बैंकको जागिर छाडेर भलिबल खेलाडी « Khabarhub

बैंकको जागिर छाडेर भलिबल खेलाडी



काठमाडौं– नेपालमा दशैं–तिहार र नयाँ वर्ष जस्ता पर्वमा आयोजना हुने प्रतियोगिता नखेलेको खेलाडी सामान्यतया कोही पनि हुँदैन । खेलाडीले आफूलाई पहिल्याउने र तिखार्ने तिनै पर्वे प्रतियोगिताबाट हो ।

स्कूलमा हुँदा कसले पो खेल्दैन र ! तर, तीमध्ये साहै्र थोरैमात्रै व्यावसायिक खेलाडी बन्छन् । जसले खेलकुदमै आफूलाई समाहित गर्छन्, तिनैले खेलाडीका रूपमा राष्ट्रको प्रतिनिधित्व गर्छन् ।

स्कूले र पर्वे प्रतियोगिताबाटै आफूलाई अब्बल सावित गर्दै राष्ट्रिय टोलीमा आइपुगेका खेलाडी हुन् राष्ट्रिय भलिबल टोलीका ओपन स्पाइकर टेकराज अवस्थी ।

डडेलधुराको साविक नवदुर्गा गाउँपालिका–२ मा जन्मिएका टेकराजको भलिबल यात्रा पनि स्कूलले दशैँमा आयोजना गरेको भलिबल प्रतियोगिताबाटै सुरु भएको हो । गाउँकै भुवनेश्वरी उच्च माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै गर्दा एकपटक उनको गाउँमा युवाको समूहले दशैँमा भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

त्यही प्रतियोगिताबाट टेकराजको नयाँ यात्रा तय भयो । प्रतियोगितामा कीर्तिपुर विकास समाजको टिम पनि सहभागी भएको थियो । त्यही टिमका खेलाडी जगत ऐर टेकराजको खेलबाट प्रभावित भए । जगतले टेकराजलाई आफ्नो टिममा बोलाए ।

टेकराज जगतकै टिमबाट खेल्न थाले । बझाङ, दार्चुला, डोटी, बैतडी लगायतका जिल्ला र डडेलधुरामै हुने कयौँ भलिबल प्रतियोगिता उनले खेले ।

टेकराज त्यतिबेलाको आफ्नो खेल सुनाउँछन्, ‘त्यतिबेला भलिबल खेल्न पाए सबै पुग्थ्यो, केही चाहिन्थ्यो, कसरी खेल्नुपर्छ भन्ने थाहा थिएन बल पाए जसरी भए पनि शर्ट हान्नु पर्छ भन्ने थियो ।’

बैंकको जागिर छाडेर भलिबल

गाउँमा राम्रो भलिबल खेलिरहेका टेकराजलाई बैंकका जागिरे उनका काकाले बैंकमै जागिर लगाइदिए । उनले ग्लोबल आइएमइ बैंकमा जागिर पाए । त्यहाँ पनि उनले वाणिज्य बैंकहरुबीचको राष्ट्रिय प्रतियोगितामा ग्लोबल बैंकबाट खेले ।

त्यसअघि तेस्रोसम्म हुँदै आएको ग्लोबल बैंकको टिम टेकराज आबद्ध भएपछि लगातार दुई वर्ष च्याम्पियन बन्यो । यसपछि टेकराजले व्यावसायिकरूपमा खेल्ने योजना बनाए । अनि जागिर छाडे । उनमा देशको जर्सी लाएर खेल्ने हुटहुटी जाग्यो । कति खेलाडीले भलिबलमा भविष्य छैन भनिरहँदा टेकराज भने बैंकको जागिर छाडेर कन्ट्र्याक्टमा सशस्त्र प्रहरीबल (एपिएफ) क्लबमा आबद्ध भए ।

क्लबमा आबद्ध भएपछि राष्ट्रिय टिममा छनोट हुनसक्ने सम्भावना हुन्थ्यो । एपिएफका तत्कालीन प्रशिक्षक ज्ञानेन्द्र बिष्टले उनलाई कन्ट्र्याक्टमा टिममा आबद्ध गर्दै उनलाई व्यावसायिक भलिबलमा बाटो खुला गरिदिएका थिए । उनले झण्डै तीन वर्ष कन्ट्र्याक्टमै एपिएफबाट खेले ।

ग्लोबल बैंककै एक जना कर्मचारीमार्फत उनको भेट बिष्टसँग भएको थियो । २०७३ सालमा टेकराज एपिएफमा स्थायी जागिरे भए । क्लबमा आबद्ध भएपछि उनलाई अभ्यासमा पनि समस्या भएन ।

गाउँमा जसरी सक्यो त्यसरी खेल्ने गरेका टेकराज झण्डै एक वर्ष टिममा पर्नै सकेनन् ।

त्यतिबेला ओपन स्पाइकरमा मिलन मल्ल थिए । पछि उनी विदेश गए । टेकराजले मिहिनेत गरे । अहिले उनी एपिएफ क्लबका उत्कृष्ट खेलाडीका रूपमा छन् ।

परिवारको हौसला

मध्यम वर्गीय परिवारमा जन्मिएका टेकराजले खेलकुदमा लाग्न घरपरिवारबाट सधैँ सहयोग पाए । दाजु, दिदीभिनाजु र आमाको राम्रो सहयोग पाएको उनी सुनाउँछन् ।

‘मलाई सानैदेखि जे गर्दा पनि दाइले सहयोग गर्नुभएको हो । म जहाँ खेल्न गए पनि दाइले खर्च दिनुहुन्थ्यो । दिदीभिनाजुको पनि राम्रो साथ पाएको छु,’ उनले भने, ‘म सानो हुँदै बुबा बित्नुभयो । यसबाहेक सबैबाट सहयोग मिलेको छ ।’

एपिएफ क्लब हुँदै राष्ट्रिय टोलीमा

टेकराजले एपिएफ क्लबमा प्रगति गर्दै गएपछि २०७६ सालको भदौमा भएको एभिसी (एसियन भलिबल कन्फेडेरेसन) सेन्टर जोन भलिबल प्रतियोगितामा नेपालबाट डेब्यु गरे । ललितपुरस्थित आर्मीको तालिम केन्द्रको कर्भडहलमा भएको प्रतियोगितामा अफगानिस्तानविरुद्ध खेल्दै डेब्यु गरेका हुन् ।

अफगानस्तानविरुद्धको खेलमा पहिलो रोजाइमा परेका उनी बाँकी खेलमा भने सब्स्टिच्युट थिए । ‘राष्ट्रिय टोलीमा पर्दा आफूले गरेको मिहिनेतको फल पाएँजस्तो महसुस भयो,’ टेकराजले डेब्यु गर्दाको अनुभव सुनाए ।

काठमाडौंमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पनि टेकराजले खेले । सागपछि भने भलिबलमा खासै प्रतियोगिता भएको छैन ।

‘राम्रो गर्छु भन्ने सोचेको थिएँ तर लकडाउन भएर समस्या भयो,’ आफ्नो खेलबारे टेकराजले खबरहबसँग भने, ‘अहिलेसम्म ठिकै छ, विभागमा अभ्यास गर्न सजिलो छ । तलब आइरहेको छ, खानबस्न समस्या छैन ।’

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : २६ बजे

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्यबीमा कार्यक्रम पुनः सुरु गर्दै

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ओपीडी

उपचारका लागि अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न आकस्मिक

मेस्सीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार सात विश्वकप खेलमा गोल गर्ने पहिलो पुरुष खेलाडी

काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्नो ऐतिहासिक करियरमा अर्को दुर्लभ

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत– बिहादी गाउँपालिका-१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट फर्केर व्यावसायिक

भोजपुरको थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर– भोजपुरको तेञ्जिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण