काठमाडौँ– अपराधशास्त्र भन्छ, ‘कुनै पनि फौजदारी अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट जोगाइन्छ भने त्यसले अपराधीलाई प्रोत्साहन दिलाउँछ र अर्को अपराधका लागि हौस्याउँछ अनि समाजमा दण्डहीनता बढाउँछ ।’
पछिल्लो दुईसातामा सप्तरी र बझाङमा भएका दुई वटा घटनामा उक्त शास्त्र प्रमाणित भयो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँमै सामूहिक बलात्कारको शिकार बनेकी एक किशोरीलाई न्याय दिनुको साटो समाजका अगुवाकै दबाबमा मिलापत्र गराएपछि पीडित किशोरीले आत्महत्याको बाटो रोजिन् ।
असोज ७ गते बुधबार साँझ बझाङको मष्टा गाउँपालिका २ मा घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कारपछि हत्या भयो ।
उक्त घटनाको आरोपमा १८ वर्षीय राजेन्द्र बोहोरा पक्राउ परे । प्रहरीले अनुसन्धानमा राजेन्द्रले यसअघि पनि १४ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलासा भयो ।
प्रहरीका अनुसार राजेन्द्रले गत साउन २९ गते गाउँकै किशोरीलाई बलात्कार गरेका थिए । राजेन्द्रको परिवारको घट्टमा पिठो पिस्न गएकी किशोरीलाई उनले बलात्कार गरेका थिए । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहका अनुसार त्यो घटना दुई परिवार बसेर गुपचुप मिलाएका रहेछन् ।
डेढ महिनामा राजेन्द्रका दुई अपराध
१. पीडित किशोरीले आफन्तसँग गरेको कुराकानीअनुसार गत साउन २९ गते बझाङको मष्टा गाउँपालिका–२, खिकालाकी १४ वर्षीया एक किशोरी गहुँ पिस्न पानी घट्टमा पुगिन् । त्यही वेला घट्टमा पुगेका स्थानीयवासी राजेन्द्रले दबाब र प्रभाव देखाएर उनलाई फकाउन थाले । किशोरीले प्रतिकार गरेपछि झम्टिएर कुटपिट गर्दै बलात्कार गरे । पीडित किशोरी साँझ घर फर्किन् ।
आफन्तका अनुसार घरपुग्दा उनी निकै आत्तिएकी थिइन् । उनको अनुहार र शरीरमा निलडाम थिए । परिवारमा सोधपुछ गर्दा बलात्कार भएको खुल्यो । पीडित पक्ष प्रहरीकोमा पुग्न नपाउँदै गाउँका मान्छेहरू भेला भएर मिलापत्र गराएर घटना गुपचुप पारे । बलात्कारजस्तो जघन्य अपराध सामान्य रूपमा मिलापत्रमा टुङ्गियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) रूपक खड्काका अनुसार अहिले ती किशोरीको मेडिकल जाँच गर्न लगाइएको छ । उनका अनुसार ती किशोरीका आफन्तले राजेन्द्रको नाममा जाहेरी दिएकाले उक्त घटनाको पनि अनुसन्धान अघि बढाइएको छ ।
२. यही असोज ७ गते बुधबार दिउँसो करिब १२ बजे बझाङको मष्टा गाउँपालिका–२ की सम्झना विकले परिवारसँगै बसेर खाना खाएकी थिइन् । खाना खाएपछि सम्झना घरभन्दा करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा बस्तुभाउलाई घाँसपानी गर्ने भन्दै हिँडिन् । डिएसपी खड्काका अनुसार उनी गोठ नपुग्दै बीच बाटोमै अपहरणमा परिन् ।
नजिकैको मन्दिरमा लगेर बलात्कारपछि सम्झनाको हत्या भयो । मन्दिरभित्र शव फेला परेको उनको शवमा धारिलो हतियारले टाउको र शरीरमा काटेका चोटहरू थिए । प्रहरीले सम्झनाले घरबाट लगेको डोकोनाम्लो र हँसिया सिमदेवताको मन्दिर नजिकै फेला परेको थियो ।
प्रहरीका अनुसार यो घटनामा संलग्न भएको आरोपमा पनि उनै राजेन्द्रको संलग्नता देखिएको छ, जसले १४ वर्षे किशोरीलाई बलात्कार गरेका थिए ।
नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन्, ‘एक महिनाअघि भएको घटनालाई पीडित परिवारले नै गुपचुप राखे । घटना प्रहरीसम्म पुगेको भए शायद राजेन्द्र यसअघि नै जेलभित्र हुन्थे र सम्झना यतिबेला जीवितै हुन्थिन् होला ।’ फौजदारी अभियोलाई मिलापत्रमा टुङ्ग्याउँदा थप घटना भएको उनको ठहर छ ।
कलिलैमा पटके अपराधी राजेन्द्र ?
बझाङको मस्टा गाउँपालिमै घर भएका राजेन्द्र बोहोरा उमेरले १८ वर्षका मात्रै भए । सात कक्षामा पढ्दै गर्दा उनले पढाइ छाडे । डिएसपी खड्काका अनुसार राजेन्द्र यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा मुछिएका व्यक्ति हुन् । राजेन्द्र र सम्झनाको घर जम्मा १० मिनेटको पैदल दूरीमा छ ।
राजेन्द्रले गाउँमा महिला र बालिकालाई तर्साउने गरेका थिए । उनीमाथि यसअघि स्थानीय अर्जुन बोहोराको घरभित्रै पसेर उनकी आफ्नी भाइबुहारीको तिलहरी लुटेको आरोप पनि छ ।
राजेन्द्रले सम्झनालाई गाईबस्तु पुर्याउन जाने बाटोमा कहिलेकाहीँ पछ्याउने गरेका थिए । बेलाबेलामा राजेन्द्रले सम्झनासँग कानमा लगाएको मुन्द्री माग्ने गरेको कुरा समेत आफन्तसँग प्रहरीले गरेको कुराकानीबाट खुलेको छ ।
अहिले घटनामा राजेन्द्रका साथ अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयमा प्रहरी केन्द्रित भएको छ । प्रहरीका अनुसार राजेन्द्रलाई स्थानीय बासिन्दाले खराब व्यक्ति मान्छन् । उनका साथमा अरू एकदुई जना पनि हुन्थे । उनीहरूले गाउँमा पटकपटक चोरी गरेका थिए ।
उनीहरूले गाउँमा चोर्न कुनै घर बाँकी नराखेको स्थानीयबासिन्दाले बताएको प्रहरीको भनाइ छ ।
विज्ञ भन्छन्– फौजदारी अपराधमा मिलापत्रले बढाउँछ दण्डहीनता
नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल भन्छन्, ‘पहिलो कुरा, फौजदारी अपराधमा मिलापत्र भन्ने नै हुँदैन । कुनै पनि फौजदारी अपराधमा मिलापत्र गर्न पनि हुँदैन । कसैले मिलापत्र गर्छ भने त्यो सरासर कानूनको बर्खिलाप हो । त्यस्तालाई कानूनी सजाय दिनु पर्छ ।’
पूर्वएआइजी ढकालका अनुसार यसको असर भनेको शक्ति हुने पैसा हुनेले जसलाई जे पनि गर्न सक्छ भन्ने मानसिकता बस्छ । कमजोर आर्थिक अवस्था वा तल्लो जात भनेर छुट्याइएका दबेर बसेकाहरूलाई तिमीहरू उठ्नु हुँदैन भन्ने मानसिकता बस्छ र अपराध गर्नेले छुट पाइन्छ भन्ने सोच बनाउँछ । यसले समाज अपराधरहित र मानव अधिकारविहीन हुन्छ । जहाँ प्रोटेक्सनको भावना हुँदैन ।
यता पूर्वडीआइजी हेमन्त मल्ल पनि फौजदारी अपराधमा मिलापत्र गर्नु अर्को अपराध ठान्छन् । उनी भन्छन्, ‘कुनै पनि फौजदारी अपराध मिलापत्र हुनै हुँदैन । यस्ता अपराधमा मिलापत्र हुँदा अपराधीले प्रोत्साहन पाउँछन् र समाजमा फौजदारी अपराधमा दण्डहीनता बढ्छ । बझाङमा देखिएको घटना पनि त्यसैको उदाहरण हो ।’
यस्ता घटना नियन्त्रण गर्न कुनै पनि फौजदारी अपराधमा मिलापत्र गर्न नहुने र दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने मल्ल बताउँछन् ।
प्रतिक्रिया