काठमाडौं- मध्य वैशाख, सिमसिमे पानी परेको छ । संघीय राजधानी काठमाडौंको वसन्तपुर क्षेत्रमा एउटा मन्दिरको पेटीमा बसेकी छन् ५० वर्षीया सुनिता सुवेदी । उनका वरिपरि आहाराको खोजीमा भौँतारिएका परेवा छन् ।
कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा छ । बाहिर निस्किनु हुँदैन अरे भनेर सुनिता पनि झण्डै एक महिना कोठाभित्रै बसिन् ।
मानिसहरू घरभित्र छन् । सधैँ अनेक तरहका मानिसले खचाखच भरिने सम्पदा क्षेत्र वसन्तपुर सुनसान छ । मन्दिरै मन्दिर र दरबारको क्षेत्र वसन्तपुरमा हजारौँ परेवा छन् । यी परेवा पनि चारोको खोजीमा छन् ।
सुनिता परेवालाई चारो खुवाउन बसेकी होइनन् । चारो किनेर परेवालाई दिने मानिसको प्रतीक्षामा बसेकी हुन् । उडिरहेका ती परेवा चारो खोजिरहेका छन् तर सुनिता खुवाउन असमर्थ छिन् ।
सुनिता एउटा भाँडामा बिक्रीका लागि परेवाको चारो राखेर टुसुक्क बसेकी छन् । उनका वरिपरि परेवा झुम्मिएका छन् । यही साता सोमबार मध्याह्नको कुरा हो, वसन्तपुर परिसर सुनसान छ ।
नजिकै पुगेर हामीले सोध्यौँ, ‘दिदी ! कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देशमा लकडाउन गरेको छ, तपाईंलाई थाहा छैन ?’
सुनिता मुसुक्क हासिन् तर निराशाको भावमा भनिन्, ‘कोरोनाले भन्दा भोकले पिरोलेपछि के गर्नु !’
उनको जवाफमा कोरोनाको डरमात्र थिएन घरमा दालचामल सकिएर भोकै बस्नु परेको व्यथा पनि झल्किन्थ्यो । यही व्यथाले उनलाई वसन्तपुरको मन्दिरपेटीमा बस्न बाध्य पारेको हो ।
सुनिताको परिवारमा उनीसहित श्रीमान् र एउटी छोरी छन् । वसन्तपुरनजिकै मखनटोलमा डेरामा बस्छन् ।
सुनिताका श्रीमान् दैनिक ज्याला मजदुर हुन् । लकडाउन सुरु भएदेखि श्रीमान्को काम बन्द छ । सुनिताले व्यथा सुनाइन्, ‘दिनभरि काम गरेर साँझ–बिहान खान पुगेको थियो, अहिले काम छैन, काम नगरी खान कहाँबाट पाउनु ! बिजोग भयो ।’
उनीहरूको पेशा भन्नु नै दैनिक मजदुरी र परेवाको चारो व्यापार हो । यसैबाट थोरै गरेको जोहो पनि एक महिना नहुँदै सकियो ।
‘जोहो गरेको केही पैसा बसेर खाँदा सकियो,’ सुनिताले गुनासो पोखिन्, ‘एक महिना भइसक्यो लकडाउन भएको, कसरी धान्नु ! अब त बाँच्नै गाह्रो भइसक्यो ।’
हामीले सोध्यौँ, ‘सरकारले राहत दिइरहेको छ नि ! तपाईंले राहत पाउनुभएन ? कि थाहा पाउनु भएन ?’
सुनिताले राहतको कथा सुनाइन् । उनले भनिन्, ‘वडाले दुई किलो चामल, आधा किलो दाल र आधा लिटर तेल दिएको थियो’ एक सातालाई जेनतेन पुग्यो, त्यसपछि खाने कुरा केही भएन ।’
अनि सुनिता केही किलो चारो लिएर निस्किन् वसन्तपुरतिर । लकडाउनको समयमा परेवालाई चारो खुवाउन आउने मानिसको प्रतीक्षामा छिन् उनी । व्यापार भए नाफाको केही रुपैयाँले गर्जो टर्ने उनको आशा छ ।
‘अहिले बिहान–बेलुका जाउलो बनाएर खाइरहेका छौँ,’ निराशाको स्वरमा सुनिताले सुनाइन्, ‘परेवालाई चारो खुवाउन कोही आउँदैनन्, जाउलो पनि खाना नपाइएला भन्ने चिन्ता छ ।’
भूकम्पबाट बचेँ, कोरोनाले लैजाने भो !
पाँच वर्षअघि २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पको समयमा पनि सुनिता वसन्तपुरमै थिइन् ।
‘भूकम्पले यहाँका मन्दिर ढले, मानिसहरू अत्तालिए,’ घटना स्मरण गर्दै उनले भनिन्, ‘तर वसन्तपुर आउने मानिस कम थिएनन् । परेवालाई चारो हाल्नमात्र पनि मानिसहरू आउथेँ ।’
सुनिताले वसन्तपुर क्षेत्र यति सुनसान भएको कहिल्यै देखेकी थिइनन् । त्यति ठूलो भूकम्पमा पनि उनलाई केही भएन । कोरोनाको लकडाउनले भूकम्पभन्दा कठिन भयो । उनले भनिन्, ‘भूकम्पबाट बचियो तर कोरोनाबाट बच्न गाह्रो भो ।’
१५ वर्षदेखि वसन्तपुरमा !
दोलखाको चरिकोटकी सुनिता १५ वर्षदेखि वसन्तपुरमा परेवालाई चारो बेचेरै जीविकोपार्जन गरिरहेकी छिन् । बिहान सबेरै उठेर क्षेत्रपाटी पुग्छिन् चारो किन्न ।
‘हिउँद, बर्खा सधैँ यही ठाउँमा हुन्छु’ सुनिताले भनिन्, ‘यहाँ आउनेहरूले चारो किनेर परेवालाई खुवाउँछन्, त्यही नाफाको पैसाले आफ्नो परिवार धानेकी छु ।’
सुनिता चारो बेचेर दैनिक कम्तीमा तीन सय रुपैयाँ नाफा गर्थिन् । लकडाउनको यो समयमा त दिनभरि कुर्नुमात्रै छ । लकडाउन नखुलेसम्म चारो बिक्री हुँदैन भन्ने पनि उनलाई थाहा तर तै भइहाल्छ कि कोठामा बसेरमात्रै के गर्नु भनेर बाहिर आएकी हुन् ।
सुनिताजस्ता कति होलान् लकडाउन कहिले खुल्ला र श्रम गरेर खान पाइएला भनेर औँला भाँच्दै बसेका !
प्रतिक्रिया