कहाँ छ सरकार ? « Khabarhub

कहाँ छ सरकार ?



नेकपाको सरकारले आफ्नो कार्यकालको आधा समय अर्थात साढे दुई वर्ष पूरा गर्न लाग्दैछ ।

बलियो बहुमतको सरकारको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । २०७४ साल फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सुरुका दिनमा जनतालाई ठूलो भरोसा दिलाएका थिए । विकास निर्माण, जीवनयापन, समृद्धि लगायतमा अभूतपूर्व चमत्कार गर्ने आशा देखाएका थिए ।

अहिले ती सबै भरोसाहरूमा तुषारापात भएको छ । नागरिकहरूमा वितृष्णा जाग्न थालेको देखिन्छ ।

यसअघि २०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री भएपछि ओलीको नौ महिने कार्यकाल पार्टीभित्र र बाहिर तारिफयोग्य थियो । नेपालको नयाँ संविधानका विषयमा भारतले गरेको नाकाबन्दीविरुद्ध उनले लिएको अडानका कारण उनी हाईहाई भए । उनको यही कार्यकाल एमाले–माओवादी गठबन्धनको विजयको जग बन्यो ।

यति धेरै भरोसा गरिएका ओली यो दोस्रो कार्यकालमा किन यति चाँडै अलोकप्रिय बने ? किन उनलाई पार्टी भित्रैबाट अपदस्थ नै गर्ने हदसम्मको असहयोग भइरहेको छ ? उनलाई जनताले नरुचाएका हुन् कि आफ्नै कारणले यो हदसम्मको उतारचढाव आइरहेको छ ?

०७४ सालको फागुन नजिकिँदै गर्दा ओली प्रधानमन्त्री बन्ने पक्कापक्की थियो । चुनावको नतिजा अन्तिम चरणमा पुगिरहेको थियो । सिट संख्यामा नेपाली कांग्रेस निकै कमजोर बनिसकेको थियो । तत्कालीन एमाले–माओवादी गठबन्धनले बहुमत सिट हासिल गरेको थियो । चुनावको समीक्षा भइरहेको थियो ।

विजय जुलुसहरू निस्किएका थिए । कम्युनिष्टहरूमा ठूलो हौसला छाएको थियो । वर्ष दिन नहुँदै सरकार फेरिने दुष्चक्रले हैरान जनता बलियो र स्थायी सरकार बन्ने भयो भन्ने ढुक्कमा उत्साहित थिए ।

यता चुनावमा प्राप्त सफलतासँगै गठबन्धनका एक नेता केपी ओलीका अभिव्यक्ति यति उत्ताउला हुँदै गए कि उनले आफू प्रधानमन्त्री बन्दैछु भन्नेसमेत बिर्सेका थिए । उनले परिपक्वता र प्रधानमन्त्री हुने नेतामा हुनुपर्ने गम्भीरता देखाउन सकेनन् वा चाहेनन् । चुनावी परिणामले ओलीलाई उमालिरहेको थियो । उनका अभिव्यक्ति उम्लिएका थिए । उनी र उनका समूहको अहमले प्रतिपक्षमात्र होइन, उनकै पार्टीका नेता र कार्यकर्ता पनि त्यतिबेलै चिढिन थालेका थिए ।

प्रधानमन्त्री हुनु केही दिनअघिदेखि नै ओलीले अभिमानको जग बसाइसकेका थिए, जसमा उनी आफैँ भासिने खतरा थियो । त्यो जग सत्तारुढ दल र सत्ता बाहिरका शक्तिहरूको कसिङ्गर बन्न ओली स्वयंले रचेका थिए ।

हामीले पढ्न पाउन बनाएको सरकार खोइ ? हामीले हाम्रो गरिबी हटाउन बनाएको सरकार खोइ ? हामीले दलाललाई कठघरामा जाक्न बनाएको सरकार खोइ ? हामीले भ्रष्टाचारीहरूलाई जेल हाल्न पठाएको सरकार खोइ ? हामीले निर्मला पन्तका हत्यारालाई दण्डित गर भनेर अनुरोध गरेको सरकार खोइ ?

