कद खिइँदै गरेको पदक | Khabarhub Khabarhub

कद खिइँदै गरेको पदक


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यस वर्ष संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट प्रदान हुने अलङ्कार, मानपदवी र पदकबाट विभूषित हुनेहरूमा खेलक्षेत्रका केही व्यक्ति परेका छन् ।

खेलकुद क्षेत्रबाट गत वर्ष सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदलाई छनोटको आधार मानेको भनिएको छ । खेलमा सफलताको बढी श्रेय खेलाडीमा जानु स्वाभाविक हुन्छ । यसपछि आउँछ प्रशिक्षकको कुरा । हुन पनि १३औँ सागमा खेलाडीहरूको मिहिनेतले नै नेपालले ५१ वटा स्वर्णको ऐतिहासिक सफलता हात पारेको हो ।

सागको सफलतामा सम्मानका हकदार खेलाडी र प्रशिक्षक नै हुनुपर्ने हो तर यहाँ संविधान दिवसका अवसरमा घोषणा गरिएका विभूषणमा तिनै खेलाडीहरू पन्छाइएका छन् । हुन त नेपालमा विभूषण पाउनु र नपाउनुको खासै अन्तर छैन । यसको वितरण प्रणाली नै ठिक छैन । योगदानका आधारमा भन्दा शक्तिकेन्द्र नजिकका व्यक्ति राज्यबाट विभूषित भइरहेका हुन्छन् ।

मापदण्डरहित र अपारदर्शी

राज्यले दिने सम्मानमा छनौटमा इमानदारी र मापदण्ड महत्वपूर्ण कुरा हो । अहिले नेपालमा त्यो दुवै देखिँदैन । उचित मापदण्ड बनाएर निर्ममतापूर्वक लागु गर्नुपर्ने हो । पदक र सम्मान त ठूलो कुरा हो नि ! जीवनभर खेलकुदमा योगदान पुर्‍याएका व्यक्ति र पदक विजेता खेलाडीलाई मापदण्डका आधारमा प्राथमिकतामा राख्नु पर्थ्यो ।

राष्ट्रपतिबाट प्रदान हुने पदकको कुनै महत्व नै नभएजस्तो छ । पदक पाएको एक दिन बधाई पाउने र भोलिपल्ट पदक लिएर कोठामा थन्क्याउने बाहेक अर्को काम छैन । त्यो न कुनै सरकारी निकायमा काम लाग्छ न कुनै कार्यक्रममा, न अस्पतालमा, न अड्डा अदालतमा ।

अहिले अनेक संघसंस्थाले गर्ने सम्मानहरू बन्द गर्नुपर्छ । सम्मानको नाममा अपमान भएको छ । व्यापार भएको छ । सम्मानका नाममा टाठाबाठाको कमाइखाने मेलो भएको छ । राज्यले बाँड्ने जति पनि मानपदवी, अलङ्कार र पदक छन्, अलिक राम्ररी लामै अध्ययन गरेर वितरणको मापदण्ड पुनरावलोकन गर्नुपर्छ ।

इङ्ल्यान्डमा यति पटकको विजेता भनेर खेलाडीलाई सम्बोधन गरिन्छ । भारतमै पनि पद्मभूषण विजेता भनेर सम्बोधन गर्ने परम्परा छ । ती देशहरूमा पदक पाएवापत राज्यबाट सुविधा पनि हुन्छ । हाम्रोमा केही छैन । पदक पाउने व्यक्तिलाई पदकबाहेक केही पनि छैन, न मान, न सुविधा । पदक वितरणमा पारदर्शी मापदण्ड हुनुपर्छ । पदकअनुसार व्यक्तिले राज्यबाट सुविधा पाउने व्यवस्था हुनुपर्छ ।

पदक पाउने खेलाडीले मन्त्रीलाई सिधै भेट्न पाउने हो कि, प्रधानमन्त्रीलाई भेट्न पाउने हो कि, सरकारी कार्यालय जाँदा फलानो आएछ भनेर त्यहाँ उसले केही सुविधा पाउने हो कि ! यस्तो कुरा प्रष्ट हुनुपर्छ ।

पदकहरू सस्ता भए । पहुँचको आधारमा सिफारिसबाट पदक बाँडिने भयो । दलको सदस्य भएको नाताले पदक पाउने भयो । यस्तो अवस्था रहेसम्म पदकको औचित्य र महत्व केही पनि हुँदैन । मेरो घर सिनेमा र खेलकुदका सम्मानपत्रले भरिएको छ तर केही महत्व छैन ।

यहाँ एकातिर राज्यले दिने पदक र सम्मानको यस्तो हालत छ भने अर्कोतिर सम्मानको नाममा लेनदेन चल्छ । ‘मलाई १५ हजार रुपैयाँ दिनुस्, म तपाईलाई सम्मान दिन्छु’ भन्नेहरू छन् । दश हजार रुपैयाँमा सम्मान बिक्री हुन्छ ।

पुनरावलोकन आवश्यक

राज्यले प्रदान गर्ने पदक वितरणको प्रणाली र मापदण्ड पुनरावलोकन हुन जरुरी छ । साँच्चै पाउनुपर्नेले पाउन सकोस्, फलानाले किन पाएको हो भनेर प्रश्न नउठोस् । यसो भएपछि पदकको अर्थ हुन्छ ।

सम्मानको पनि मान हुन्छ । त्यस्तो व्यक्ति समाजमा पनि सम्मानित हुन्छ । खास योगदानबाट पदक पाएको व्यक्तिलाई फलानो पदकबाट सम्मानित भनेर सम्बोधन गर्नुपर्‍यो । यसो भएमात्र विभूषणको महत्व हुन्छ ।

मापदण्ड भएको भए सागका स्वर्ण विजेता सबैले राष्ट्रपतिबाट सम्मान पाउने थिए । मापदण्ड नभएपछि जसले जे गर्दा पनि भयो । खेलाडीलाई उसले खेलमा पाप्त गरेको पदकको आधार मान्ने, लामो समय खेलकुदमा गरेको योगदानको आधार मान्ने ।

अर्को कुरा, अहिले अनेक संघसंस्थाले गर्ने सम्मानहरू बन्द गर्नुपर्छ । सम्मानको नाममा अपमान भएको छ । व्यापार भएको छ । सम्मानका नाममा टाठाबाठाको कमाइखाने मेलो भएको छ । राज्यले बाँड्ने जति पनि मानपदवी, अलङ्कार र पदक छन्, अलिक राम्ररी लामै अध्ययन गरेर वितरणको मापदण्ड पुनरावलोकन गर्नुपर्छ ।

यसो गर्दा सर्वस्वीकार्य हुनेछ । सम्मान पाउने व्यक्तिले आफूलाई साँच्चै सम्मानित अनुभव गर्नेछ । राष्ट्रपतिबाट विभूषण पाएको व्यक्तिले राष्ट्रपतिसँग भेट गर्ने कुनै अवसर हुँदैन भने सम्मानको पनि अर्थ हुँदैन ।

मन्त्रालयमा जसलाई छनोट समितिमा राख्यो उसैले पदक पाउँछ । म राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव हुँदा धेरै मान्छेहरू मसँग रिसाउँथे । म अलिक निर्मम थिएँ । पदक पाउनुपर्ने कारण र प्रमाण खोज्थेँ । म आफैँ सक्रिय भएर नम्बर पुनरावलोकन गराउँथेँ । अहिले दलको भ्रातृ सङ्गठनको मान्छेले पदक पाउँछ । अहिले राष्ट्रपतिले प्रदान गर्ने पदकमा सागमा नेपाललाई ५१ स्वर्ण दिलाउने खेलाडी परेको छैन ।

साग आयोजना गर्नु तीन महिना अगाडि आएका सदस्य सचिवले आफैँले पदक थाप्नुभयो । दलीय भागबण्डा नरोकिएसम्म समस्या जहाँको त्यहीँ रहन्छ । सस्तो लोकप्रियताका हेर्न थालेपछि सम्मानको महत्व घट्छ । नेपालमा अहिले राज्यले वितरण गर्ने पदकको अवस्था यही हो ।

भत्किएको पद्धति

प्रजातन्त्र पुनर्थापनाअघि नेपालमा खेलाडीलाई सम्मान गर्ने खास मापदण्ड थियो । अहिलेको भन्दा व्यवस्थित थियो । अहिलेको जस्तो भ्रष्टीकरण थिएन । दलका नेताको सिफारिसमा राष्ट्रिय सम्मान पाउने चलन थिएन ।

मापदण्ड भएको भए सागका स्वर्ण विजेता सबैले राष्ट्रपतिबाट सम्मान पाउने थिए । मापदण्ड नभएपछि जसले जे गर्दा पनि भयो । खेलाडीलाई उसले खेलमा पाप्त गरेको पदकको आधार मान्ने, लामो समय खेलकुदमा गरेको योगदानको आधार मान्ने ।

अहिलेको जसरी दर्खास्त आह्वान गरेर होइन, राज्यले पहिचान गरेर सम्मान गर्नुपर्छ । पदकको अपेक्षा गरेको कोही व्यक्तिले आफूले नपाएकोमा गुनासो गर्ने अवस्था नरहोस् । मभन्दा अग्रजले पायो भन्ने उसलाई भयो भने सन्तोष हुन्छ ।

(राखेपका पूर्व सदस्य सचिव लामासँग सन्तोषराज पाण्डेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  १२ : ५६ बजे

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी