तनहुँका आधुनिक घाँसी « Khabarhub

तनहुँका आधुनिक घाँसी



तनहुँ- उहिले तनहुँका एक जना घाँसीले दिएको अर्तीले भानुभक्त आचार्य आदिकवि बने । संस्कृत भाषाको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरेर प्रसिद्ध भए ।

त्यही तनहुँमा आजकाल अर्का एकजना घाँसी छन् बलदेव खनाल । सय रोपनीभन्दा बढी जमिनमा छ उनको घाँसखेती । घाँस बेचेर उनी एकै वर्षमा २० लाख रुपैयाँ कमाउन थालेका छन् ।

शरीरमा जाँगर र मनमा इच्छाशक्ति भए थोरै लगानीबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पनि भएका छन् म्याग्दे गाउँपालिका-१, गुणादीका ७२ वर्षीय बलदेव ।

हाइब्रिड घाँसको ७ वटा बिरुवाबाट उनको घाँसखेती सुरु भएको थियो । पछिल्लो समयमा रोजगारीका लागि विदेशिएका युवाहरू पनि स्वदेश फर्किएर पशुपालनतर्फ आकर्षित भइरहँदा उनको घाँस व्यापार फस्टाउँदै गएको छ ।

गाईभैँसी र बाख्रापालनदेखि टर्कीजस्ता पन्छीपालन र माछापालनका लागि पनि घाँस अनिवार्य छ । बलदेवले व्यावसायिक पशुपालनमा लागेकाहरूलाई घाँसको बेर्ना आपूर्ति गर्ने गरेका छन् ।

यसरी फेरियो जीवन

बलदेव गाईपालक किसान हुन् । गाईपालन गर्नुअघि परम्परागत तरिकाले भैँसी पाल्थे र तरकारीखेती गर्थे । परम्परागत खेती किसानीबाट जीविकोपार्जन गर्न मुश्किल हुन थाल्यो । लामो समयदेखि सामान्य तरिकाले खेतीकिसानी गरी गर्र्दै आएका बलदेवलाई जिल्ला पशु कार्यालय तनहुँका प्राविधिकले दिएको सुझाव वरदान सावित भयो ।

पशुपालन गर्न सबैभन्दा धेरै आवश्यक पर्ने भनेकै घाँस हो । पशु प्राविधिकहरूले किसानलाई घाँस उत्पादन गर्नमा जोड दिन्छन् । २०५४ सालको कुरा हो, पशु सेवा कार्यालयका पशु प्राविधिक रेवत साहले प्रशस्त मात्रामा घाँस उत्पादन गरी पशुपालन गर्न बलदेवलाई सुझाए ।

संयोग पनि त्यस्तै मिल्यो । उनले पोखरा गएर घाँसको तालिम लिने मौका पाए । उनले २०५४ सालको जेठमा क्षेत्रीय पशुसेवा तालिम केन्द्र पोखराबाट एक हप्ते पशुआहार उत्पादनसम्बन्धी तालिम लिए ।

यसबाट घाँस उत्पादनतर्फ आकर्षित भएका बलदेवले अहिले घाँस बिक्रीबाट मात्रै बर्सेनि २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

पहिलोपटक पोखराको घाँस तालिमबाट फर्किंदा बलदेव घाँसका ७ वटा बेर्ना बोकेर आए । हाइब्रिड घाँसको तिनै बेर्नाबाट सुरु भएको उनको व्यवसाय ७० रोपनीमा फैलियो ।

बलदेवले आफ्ना गाईवस्तुका लागि मात्रै घाँस उत्पादन गरेनन् । उनले घाँसको विरुवा बिक्री गर्न थाले । घाँसबाट मनग्गे आम्दानी हुन थालेपछि उनले थप जग्गा लिजमा लिएर घाँस उत्पादन बढाउँदै लगे । अहिले एक सय रोपनीभन्दा बढी क्षेत्रफलमा घाँस लगाएका छन् ।

तराईसम्म घाँस व्यापार

बलदेवको नर्सरीमा हाइब्रिड जातका घाँस सुपर नेपियर, मुलाँतो, सुब्बा सेटेरिया, सियोफोर, पास पालम, बलामे तथा बडहर, खनियो, कोइरालो, बकाइनो, टाँकी, चिउरी लगायतको डाले घाँसको बेर्ना तयार हुन्छ । उनी धेरैजसो वहुवर्षे घाँसको बेर्ना तयार गर्ने गर्छन् ।

प्रारम्भिक चरणमा वार्षिक ५ देखि ७ लाख रुपैयाँको घाँस बिक्री गरेका बलदेव अहिले वार्षिक २० लाखभन्दा बढीको घाँस बेच्छन् । उनी अहिले आफ्नै गाडीमा मागअनुसारका घाँसका बेर्ना किसानको घरसम्मै पु¥याइदिने गर्छन् । तनहुँ जिल्लामा मात्र होइन, छिमेकी जिल्ला हुँदै तराईका जिल्लाहरूमा पनि उनकै नर्सरीबाट घाँसको बेर्ना पुग्ने गरेको छ ।

दुई वटा कोरली बाछीबाट गाईपालन

घाँसको तालिम लिएकै वर्ष बलदेवले गाईका दुई वटा कोरली बाच्छी ल्याए । तिनै कोरली हुर्काउँदै दुई चार वर्षमा गाईपालन व्यवसाय फस्टाउँदै गयो ।

तिनै २ वटा कोरलीबाट बढ्दै अहिले बलदेवको गोठमा २१ वटा गाई छन् । उनी अहिले दैनिक कम्तीमा ६० लिटर दूध बेच्छन् । गाईपालनले उनी जिल्लामा सफल पशुपालन व्यवसायीका रूपमा चिनिए । उनले गाईलाई कृत्रिम गर्भाधान गराउँछन् । यसो गर्दा उन्नत जातको बाच्छी जन्मिने र दूध उत्पादन बढी हुने उनको भनाइ छ ।

बलदेवका तीन छोरा र बुहारी सबै शिक्षित छन् । व्यवसायमा परिवारका सबै सदस्यको साथ छ ।

उन्नत जातको घाँस उत्पादन गरेर पशुपालन व्यवसाय गर्ने किसानहरू सफल हुने बलदेवको अनुभव छ । पशुपालनमा युवा आकर्षण बढ्दै जाँदा घाँस बिक्री राम्रो हुन हुन थालेपछि बलदेवको सिको अन्यत्र पनि हुन थालेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ११ : ३९ बजे

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा भएन, पहाडी क्षेत्रमा भने मनसुन सक्रिय

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही

सांसद शाहीको ठहर- बालेन, रवि र ओलीमा फरक देखिएन 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र

एसइई पूरक परीक्षामा ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को पूरक

मौद्रिक नीतिको वार्षिक समीक्षा, बाह्य क्षेत्र बलियो र मुद्रास्फीति न्यून, कर्जा विस्तार सुस्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त 

काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका