दङ्ग पर्दै दुखनीदेवीले भनिन् : यही जन्ममा लालपुर्जा पाइयो « Khabarhub

दङ्ग पर्दै दुखनीदेवीले भनिन् : यही जन्ममा लालपुर्जा पाइयो


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– ‘याह जिनगीमें लालपुर्जा भेटगेल’ (यसै जन्ममा लालपुर्जा पाइयो) आफ्नो घरबासको जग्गाको लालपुर्जा पाएपछि दङ्ग परेकी महोत्तरीको गौशाला नगरपालिका–१० बटौवाकी ७० वर्षीया दुखनीदेवी महतोले भनिन, “हमर नाममे भेटके छल, तब ससुर आ घरवालाके केना भेटित ?” अर्थात मेरा नाउँमा बन्नु रहेछ, अनि मेरा ससुरा र पतिले के पाउँथे र ?

शुक्रबार दुखनीसहित गौशाला नगरपालिकाका वडा नं १०, ११ र १२ का १४० घरबासीले आफ्नो घडेरीको जग्गा धनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । साविकको पञ्चायतीकालमा १ नं बहादुरगञ्ज र २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनायता २०४९ को स्थानीय निर्वाचनमा लक्ष्मीनियाँ गाउँ विकास समिति भनिएको ठाउँ हाल गौशाला नगरपालिकाको १०, ११ र १२ नं वडामा समेटिएका छन् । वर्षौदेखि आफ्नो नाउँमा जग्गा पनि छ भन्ने अनुभूति गर्न नपाएका गरीबका लागि शुक्रबार प्राप्त लालपुर्जा ठूलो खुशीको विषय बनेको छ ।

“बाबु जोहर अली लालपुर्जा हेर्ने धोकोमै जानुभयो, म पनि जीवनको अन्तिमकालमा टेकीसकें, जीवनमा यस्तो खुशी पहिलो पटक महसुस गर्दैछु”, गौशाला–१० कै ७८ वर्षीय अव्दुल रहमान चुरौटेले खुशीका आँसु पुछ्दै भने, “अब हाम्रो घर आफ्नै नाउँको जग्गामा भयो ।” नापी कार्यालय महोत्तरीले दिएको लालपुर्जाको जग्गाधनी महलमा अव्दुल रहमान चुरौटे र उहाँकी पत्नी जमनेशा खातुनको नाम उल्लेख छ ।

पुस्तौंपछि आफ्नो घर रहेको जग्गाको लालपुर्जा पाउँदा गौशाला–११ की गीता श्रेष्ठ, गौशाला–१० की ७३ वर्षीया माल्सरदेवी, जलिल शेष र सैफूल खातुन पनि खुशीले दङ्ग परेकी छन् ।

“बाजे, बाबु यसै ठाउँमा सिद्धिए, उनीहरुले लालपुर्जा हेर्न पाएनन्”, सैफूल खातुनले भनिन, “जे होस्, अहिले हामीले पायौं, अमूल्य कुरो पाएको जस्तो खुशी छ ।”

“हामीले भोगको आधारमा गरेको नापीपछि वितरण गर्ने लालपुर्जामा घरमूली पति, पत्नी दुबैको नाउँ राख्ने गरेका छौं”, नापी कार्यालय महोत्तरीका प्रमुख नापी अधिकृत राकेशकुमार रशिकले भने, “यसले महिलालाई मेरो पनि घरको सम्पतिमा स्वामित्व छ भन्ने स्वाभिमान हुँदो रहेछ ।”
मुख्य घरमूली पति वा पत्नीको मृत्यु भइसकेको रहेछ भने दुबैमध्ये जो जीवित छन्, उनकै नाउँमा जग्गाधनी प्रमाणपुर्जा बनाइने गरिएको रशिकले बताए ।

लालपुर्जा वितरण गर्न नापी कार्यालय महोत्तरी जलेश्वरका प्रमुख प्रशासकीय अधिकृत रशिक, मालपोत तथा भूमिसुधार कार्यालय महोत्तरीका प्रमुख दीपेन्द्रकुमार झासहितका अधिकारी घरबासीहरुकै बस्तीमा शुक्रबार पुगेका थिए । लालपुर्जा वितरण कार्यक्रममा गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले अब कोही जग्गावीहिन नरहने बताए ।

“हामीले भूमि आयोगसँग सम्झौता गरिसकेका छौं”, उनले भने, “यही आर्थिक वर्षभित्र सबै अव्यवस्थित बसोबासी र सुकुम्बासीको व्यवस्थापन गरी सक्नेछौं ।”

गौशाला नगरपालिकाका–१०, ११ र १२ वडाबस्तीका १४० परिवारले शुक्रबार लालपुर्जा पाएका छन् । लालपुर्जा पाउनेमा मुस्लिम, कोइरी, नेवार र तत्मासहित आर्थिक रुपले पिछडिएका समुदाय छन् । सबै परिवारलाई प्रदान गरिएको लालपुर्जाअनुसारको जग्गा जम्मा पाँच हेक्टर क्षेत्रफल रहेको नापी कार्यालय महोत्तरीले जनाएको छ ।

घरबासी जग्गा नापी गरेर खडा गरेको स्रेस्ताका आधारमा जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै आएको कार्यालयले जनाएको छ । यसअघि जिल्लामा कायम रहेका (२०६४ सालअघि) ७६ गाविस (गाउँ विकास समिति) र एक नगरपालिका क्षेत्रका सबै बस्तीमा घरबासी जग्गा नापी गरेर जग्गाधनी प्रमाणपुर्जा दिने गरिएको प्रमुख नापी अधिकृत रशिकले बताए ।

चालु आर्थिक वर्षमा ११ वटा पहिलेका गाविस क्षेत्रमा लालपुर्जा वितरण गरिने गरी काममा लागिएको नापी कार्यालय महोत्तरीले जनाएको छ । लालपुर्जा वितरण गरिनेमा बलवा, किसाननगर, पशुपतिनगर, हाथीलेट, रामगोपालपुर, लोहारपट्टी, भटौलिया, इटहर्वाकट्टी, साँढा, धिरापुर र मनरा छन् । तीमध्ये बलवामा पुस महिनाभित्रै लालपुर्जा वितरण गरिने प्रमुख नापी अधिकृत रशिकको भनाइ छ ।

जिल्लामा बाँकी रहेका पहिलेका गाविस क्षेत्रमा आउने आर्थिक वर्षका लागि पनि लालपुर्जा वितरणको पूर्वतयारी अहिलेदेखि नै थालिएको छ । अब यो निरन्तर प्रक्रियाबाट सबै बस्तीलाई समेटिने नापी कार्यालय महोत्तरीले जनाएको छ । – रासस

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ५५ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई