कोरोना भाइरसका कारणले अहिले मानव संसार आक्रान्त छ । त्रसित छ । शायद दोस्रो विश्वयुद्ध पछाडिको यो सबैभन्दा ठूलो मानवीय त्रास हो । अहिलेसम्म विकसित सभ्यता र परम्परा एकै पटक ठप्प भएको छ । आधुनिक संसाररूपी चल्दाचल्दैको उपकरण झ्याप्प बिजुली गएर रोकिएको जस्तो भएको छ ।
सामान्यतया हामी दुई तहमा काम गथ्यौँ । पहिलो, उत्पादन (प्रोडक्सन इण्डस्ट्री) र दोस्रो, सेवा (सर्भिस इण्डस्ट्री) । अहिले यी सबै काम बन्द छन् । हामी संसारभर आआफ्ना घररडेरामा थुनिएर बसेका छौं । हात छन्, काम छैन ।
उहिले मान्छे ओडारमा बस्थे रे । रामापिथेकसबाट होमोस्यापिन्स हुँदै अहिलेको समाजसम्म आइपुग्दा मान्छेको सबैभन्दा भरपर्दो आविस्कार भनेको ‘घर’ नै हो भन्दा फरक नपर्ला ।
प्राथमिक कक्षमा पढ्दाको कुरो याद आयो । म पढ्थेँ, बहिनी सानै थिई, भर्खर तोते बोलिकी । मैले पढेको सुनेर ऊ पनि मेरो किताब खोसेर घुँडामाथि राखेर ‘दादालाई घोलेले हुलीबात मच्चाउँछ’ भन्थी । यसको पाठ चाहिँ यस्तो थियो :
राधालाई घरले हुरीबाट बचाउँछ । राधालाई घरले पानी बाट बचाउँछ ।
अहिले अर्को एउटा हरफ थपिएको छ :
राधालाई घरले ‘कोरोना भाइरस’ बाट बचाउँछ !
जे जस्तो परिस्थितिबाट उत्पन्न भएको होस्, घर सबैभन्दा प्यारो आश्रयस्थल हो । पहाड, मधेश, शहर, गाउँ, बस्ती सबै घरकै उपज हुन् । घर आधारभूत चिन्तनको आरम्भ बिन्दु हो । घरमा पुगेपछि विश्राम मिल्छ, शान्ति मिल्छ । साँच्चै मिल्छ ।
‘पल्लाघरको माइलो अरपे लाहुरे भएर बिर्तामोठमा चार तल्ले मुण्डाघर बनायो रे !’
ऊ बेला मुण्डाघर बनाउने मान्छे निकै कम थिए । पहाडमा झण्डै सात—आठ गाउँमा नयाँ बच्चा जन्मिएको पनि थाहा हुन्थ्यो । अहिले पनि हुन्छ होला । गाउँमा सबैले चिन्थे । त्यही भएर पनि पहाडमा एक्लै हिँड्दा जनावरको मात्रै डर हुन्थ्यो ।
विदेशिएको हामीजस्ता युवापुस्ता गाउँ अर्थात घर फर्किने छौँ । अहिलेको सेवामुखी अर्थतन्त्र फेरि उत्पादनमुखी हुनेछ । आखिर मान्छेलाई चाहिएको त मान्छेको साथ हो नि ! हामीले चाहे असम्भव के छ र !
अहिले सुनिन्छ, एक्लै हिँड्दा जनावरभन्दा मान्छेको धेरै डर हुन्छ । उतिबेला हामी नचिनेका मान्छेसँग डराउँथ्यौँ, अहिले भुराभुरी चिनेका मान्छेसँग पो बढी डराउँछन् रे !
हावाहुरीबाट बचाउने ‘घर’ छाडेर पैसा कमाउन र सुख खोज्न उतिबेला पनि ‘अरप’ जाने चलन थियो, अहिले पनि हामी ‘अरप’ मै छौँ ।
यो समाजमा एउटा ‘भाइरस’ लागेको छ, कोरोनाको बराजु भाइरस । जसरी पनि पैसा कमाउनु छ !
धार्मिक, साम्प्रदायिक र लैङ्गिक भाइरसले घरपरिवारको अवधारणामै विचलन ल्याइसकेको अवस्थामा छौँ हामी । आफूखुशी रहनेभन्दा पनि अरूलाई देखाउन पाउँदा आफू खुशी हुने मान्यताले सामाजिक वातावरण असाध्यै दूषित भएको छ ।
समाज केलाउने क्रममा कार्ल माक्र्स भन्छन् : इन्फ्रा स्ट्रक्चर डिटरमाइन्स सुपर स्ट्रक्चर । अर्थात्, आधारभूत संरचनाले उपरी संरचना निर्धारण गर्छ ।
अहिले यो वाणी काटीकुटी ठ्याक्कै मिलाउँदा यस्तो भएको छ : सुपर स्ट्रक्चर डिस्ट्रक्ट्स इन्फ्रा स्ट्रक्चर, अर्थात् उपरी संरचनाले आधारभूत संरचना भत्काउँछ ।
पढालेखा भएपछि हामी सबै शहर छिर्दै आयौँ । शहरले मात्रै पुगेन, विदेशतिर हान्नियौँ । अनि कहिलेकाहीँ यहीँ बसेर गफ हाँक्छौं : गाउँ नबनाई सर्वाङ्गीण विकास असम्भव छ !
गाउँमा हाम्रो जग्गा थियो । उत्पादन हुन्थ्यो । दुःख हुन्थ्यो तर उत्पादन अवश्य हुन्थ्यो । बिस्तारै उत्पादन छाडेर सेवालाई सजिलो पेसा देख्न थाल्यौँ । वर्षभरि कठीन परिश्रम गरेर उत्पादन गरेको मूल्यभन्दा धेरै त एउटा सामान्य जागिर खाने मान्छेले कमाउन थाल्यो । हातगोडा फोहोर पनि नहुने, हिलोमैलो खेल्नु नपर्ने । चिटिक्क जुत्ता लगाएर कुर्सीमा बस्यो, गफ हाँक्यो, कलम चलायो, पैसा खेलायो !
यो पद्धतिले उत्पादनको संरचना भत्कायो । उत्पादनको संरचना भनेको आधारभूत संरचना हो । कार्ल माक्र्सले आज नेपालको सामाजिक परिस्थिति अध्ययन गरेर अर्थशास्त्र लेख्नुपर्यो भने लेख्ने होलान् : एन इमिटेसनल इकोनोमी अल्वेज रिजल्ट्स अन्प्रेडिक्टेबल सोसल आउट्कम, अर्थात् अनुकरण गरिएको अर्थतन्त्रले अप्रत्यासित सामाजिक परिणाम निम्त्याउँछ ।
पैसा टिप्न हामी ‘घर’ बाहिर हान्निएर गएका थियौँ । एक्कासी यो कोरोना भाइरस हाम्रो बीच बाटामा आइलाग्यो । यताउता, जतातता सबै बन्द गरायो । यसले एकपटक हामीलाई ‘घर’ भित्र हुलिदिएको छ, मानौँ गोठालाले साँझमा चरनबाट फर्काएर ल्याएका बाख्राबस्तु खोर र थलामा थुन्दैछ ।
अर्को हात्ती चढ्यो भनेर आफू धुरी चढ्ने नक्कली अर्थतन्त्रको चपेटामा हामी फस्यौँ । उत्पादन छोड्यौँ । सुख हुन्छ भनेर सेवा रोज्यौँ । सकेसम्म ‘सरकारी नोकरी’, नभए ‘प्राइवेट’ ले पनि भयो । आफ्नै स्वामित्वको उत्पादन भने कठीन भयो ।
यसले नै हाम्रो आधारभूत संरचना ध्वस्त बनायो । परिणामस्वरूप परिवार टुक्रियो । ‘युनिटरी मोड’ अर्थात एउटा—एउटा भन्नुपर्ने समाजमा आज हामी छौँ ।
अहिले घर छ, परिवार छैन । घरभित्र बस्ने पारिवारिक सदस्यबीच प्रतिस्पर्धा छ । सबै आआफ्नै धुन र धनमा मस्त छौँ । धनी छन् तर धन छैन । धन भनेको त्यो हो जो अरूको काममा आउँछ ! अहिले हामीलाई जति भए पनि आफैँलाई पुग्दैन, कसरी अर्कालाई दिनु र ! हजुरबाले जीवनभर कमाएको सम्पत्तिभन्दा धेरै त अहिले हामी एउटै नातिले कमायौँ होला तर हजुरबाको जति धन छ हामीसँग ? गहन प्रश्न यो छ ।
हजुरबाले पहाड—मधेश दुवैतिर स्कुल बनाउन जग्गा र पैसा दिन भ्याउनुभयो । तिनै स्कूलमा हामी पढ्यौँ । अहिले हामीसँग त्यति धन छ ? के हामीसँग साँच्चै धन छ कि ‘पैसा’ मात्रै छ ?
जवाफ सजिलो छैन ।
यो परिस्थिति हामी आफैँले निम्त्याएका हौँ । यो पैसा टिप्न हामी ‘घर’ बाहिर हान्निएर गएका थियौँ । एक्कासी यो कोरोना भाइरस हाम्रो बीच बाटामा आइलाग्यो । यताउता, जतातता सबै बन्द गरायो । यसले एकपटक हामीलाई ‘घर’ भित्र हुलिदिएको छ, मानौँ गोठालाले साँझमा चरनबाट फर्काएर ल्याएका बाख्राबस्तु खोर र थलामा थुन्दैछ ।
कोरोनाले हाम्रो गति अहिले बदलिदिएको छ । बाहिरबाट फर्काएर भित्र हुलिदिएको छ । यो पीडा हो र अवसर पनि । अहिले हाम्रो ‘पैसा’ को होडले अवरुद्ध भएको मानवीय नाता ‘धन’ बनेर आउने अवसर बन्नसक्छ ।
पैसा कमाउन बिहानै घरबाट निस्केको बाउलाई राम्ररी देख्न शनिबार कुर्नुपर्ने बच्चाले अहिले केही दिन भए पनि आफ्नो बाउ राम्ररी छाम्न पाएको छ । मान्छे सामाजिक र आर्थिक प्राणी भईकन पनि ‘इमोसनल’ अर्थात भावनात्मक प्राणी हो । हामी अहिले संवेदना नभएको मरुभूमिमा हरपल मर्दै बाँचिरहेका छौँ ।
सबै आआफ्नै होडमा छौँ । ‘भावना’ पनि कहीँ कतै थियो के भन्ने अवस्थामा पुगेका थियौँ । एक्कासी हामी एकपछि अर्को दुःखका घटना सुन्दै आउन थाल्यौँ ।
रातारात क्वारेन्टिन कक्ष बन्नु, ठमेलजस्तो ठाउँमा आपतमा परेका पर्यटकलाई निःशुल्क खाना खुवाउनु, विभिन्न ठाउँमा घरबेटीले भाडा छुट दिनु ! यो त सुरुवात मात्रै हो । हाम्रो मानवियता अब त्यतिमा मात्रै सीमित हुनेछैन । काठमाडौंमा बिस्तारै सडक बालबालिका देखिन छाड्नेछन् । मागेर बाँच्नुपर्ने बाध्यता हराउनेछ ।
चीनमा कोरोना भाइरसले मान्छे मर्न थालेको समाचार आउन थाल्यो । सुरुमा आरोप प्रत्यारोप जे जे भए पनि अहिले यो भाइरसले संसारमा एकछत्र शासन चलाएको छ । मान्छे पो आफ्नो हुन्छ त, रोग त रोग नै हो नि !
अहिले हामी थुनिएर बस्दा आफन्त भेट्न जान सकेका छैनौँ । हाम्रो मरिसकेको मानवीय संवेदना जागरुक हुन थालेको छ ।
अल्बर्ट आइन्स्टाईन भन्थे रे : द ग्रेटेस्ट ब्यारियर अफ माइ लर्निङ इज माइ एजुकेसन अर्थात् मेरो सिकाइको सबैभन्दा ठूलो अड्चन भनेको मेरै शिक्षा हो ।
के कोरोनाले मान्छे मार्दैछ अथवा मान्छे बचाउँदैछ ?
‘कस्तो पटमुर्ख होला यो मान्छे, अहिलेसम्म झन्डै १९ हजार मान्छे मार्ने कोरोनाले पनि मान्छे बचाउँदैछ भन्छ’ भन्नु होला ।
एकपटक तथ्यांक हेरौँ । विश्व स्वास्थ्य संगठनका अनुसार मानवीय क्रियाकलापको उत्सर्जनले प्रदूषित हुने पर्यावरणबाट फोक्सो र रगत सम्बन्धी रोग लागेर वार्षिक ४२ लाख मानिस मर्छन् । नेपालमा सबैखाले सडक दुर्घटनाबाट सरदार दैनिक ७ जनाले ज्यान गुमाउँछन्, १७ जना अङ्गभङ्ग भएर बाँच्छन् । एक हप्तासम्म नेपालमा सडक दुर्घटनामा मर्ने लगभग ५० जनाको ज्यान जोगिनेछ ११९ जना अङ्गभङ्ग हुनबाट जोगिनेछन् ।
विश्व वातावरण संगठनले प्रस्तुत गरेको तथ्यांकअनुसार अहिले संसारभर वायु प्रदूषणमा झन्डै ३५ प्रतिशतले कमी आएको छ । यसको परिणाम यो हुन सक्छ कि अब ती ४२ लाख मान्छेको स्वास्थ्य सुधार हुनेछ ।
कोरोना भाइरसको संकटले मानवीय भोकलाई सही दिशा लिन प्रेरित गर्यो भने प्रत्येक देशले नयाँ आर्थिक नीति तर्जुमा गर्नेछन् । नयाँ आर्थिक मापदण्ड र नीतिले पर्यावरण र परिवारको सन्तुलन पुनस्र्थापित गर्नेछन् । पैसा धन बन्ने छ । अहिले हामी करले घरभित्र पसेका छौँ । बिस्तारै हामीलाई घरभित्र बस्ने रहर जाग्नेछ ।
अहिले हामीले घर हुँदा र नहुँदाको अवस्था महसुस गरेका हुनाले भोलि घर नहुनेका मद्दतका लागि हाम्रो ‘धन’ खर्च हुनेछ । असली धन मानवता नै हो । यो कोरोना भाइरसले अहिलेको सामाजिक, धार्मिक, लैङ्गिक र साम्प्रदायिक भाइरस ध्वस्त बनाउनेछ । यसको लक्षण देखिन थालेको छ ।
रातारात क्वारेन्टिन कक्ष बन्नु, ठमेलजस्तो ठाउँमा आपतमा परेका पर्यटकलाई निःशुल्क खाना खुवाउनु, विभिन्न ठाउँमा घरबेटीले भाडा छुट दिनु !
यो त सुरुवात मात्रै हो ।
हाम्रो मानवियता अब त्यतिमा मात्रै सीमित हुनेछैन । काठमाडौंमा बिस्तारै सडक बालबालिका देखिन छाड्नेछन् । मागेर बाँच्नुपर्ने बाध्यता हराउनेछ ।
विदेशिएको हामीजस्ता युवापुस्ता गाउँ अर्थात घर फर्किने छौँ । अहिलेको सेवामुखी अर्थतन्त्र फेरि उत्पादनमुखी हुनेछ ।
आखिर मान्छेलाई चाहिएको त मान्छेको साथ हो नि ! हामीले चाहे असम्भव के छ र ! (अष्ट्रेलियाबाट)
प्रतिक्रिया