काठमाडौं- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलदेखि प्रधानसेनापति पूर्णचन्द थापासम्म होम आइसोलेसनमा बसेका छन् ।
सीसीएमसी स्रोतका अनुसार कोरोना संक्रमितको सम्पर्कमा पुगेको देखिएपछि उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा होम आइसोलेसनमा बसेका हुन् ।
सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा साढे दुई घन्टा छलफल भएको थियो ।
बैठकमा सहभागी एक कर्मचारीमा संक्रमण देखिएको हो । मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा भने आउन बाँकी छ ।
यसैबीच, सत्तारुढ दल नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा आइसोलेसनमा बसेसँगै नेकपाको शनिबार बस्ने भनिएको सचिवालय बैठक पनि स्थगित भएको छ ।
सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
प्रतिक्रिया