कमजोर भएको महसुस गरेका छन् । उनले अहिलेको अभ्यासमा फिजिकल फिटनेसमा बढी जोड दिएका छन् ।

अनुभवी प्रशिक्षक कुक कोर्टमा उभिएर खेलाडीलाई सक्दो धेरै व्यस्त गराइरहेका हुन्छन् । खेलाडीहरूले बढी मिहिनेत गर्नुपर्ने उनको सुझाव छ । कुक अङ्ग्रेजी भाषा बोल्दैनन् । उनले एप्सको सहायतामा खेलाडीलाई निर्देशन दिने गरेका छन् ।

त्योभन्दा बढी संकेत नै चल्छ । ‘प्रशिक्षक अङ्ग्रेजी भाषा बोल्दैनन् तर पनि ब्याडमिन्टनमा धेरै साइन ल्याङ्ग्वेज (संकेत) प्रयोग हुने भएकाले अभ्यासमा खेलाडीलाई समस्या छैन,’ अध्यक्ष श्रेष्ठले भने ।

न्युनतम मापदण्डविनै अभ्यास

नेपालमा लक डाउनको तीन महिनामा १० हजारभन्दा बढीको कोरोना संक्रमित फेला परेका छन् । लकडाउन असार २१ गतेसम्मका लागि जारी छ तर सरकारले जेठ अन्तिमदेखि केही खुकुलो पारेको छ । लकडाउन खुकुलो भएसँगै राखेपले राष्ट्रिय टोलीका खेलाडीलाई अभ्यासमा फर्किन भनेको हो ।

राखेप सदस्य सचिव सिलवालले फिजिकल कन्ट्याक्ट नहुने खेलको अभ्यास सुरु गर्न संघलाई अनौपचारिक आग्रह गरेका छन् । ब्याडमिन्टनमा खेलाडीहरूका लागि ह्यान्ड स्यानिटाइजर उपलब्ध छ । यसबाहेक स्वास्थ्य सुरक्षाको अन्य कुनै प्रबन्ध छैन ।

खेलमा फर्किनुअघि खेलाडी, प्रशिक्षक र साथमा रहने अफिसियलहरूको स्वास्थ्य परीक्षण हुने अन्तर्राष्ट्रिय मापदण्ड छ । खेल स्थललाई डिसइन्फेक्ट गर्नुपर्छ । राखेपले भने आश्वासन दिनबाहेक केही गरेको छैन ।

‘राखेपले यहीँ भएका चिकित्सक अभ्यासमा खटाउने भनेको छ । चिकित्सक आएपछि उहाँले के के भन्नुहुन्छ त्यो पालना गर्दै सुरक्षित साथ अभ्यास गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

राखेप सदस्य सचिव सिलवालले हालै खबरहबसँगको एक अन्तर्वार्तामा अभ्यास सुरु गर्दा खेलाडीलाई छुट्टै क्वारेन्टाइनमा राख्न नसकिने तर कोरोना जाँच गर्नेबारे छलफल भएको बताएका थिए ।

कभर्ड हलको सरसफाइ पनि राम्रो छैन । मंगलबार खेल अभ्यास भइरहँदा एउटा कुकुर कभर्डहलभित्र डुलिरहेको थियो । परेवाले गरेको फोहर पनि सफा गरेको देखिएन ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  १ : ३१ बजे

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष

जने-जी आन्दोलनमा घुसपैठ गर्नेमाथि कारवाही हुन्छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले जने-जी आन्दोलनका क्रममा घुसपैठ गर्नेहरुमाथि कडा

विश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजीनामा

काठमाडौं- विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित : किएभ

एजेन्सी– रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको