एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी अनुसन्धानमा रहेका बोल्सोनारोको राहदानी ब्राजिलको अदालतले बुझाउन आदेश दिएको छ ।
फ्लेभियो बोल्सोनारो हाल कहाँ छन भन्ने स्पष्ट भएको छैन । ब्राजिलका राष्ट्रपति लुलाले उहाँले देश छाडेको जानकारी पाए पनि कहाँ गएको भन्ने थाहा नभएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्सोनारो परिवारलाई ‘असल मानिस’ भन्दै अमेरिकामा स्वागत गर्ने बताए ।
फ्लेभियोले निर्वाचनमा भएको पराजय स्वीकार गरेका छैनन् । उनले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गरेका छन् । लुलाले छ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा फ्लेभियोले छ करोडभन्दा कम मत पाएका थिए। निर्वाचन परिणाम उल्ट्याउन मतान्तरलाई प्रभावित पार्ने धाँधलीको प्रमाण प्रस्तुत गर्नुपर्नेछ ।
फ्लेभियोका भाइ एडुआर्डो बोल्सोनारो टेक्सासमा बस्दै आएका छन् । ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानुनी पैरवी गरेको अभियोगमा उनीलाई अनुपस्थितिमै चार वर्षको जेल सजाय सुनाइएको छ । फ्लेभियोले भने राहदानी बुझाएर आफूविरुद्धका कानुनी कदमको सामना गर्ने बताएका थिए ।
फ्लेभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को निर्वाचनमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।
फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती गरेको र विवादास्पद बैंकरबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ । उनले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाए ।
ब्राजिलको सिनेटरका रूपमा फ्लेभियोको कार्यकाल सन् २०२७ जनवरी ३१ मा सकिँदैछ । त्यसपछि उहाँले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनेछन्।














प्रतिक्रिया