अहिले त उनले आफ्नै पार्टीभित्र ठूलो प्रतिपक्षको सामना गर्नुपरेको छ । प्रतिपक्ष दलका र सडकका आवाजभन्दा आफ्नै पार्टीभित्रका आवाज उनका लागि ‘फलामको च्युरा’ बन्ने संकेत देखिएको छ । ओली आफ्नै अभिमानको सिकार बन्न थालेका छन् ।

यति बेला सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई माथिभन्दा बढी हमला ओलीमाथि भइरहेको छ । ओली चौतर्फी हमलाको घेराबन्दीमा छन् ।

ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैका रूपमा बहुमत सदस्यहरूको कडा आलोचना खेप्नुपरेको छ । उनी पार्टीमा शक्तिशाली अध्यक्ष मानिएका हुन् तर सबै सदस्यहरूको स्वीकारयोग्य नेता बन्न सकेका छैनन् । प्रधानमन्त्रीका रूपमा ओलीमाथि अधिकांश सदस्यहरूले भरोसा टुटिसकेको देखिन्छ । आफ्नै पार्टीभित्रको यो आलोचनाले ओलीलाई नैतिकताको कठघरामा उभ्याइदिएको छ । ओलीलाई स्थायी कमिटी बैठक सामना गर्न कठिन परेको छ ।

कोरोना भाइरसको संक्रमणको संकट नआएको भए सम्भवतः ओलीको विषयमा गत चैतमै गम्भीर निर्णय हुने थियो । पार्टीका बहुसंख्यक सदस्यहरू यस्तो निष्कर्षमा पुगिसकेका थिए । कोरोना भाइरस संक्रमणको संकटले ओली सरकार संकट भने टर्दै यहाँसम्म आइपुगेको छ ।

अब यो सरकारलाई खतरा प्रतिपक्षी दलबाट छैन । हुन त सुरुदेखि नै यो सरकारले प्रतिपक्षको कठिन अवरोध झेल्नुपरेको छैन । सरकारसँग भन्दा खासगरी प्रधानमन्त्री केपी ओलीमाथि नै सत्तारुढ दलकै विशाल पंक्तिको असन्तुष्टि किन बढ्यो त ? ओली पक्षका लागि यो गम्भीर सवाल तेर्सिएको छ ।

नागरिकहरू आफ्ना समस्यामा सरकार देख्न चाहन्छन् । सरकारले आफ्ना वाचा पूरा गर्न थालेको विश्वास दिलाओस् भन्ने चाहन्छन् । आमनागरिकले भने आफूले खोजेको सरकार अझै फेला पारेका छैनन् ।

ओली समूहले यो सवालको जवाफ अझै फेला पारेको छैन । सडकमा तन्नेरीहरू नेपाली जनताको सरकार खोजिरहेका छन् । ‘इनफ इज इनफ’ भनिरहेका छन् । दैनिक निस्किएका यी जुलुसहरू राजनीतिक मैदानबाट टाढा छन् र स्वतस्फूर्त छन् । संयमित छन् ।

लकडाउनमा ज्यानको जोखिम मोलेर निस्किएका बौद्धिक युवा जमातको यो भेलले सोधिरहेको छ– हाम्रो सरकार खोइ ? जनताको सरकार खोइ ? हामीले भोट दिएको सरकार खोइ ? हामीले न्याय पाउन खोजेको सरकार खोइ ? हामीले उपचार पाउन खोजेको सरकार खोइ ?

हामीले पढ्न पाउन बनाएको सरकार खोइ ? हामीले हाम्रो गरिबी हटाउन बनाएको सरकार खोइ ? हामीले दलाललाई कठघरामा जाक्न बनाएको सरकार खोइ ? हामीले भ्रष्टाचारीहरूलाई जेल हाल्न पठाएको सरकार खोइ ? हामीले निर्मला पन्तका हत्यारालाई दण्डित गर भनेर अनुरोध गरेको सरकार खोइ ?

हामीले महँगी घटाएर जनतालाई राहत दिने सरकार खोजेको हो । त्यो जनताको सरकार खोइ ?

यस्ता सयौँ समस्या लिएर गैरराजनीतिक अनुहारहरू सडकमा सुत्न बाध्य भएका छन् । सरकारलाई कुरीकुरी गर्न विवश छन् । नागरिकहरू आफ्ना समस्यामा सरकार देख्न चाहन्छन् । सरकारले आफ्ना वाचा पूरा गर्न थालेको विश्वास दिलाओस् भन्ने चाहन्छन् । आमनागरिकले भने आफूले खोजेको सरकार अझै फेला पारेका छैनन् ।

आखिर सरकार कहाँ छ ?

प्रकाशित मिति : १४ असार २०७७, आइतबार  ९ : ५६ बजे

धनगढीमाईमा बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु 

गोलबजार– सिरहाको धनगढीमाई नगरपालिकाले बालबालिकामा कुपोषणको अवस्थाबारे जाँच सुरु गरेको

कालिन्चोक दर्शनको आईपीओ बाँडफाँड

काठमाडौं– कालिञ्चोक दर्शनले सर्वसाधारणलाई बिक्री खुलाएको साधारण सेयर बिहीबार बाँडफाँड

म्याग्दीबाट बीस करोडको सुन्तला निकासी 

म्याग्दी– म्याग्दी जिल्लाबाट यस वर्ष रु २० करोड मूल्य बराबरको

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त

स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा