कोरोना संक्रमण यसरी जिते ७८ वर्षे मुटुरोगीले « Khabarhub

कोरोना संक्रमण यसरी जिते ७८ वर्षे मुटुरोगीले



रजहर (नवलपुर) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका ८ का ७८ वर्षीय हरिप्रसाद कँडेलले आफूलाई कोरोना लागेको कुनै शंका गरेनन् ।

छोरो भेट्न भनी ८३ दिनको भिजिट भिसामा ६७ वर्षकी श्रीमती पूर्णकलाको साथ अष्ट्रेलिया पुगेका कँडेल दम्पती कोरोना संक्रमण फैलिन थालेपछि भएको लकडाउनका कारण उतै रोकिए ।

विश्वभर संक्रमणको जोखिम बढेपछि हरिप्रसादका छोराले आमाबुबालाई स्वदेश फर्काउन चाहेनन् । छोराले नचाहे पनि फर्किनु उपयुक्त हुने ठानेर हरिप्रसादले नेपाल फर्किने योजना बनाए ।

गत असार १३ गतेको उडानबाट स्वदेश फर्किएका उनीहरू असार १४ गते नै गैँडाकोट आइपुगे । कोरोना संक्रमणको महामारीका कारण कँडेल दम्पतीले घरमै आएर होम क्वारेन्टाइनमा बसे ।

घर आएको १७ दिनमा पीसीआर परीक्षण गराउँदा दुई दिनपछि आएको रिपोर्टले कोरोना पोजेटिभ देखायो । वृद्ध दम्पती दुबैलाई कोरोना संक्रमण देखिएपछि जिल्लाको एकमात्र आइसोलेसन केन्द्र सामुदायिक प्राकृतिक चिकित्सालयको कोभिड–१९ अस्थायी अस्पतालमा पुर्‍याइयो ।

प्राकृतिक चिकित्सालयमा आएको ११ दिनमा वृद्ध दम्पतीको पीसीआर रिपोर्ट नेगेटिभ आयो ।

के थियो समस्या ?

७८ वर्षका हरिप्रसादलाई कोरोना संक्रमणको लक्षणको बारेमा राम्रो जानकारी छ । कारोना लागेको बिरामीलाई देखिने कुनै पनि लक्षण आफूलाई त्यस्तो कुनै लक्षण नदेखिएको उनले बताए ।

‘मलाई ज्वरो आउने, रुघा लाग्ने, पेट लाग्नेजस्ता कुनै पनि समस्या भएन,’ उनले भने, ‘घाँटीमा काँसो लागेजस्तो (कफ नआउने) चाहिँ भएको थियो ।’ हरिप्रसादलाई कोरोना संक्रमणकै कारण बाँचिन्न कि भन्ने कहिल्यै लागेन । ‘कोरोना लागेर बाँचिन्न कि भन्ने मलाई लागेन, अरू रोगले भित्र गालेको रैछ भने छुट्टै कुरा,’ उनले भने ।

हरिप्रसाद दमका बिरामी हुन् । मुटुसम्बन्धी रोग पनि छ । गत वर्ष मधुमेह पनि देखियो । आफूजस्तै दीर्घरोगीलाई कोरोना लाग्यो भने बाँचिदैन भन्ने पनि सुनेका हुन तर आफूलाई कुनै चिन्ता नै नलागेको उनको भनाइ छ ।

जो पनि निको हुने विश्वास

कँडेल दम्पतीको सबैभन्दा सबल पक्ष थियो बलियो आत्मबल । प्राकृतिक चिकित्सालयका चिकित्सकको सल्लाहमा उनले उपचारका सबै पद्धति अपनाए ।

‘महपानी खाने र तातो पानीको बाफ लिने काम गरियो, डाक्टरले जडिबुटीका औषधि पनि दिए, त्यसले नै सबैलाई ठीक गरेको हो,’ हरीप्रसादले भने ।

वाफ लिने, कसरत गर्ने, डाक्टरले भनेका औषधिहरू प्रयोग गर्ने काम नियमित गरेमा जसलाई पनि कोरोना निको हुने उनको विश्वास छ । बिरामीले सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अलिकति पनि विचलित नभई डाक्टरको परामर्शअनुसार उपचार गरेपछि कोरोनालाई जित्न सकिने रहेछ भन्ने हरिप्रसादलाई मात्र होइन, उनकी पत्नी पूर्णकलाको पनि विश्वास जागेको छ । अस्पतालबाट निको भएको प्रमाणपत्र लिएर निस्किँदै गर्दा वृद्ध दम्पतीले डाक्टरहरूको निकै प्रशंसा गरे ।

छोराले नजानु भन्दा भन्दै हिँडेका कँडेल दम्पतीले अष्ट्रेलियामा भएका छोरा बुहारीलाई आफूहरूलाई कोरोना लागेको पनि जानकारी दिएनन् । घर पुगेरै फोन गर्ने विचार गरेका छन् ।

चिकित्सक भन्छन् : तनाव व्यवस्थापन मुख्य औषधि

डा. विनोद पौडेलका अनुसार कोरोना संक्रमणको सबैभन्दा ठूलो औषधि तनाव व्यवस्थापन हो । डरले गर्दा पनि रोगसँग लड्ने क्षमता घट्छ । हरिप्रसादका बारेमा डा. पौडेलले भने, ‘बुबा (हरिप्रसाद) आध्यात्मिक किताबहरू पढ्नुहुन्थ्यो । त्यसबाट उहाँमा आफूले आफैँलाई सम्झाउन सक्ने क्षमता र आत्मबल बढायो ।’

उनका अनुसार कुल्ला गर्ने, बाफ लिने, स्वस्थकर खानेकुरा खाने जस्ता अनुशासनले पनि कँडेल दम्तीलाई निको हुन सहयोग गर्‍यो । स्वस्थकर खाना र निको हुन्छ भन्ने आत्मबल नै रोग निको हुन महत्वपूर्ण हुने डा. पौडेलको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५९ बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको